Comments Add Comment

किसानलाई धान भित्र्याउने चटारो, उम्मेदवारलाई भोट माग्ने हतारो

पर्सा क्षेत्र नं ३ को उत्तरी क्षेत्रका मतदाता भन्छन्-विकास गर्नेलाई भोट

१३ मंसिर, वीरगञ्ज । तराईका किसानलाई यतिवेला धान भित्र्याउने चटारो छ । किसानहरु धान भित्र्याउन खेतमा व्यस्त छन् । कोही धान काट्दैछन्, कोही चुट्दैछन् । कोही पराल थन्क्याउँदै ।

तराईमका किसानलाई चुनावको होइन वर्षभरी खाने अन्नको चिन्ता छ । तर, दलहरुलाई भने मंसिर २१ गते हुने दोस्रो चरणको चुनावको चिन्ता छ । किसानलाई धान भित्र्याउन चटारो भए जस्तै उम्मेदवारहरुलाई भोट माग्ने हतारो छ ।

दल र उम्मेदवारहरु चुनावी सभा, पार्टी प्रवेश कार्यक्रमहरुमा व्यस्त छन् । समय छोटो छ । उनीहरुलाई मतदाताको घरदैलोमा पुग्नै हतारो छ ।
ग्रामीण क्षेत्रका चोकहरुमा दलका झण्डाहरुले सजिएका छन् । गाउँघरमा मानिसहरुको चहलपहल पनि बढेको छ । तर, किसानहरुको चहलपहल त खेतमै छ ।

किसानका मागः मल,बीऊ र सडक

केही किसानहरुले भने धान भित्र्याउने कामसँगै समय निकालेर चुनाव प्रचारलाई समेत नियालिरहेका छन् । भोट माग्न आएका नेताहरुलाई उनीहरुको माग पनि कृषिसँग सम्बन्धित नै हुन्छन् ।

पर्सा क्षेत्र नं ३ अन्र्तगत पर्ने सखुवाप्रसौनी गाउँपालिका-१ रेञ्ज औराहा चोकमा भेटिएका ५४ वर्षीय हरिनारायण चौधरीले कृषि कर्मसँगै चुनावी अभियानमा पनि सक्रियता भइरहेको बताए । ”वर्षभरी खानुपर्ने अन्नबाली पनि भित्र्याउनै पर्‍यो । चुनाव आउँदैछ, नेताहरुको कुरा पनि सुन्नैपर्‍यो । उनले भने ‘बाली भित्र्याउने कामसँगै चुनावी गतिविधिलाई पनि नियाली रहेका छौं ।”

उनले किसानका लागि बीऊ, मलखाद्य र दवाई (औषधि)को सहज उपलब्ध हुनुपर्ने माग उम्मेदवाहरुसँग आफूले राख्ने गरेको बताए । ”अहिले गहुँ छर्ने बेला हुन लागेको छ, बिउ, मल, दवाई सजिलै उपलब्ध होस भन्ने हाम्रो माग हो ।’ उनले भने ‘सँगसँगै सडकहरु कालोपत्रे भए कृषि उपजहरुलाई बजारसम्म पुर्‍याउन सहज हुने थियो भन्ने हाम्रो धारणा छ ।”

उम्मेदवाहरुले पनि घरदैलोको क्रममा आफूले जितेर गएको खण्डमा सबै समस्याको समाधान गरिदिने आश्वासन दिने गरेको उनले सुनाए । ”मलाई भोट दिएर जिताउनुस् तपाईहरु जे भन्नुहुन्छ त्यही गर्छु भन्छन् ।’ चौधरीले शंका व्यक्त गर्दै भने ‘अहिले त सबै उम्मेदवार आशालाग्दा छन् चुनाव जितेर गएपछि के गर्ने हुन कुन्नी ?”

पर्सा क्षेत्र नं ३ को प्रतिनिधिसभामा कांग्रेसका उम्मेदवार निवर्तमान सांसद सुरेन्द्र चौधरी, वाम गठबन्धनका उम्मेदवार एमालेका निवर्तमान सांसद राजकुमार गुप्ता, फोरम राजपा गठबन्धनका हरिनारायण रौनियार र नेपाल संघीय समाजवादी पार्टीका राजकुमार यादवबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

मतदातालाई विकासकै चिन्ता

सखुवा प्रसौनी गाउँपालिकाकै ५६ वर्षीय रामजनम पटवारीले विकास प्रेमी नेतालाई चुन्ने बताए । ”उम्मेदवारहरु घरदैलोमा आइरहेका छन्, विकास गर्छु भनेर आश्वासन दिएका छन्, रोड बनाउँछु, स्वास्थ्य संस्थाको स्तरोन्नती गर्छु, राम्रो डाक्टरको व्यवस्था मिलाउँछ, शिक्षाका लागि प्रावि छ भने मावि, मावि छ भने उच्च मावि बनाउँछु भनेका छन् ।’ उनले भने ‘जितेर गएपछि के गर्ने हुन थाहा छैन ।”

पटवारीले शिक्षा, स्वास्थ्य, सडक, पुल निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने उम्मेदवारलाई नै भोट दिने बताए ।

सखुवा प्रसौनी गाउँपालिकाको बासिन्दा चुनाव जितेर गएपछि नेताले भाथादेखि सौराहा जोड्ने सडक, निर्माण गरिदिउन, रजैया सडक कालोपत्रे गरिदिए हुन्थ्यो सँगसँगै कोइलाभार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिदिए आफूहरुको आर्थिक अवस्थामा सुधार आउने र यस क्षेत्रको विकास पनि हुने बताउँछन् ।

पर्सा जिल्लाको उत्तरी क्षेत्रका बासिन्दा जनता सडक कोलोपत्रे भइदिए यस क्षेत्रको मुहार फेरिन्थ्यो भन्ने ठान्छन् ।

ठेक्का लागेको वर्षौ वितिसकेको भएपनि काम पूरा नभएको उनीहरुको गुनासो छ । स्थानीय उत्तमकुमार महतोले ठेकेदारको लापरबाहीले जनता सडक पनि स्तरीय नभएको बताए । ”एकातिर बनाउँछन्, अर्कोतिर भत्किएको छ । ठेकेदार नै नेता बनेर हिड्छन् ।’ महतोले भने ‘ चुनावको समयमा आश्वासन दिने तर जितेपछि काम नगर्ने नेताहरुको बानी छ, पहिले जितेर गएकाले पनि वाचा पूरा गरेर गएनन् ।”

आचारसंहिता विपरीत गतिविधि तीव्र

गाउँघरमा आचारसंहिता विपरीत लाउडस्पिकर मार्फत प्रचार गर्दै उम्मेदवार र उनीहरुका कार्यकर्ताहरुको गाडी हुँईन्छिन् ।

नेपाल राष्ट्रिय आधारभूत विद्यालय सिद्धपुर पर्साका प्रधानाध्यापक प्रदिप कुमार चौधरीले दिउँसो पटक पटक ठूलोठूलो आवाजमा चुनावी नारा घन्काउँदै आउने सवारीसाधनले विद्यालयको पठनपाठनमा समेत असर पर्ने गरेको बताए ।

”छिन छिनमा विभिन्न दलका नारा घन्काउँदै सवारीसाधानहरु विद्यालय छेउकै बाटो भएर जान्छन्, आवाज आउँदासम्म पठनपाठन नै रोक्नुपर्ने हुन्छ ।’ उनले भने ‘गाउँघरमा चुनावी रौनक राम्रैसँग लागेको छ । चोकमा दुईचार जना भेला हुने वित्तिकै चुनावकै कुरा हुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment