Comments Add Comment

पहिले जसले हरायो, अहिले उसैलाई जिताउने जिम्मा !

सिरहामा सुध्रियो माओवादी-लीलानाथ सम्बन्ध

१५ मंसिर, लहान । दोस्रो संविधानसभामा माओवादी अध्यक्ष प्रचण्डका प्रतिस्पर्धी थिए लीलानाथ श्रेष्ठ । सिरहाको तत्कालीन क्षेत्र नम्बर ५ मा प्रचण्डसँग ९ सय मतान्तरले पराजित भएपछि धाँधली गर्दै हराइएको भन्दै श्रेष्ठ अदालतसम्म पुगे ।

तर, अहिले अवस्था फेरिएको छ । देशभर चुनावी तालेमल गरेका एमाले र माओवादी केन्द्रबाट सिराहा ३ मा साझा उम्मेदवार बनेका छन् एमाले नेता श्रेष्ठ ।

उनीसँगै कांग्रेसका अमर रेग्मी र मधेसी गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरमका अशेश्वर यादवसहित १३ उम्मेदवार चुनावी मैदानमा छन् ।

तर, मुख्य प्रतिस्पर्धा श्रेष्ठ र यादवबीच हुने देखिन्छ ।

स्थानीय चुनावको मतका आधारमा जिल्लामा माओवादी पहिलो दल छ, तर यो क्षेत्रमा एमाले नै बलियो छ । मेयर/अध्यक्षमा पाएको मतका आधारमा कांग्रेसको १४ हजार, फोरमको १८ हजार मत छ भने एमालेको २० हजार मत छ ।

माओवादीको मत १२ हजार छ र लीलानाथका लागि यो मत निर्णायक  हुने देखिएको छ ।

एमाले उम्मेदवार श्रेष्ठ पनि आफूलाई जिताउन माओवादीको भूमिका निर्णायक हुने मान्छन् । ‘महिलाहरुले जति निफनेपनि चामलमा एकदुई वटा वियाँ त भइहाल्छ’ उनले भने, ‘तर, अहिलेसम्म माओवादी साथीहरुको सपोर्ट ठीकै छ ।’

माओवादी नेता विश्वनाथ साह पनि श्रेष्ठलाई माओवादीको पूर्ण सहयोग रहेको बताउँछन् । ‘पुरानो कुरा पुरानो भइसक्यो, हामी गठबन्धनलाई जिताउन लागेका छौं’ उनले भने ।

०५४ सालमा जिविस उपसभापति बनेका श्रेष्ठ आफ्नै घर आँगनमा बसेर राजनीति गरेकाले मधेसी समुदायको बलियो बिश्वास आफूमाथि रहेको बताउँछन् ।

दक्षिणी क्षेत्रका धेरै नेताहरुले यो क्षेत्रबाट जिते । मन्त्री पनि भए तर, गाउँ घरमा अहिले पनि बाटो छैन । गाउँ जाँदा गाडीबाट आर्लेर जानुपर्छ । विद्यालयमा ढोका छैन’ श्रेष्ठ भन्छन्, ‘यो क्षेत्रको विकास नहुनुको कारण जितेर जानेसँग योजना छैन, विकास गर्ने योजना मसँग मात्रै छ ।’

आफू आन्दोलनबाट आएकाले आफूले मत पाउनेमा ढुक्क छन् फोरमका उम्मेदवार अशेश्वर यादव । भन्छन्, ‘हामी अझै पनि आन्दोलनमै छौं, यो चुनावलाई पनि आन्दोलनकै रुपमा लिएका छौं । त्यसैले मधेसी जनताले मत हाल्ने निश्चित छ ।’

कांग्रेस उम्मेदवार रेग्मी आफू कांग्रेसको इमानदार कार्यकर्ता भएकाले मत दिने बताउँछन् ।

विसं २०१५ सालको आम चुनावमा उनका बुबा माधवप्रसाद रेग्मी सांसद चुनिएका थिए । रेग्मीका बुवा आमाले सिराहा कांग्रेसको नेतृत्वमा बसेका काम गरे ।

कांग्रेसले मैदान छाडे लीलानाथलाई सकस

यो चुनावमा कांग्रेसले फोरम-राजपासँग चुनावी तालमेलको प्रयास गरे पनि सफल भएन । अझै पनि निश्चित सिटहरुमा सहकार्यको प्रयास भइरहेको नेताहरु बताउँछन् ।

सिराहा ३ मा पनि कांग्रेसको समर्थन लिन फोरम नेताहरुले प्रयास गरिरहेका छन् । तर, अहिलेसम्म कांग्रेस मैदान छाड्न तयार छैन । तर, उसले फोरम उम्मेदवारलाई समर्थन गरेको अवस्थामा भने वाम गठबन्धनलाई सकस पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment