Comments Add Comment

मतदान सकियो तर उम्मेदवारको बेचैनी सकिएन

मतपेटिकाभित्र कैद भविष्य पर्खंदै उम्मेदवार


१२ मंसिर, पोखरा । मतदाता फकाउन र मत आफ्नो पक्षमा पार्न मुस्ताङका प्रतिनिधि सभाका एमाले उम्मेदवार प्रेमबहादुर तुलाचनलाई आइतबारसम्म दौडधुप थियो । आज उनलाई त्यो धौडधुप त छैन तर चैनको निन्द्रा पनि छैन ।

मतदान त सकियो तर नतिजा मतपेटिकामै छ । उनले नतिजा थाहा पाउन लामो प्रतीक्षा गर्नुपर्ने भएको छ । ‘मतदान त सन्तोषजनक रुपमा सकियो, जितिन्छ भन्ने विश्वास हो तर विजय उत्सव मनाउन लामो समय कुर्नुपर्ने भयो ।’

पहिलो चरणमा निर्वाचन भएका सबै जिल्लाका उम्मेदवारको व्यथा, तुलाचनको जस्तै छ । मतपरिणाम सार्वजनिक हुन अझै केही दिन लाग्ने भएकाले सबैजसो उम्मेदवार बेचैन छन् ।

‘अनुमानमात्र लगाउन सक्ने भयौं । अबिर लगाउन त दोस्रो चरणको निर्वाचन सकिनै पर्ने भयो,’ बागलुङमा वाम गठबन्धनबाट क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार देवेन्द्र पौडेलले भने ।

यतिबेला धेरै उम्मेदवार जित्ने आशामा बसेका छन् । प्रदेश नम्बर ४ का पहिलो चरणमा निर्वाचन भएका ५ जिल्लाबाट प्रत्यक्षमा ८ जना प्रतिनिधिसभा र १६ जना प्रदेश सभाका उम्मेदवारलाई मतदाताले विजयी गराउने छन् । उम्मेदवारलाई जिताउन लागी परेका कार्यकर्ता तत्कालै मतगणना नहुने भएकाले उत्साही छैनन् ।

‘यही हुन्छ भन्नै नसकिने भो । चुनाव सकिएलगत्तै मतगणनामा जुन खालको उत्सह हुन्थ्यो, त्यो नरहने भयो,’ गोरखा क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार चिनकाजी श्रेष्ठलाई जिताउन गोरखा पुगेका सचिन लामिछाने भन्छन्, ‘चुनाव सकिएलगत्तै मतगणना भएको भए उत्साह हुन्थ्यो, उतै बसिन्थ्यो । अहिले नै गणना नहुने भएपछि पोखरा फर्किएँ ।’

प्रदेश तथा प्रतिनिधि सभाको सांसद् बन्ने उम्मेदवारको भविष्य केही समय मतपेटिकाभित्र थुनिने भएको छ ।

म्याग्दी, मुस्ताङ, लमजुङ, र मनाङमा प्रतिनिधिसभाको लागि १/१ जना उम्मेदवार निर्वाचित हुनेछन् भने प्रदेशसभामा २/२उम्मेदवारले विजयको टीका लगाउन पाउने छन् । बाग्लुङ र गोरखामा प्रतिनिधिसभाका लागि २/२ र प्रदेशसभाको लागि ४/४ जना उम्मेदवारले सांसदको यात्रा तय गर्ने छन् ।

निर्वाचन सम्पन्न भएका सबै जिल्लामा सोमबारसम्म मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको छ । हिमाली जिल्ला मनाङ, मुस्ताङ र गोरखाका केही मतदान केन्द्रबाट हेलिकप्टरमार्फत मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको छ भने अन्य ठाउँमा कडा सुरक्षाबीच गाडीमार्फत मतपेटिका पुर्‍याइएको छ ।

५ लाख ६३ हजार २४ मतदाता रहेका ६ जिल्लाबाट ३ लाख ७७ हजार २ सय ४० जनाले मतदान गरेर लोकतान्त्रिक अभ्यास गरे ।

बेसी झर्दै हिमाली जिल्लाका मतदाता

यो समय हेमालीपारिका जिल्ला मनाङ, मुस्ताङवासीका लागि घर छोड्नुपर्ने समय हो । हिउँ र चिसाले बसिसक्नु हुँदैन, उनीहरुलाई । उनीहरु आसपासतिरै बेसी झरिसक्थे । यसपालि केही झरे पनि धेरैजसो चिसो सहेरै उतै बसे । कारण थियो– प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचन । पहिलो चरणको चुनावमा मत हालेका मतदाता अब भने बेसी झर्न थालेका छन् ।

‘चुनावका लागि भनेर गाउँतिरै बसियो । गाउँमा त चिसोले बसिनसक्नु छ,’ मुस्ताङ थिनीका अशोक शेरचनले भने, ‘भोट हालेर पोखरा झरें ।’

अशोकजस्तै मुस्ताङ र मनाङका मतदाता धमाधम बेसी झर्न थालेका छन् । मनाङ, मुस्ताङवासीको बेसी धेरैको पोखरा हो भने केही चितवन, म्याम्दी, पर्वत, तनहुँ पनि झर्ने गरेको छन् । केहीको पोखरा लगायतका शहरमै घर छन् भने केही यो जाडो मौसमका व्यापारका लागि बेसी झर्छन् ।

बेसी झरिसकेका मतदातालाई गाउँ जाने–आउने व्यवस्था उम्मेदवारले नै गरेका थिए । ‘चुनाव त सकियो तर मतदातालाई फर्काउने व्यवस्था मिलाउन अझै एक दिन मुस्ताङ नै बस्नुपर्ने भयो,’ प्रमबहादुर भन्छन्, ‘भोट हाल्न पोखरा, चितवन, बागलुङ, म्याग्दीलगायतका जिल्लाबाट गाडीकै व्यवस्था गरेर आउने–जाने सर्तसहित लगिएको थियो ।’

हिमाली जिल्लाका सबैजसो उम्मेदवारले गाडी र जहाजसमेतको प्रयोग गरी आफ्ना मतदातालाई भोट हाल्न लगेका थिए ।

चुनाव सकिएलगत्तै जिल्ला छाडे उम्मेदवारले

तत्काल मतगणना नहुने भएपछि आइतबारसम्म भोट माग्ने जनताको घरदैलोमा रहेका उम्मेदवारमध्ये अधिकांशले जिल्ला छाडेका छन् । हिमाली जिल्लाका कतिपय उम्मेदवार त बेसी झरिसकेका छन् भने अन्य सुगम जिल्लाकै उम्मेदवार पनि काठमाडौं फर्किएका छन् ।

‘एक महिने गाउँले प्रवासपछि धुवाँधुलो खान काठमाडौं फिरियो । अब दोस्रो चरणको निर्वाचनका निम्ति शहर र तराई–मधेश चाहार्नु छ, नयाँ शक्तिलाई वैकल्पिक वाम लोकतान्त्रिक शक्तिको रूपमा राष्ट्रिय पार्टी बनाउन सबैको सहयोग अपेक्षित छ है,’ गोरखा क्षेत्र नम्बर २ मा चुनाव लडेका डा. बाबुराम भट्टराईले ट्वीरमा लेखेका छन् ।

बाबुराम चुनावको भोलिपल्टै काठमाडौं पुगिसकेका छन् भने उनका प्रतिस्पर्धी माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि काठमाडौं गइसकेका छन् ।

तत्काल मतगणना नहुने मुस्ताङका कांग्रेस उम्मेदवार रोमी गौचन पनि काठमाडौं फर्कने तयारीमा छन् ।

कोरलादेखि जोमसोममा मतपेटिका

चीनको तिब्बतसँग सीमा जोडिएको बहुचर्चित कोरलानाका आसपासका गाउँबाट मतका बाकस २४ घण्टापछि सोमबार साँझ मुस्ताङको जिल्ला सदरमुकाम जोमसोम आइपुगेको छ ।

उपल्लो मुस्ताङ प्रदेश ‘क’लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ, छोसेर र छोनुपको ७ मतदान केन्द्रमा खसेको २१ मतपेटिका सुरक्षाकर्मी र राजनीतिक दलको रोहबरमा ट्रकमार्फत ढुवानी गर्दै जोमसोम ल्याइएको हो । यसअघि भौगोलिक विकटता, जोखिमपूर्ण सडक र लामो दूरीका कारण संकलित मतपेटिका इलाका प्रहरी कार्यालय लोमान्थाङमा राखिएको थियो ।

दालोमे गाउँपालिकाको घमी, चराङ, मराङ, समरलगायत ९ मतदान केन्द्रको २७ मतपेटिका आइतबारको मध्यरातमा जोमसोम ल्याइएको थियो । त्यस्तै तल्लो मुस्ताङका २१ केन्द्रका ६३ मतपेटिका पनि आइबार साँझै पुगिसकेको छ ।

पहिलो चरणमा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत मुस्ताङको ३७ केन्द्रमा भएको मतदानको सम्पूर्ण मतपेटिका सदरमुकाम जोमसोम आइपुगेको छ । प्रतिनिधि,प्रदेशसभा र समानुपातिकतर्फका १ सय ११ मत मतपेटिका जिल्ला समन्वय समितिको कार्यालयमा जम्मा भएको हो ।

जिससमा जम्मा भएका मतपेटिका कडा सुरक्षा निगरानीमा राखिने मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले बताए । उनले जोमसोममा ल्याइएका १ सय ११ मतपेटिको रुजु गर्ने कार्य सकिएको र राजनीतिक दलले अलगअलग ताला लगाउने व्यवस्था गरिएको जानकारी दिए । जिल्ला सुरक्षा समितिको निर्देशन अनुसार मतपेटिका राखिएको कार्यालयलाई बाहिरी घेरामा नेपाली सेना, त्यसपछि सशस्त्र प्रहरी, प्रवेशद्वारमा म्यादी र भित्री परिसरमा नेपाल प्रहरीले कडा निगरानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment