Comments Add Comment

गुल्मीको चुनावः साख जोगाउने र भत्काउने प्रतिस्पर्धा

 १८ मंसिर, तम्घास । गुल्मीको निर्वाचनमा नेपाली कांग्रेस र वाम गठबन्धनबीचको प्रतिस्पर्धालाई जिल्लादेखि केन्द्रसम्म चासोका साथ हेरिएको छ । पुरानो किल्ला जोगाउने र भत्काएर नयाँ निर्माण गर्ने नेताहरुबीचको खेल निकै रोचक बन्दै गएको छ ।

०७० को दोस्रो संविधानसभा निर्वाचनमा तीन वटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा अहिले दुई वटा मात्र क्षेत्र रहेका छन् भने चार वटा प्रदेश निर्वाचन क्षेत्र छन् ।

दोस्रो संविधान सभा निर्वाचनमा दुई क्षेत्रमा नेपाली कांग्रेस र एउटा क्षेत्रमा एमाले विजयी भएको थियो । त्यसबेला क्षेत्र नम्बर १ बाट कांग्रेसका कृष्ण छन्त्याल र क्षेत्र नम्बर २ बाट कांग्रेसकै चन्द्र भण्डारी विजयी भएका थिए । क्षेत्र नम्बर ३ बाट एमालेका गोकर्ण विष्टले जितेका थिए ।

अहिले निर्वाचन क्षेत्र गाभिएपछि नयाँ मतदाता पनि थपिएका छन् । स्थानीय तहको मतलाई हेर्ने हो भने गुल्मी जिल्लाको दुई वटा निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उमेदवारहरु २६ हजार भन्दा बढी मतले अगाडि रहेको दावी गरिएको छ ।

क्षेत्र नम्बर १ः चन्द्र भण्डारी र प्रदीप ज्ञवाली

प्रतिनिधिसभाको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर १ मा चासो बढी छ । यहाँ कांग्रेसका चन्द्र भण्डारी र वाम गठबन्धनबाट एमाले सचिव प्रदीप ज्ञवाली उम्मेदवार छन् ।

भण्डारी र ज्ञवालीबीचको यो प्रतिस्पर्धा नयाँ भने होइन । गएको दास्रो संविधान सभा निर्वाचनमा ज्ञवाली भण्डारीसँगै पराजित भएका थिए । अहिले ज्ञवाली कांग्रेसको किल्ला भत्काउने प्रयासमा छन् । भण्डारीलाई आफ्नो साख जोगाउनुपर्ने चुनौती छ । किनकी अहिलेको चुनावमा एमाले र माओवादी मिलेर चुनाव लडेका छन् । उनीहरुलाई नेकपा माले र जनमोर्चाले पनि साथ दिएका छन् ।

स्थानीय तहको चुनावको मतलाई हेर्ने हो भने कांग्रेसभन्दा वाम गठबन्धन १२ हजार बढी मतले अगाडि देखिन्छ ।

स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्वर १ का चार वटा गाउँपालिकामा कांग्रेसले माओवादी केन्द्रसँग तालमेल गरेर प्रमुख पद र केही वडा जितेको थियो । एमाले एक्लैले उपप्रमुख र अधिकांस वडा जितेको थियो ।

क्षेत्र नम्बर २ः गोकर्ण बिष्ट र चन्द्र केसी

गुल्मी क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धामा एमाले सचिव गोकर्ण विष्ट र कांग्रेसका चन्द्रबहादुर केसी छन् । पूर्व ऊर्जामन्त्री समेत रहेका विष्टलाई पुरानो साख जोगाउनु छ । केसीलाई भने ०५१ सालदेखिको एमालेको किल्ला भत्काएर नयाँ अध्याय प्रारम्भ गर्नुपर्ने छ ।

गएको दोस्रो संविधान सभा निर्वाचनमा समेत अत्यधिक मतले बिजयी बिष्ट अहिले त्यो मतान्तर २० हजार पुर्‍याउने दाबी गर्छन् । कांग्रेस उम्मेदवार केसी आफू पनि पुरानो नेता भएकाले विष्टले सहजै चुनाव जित्ने नसक्ने दाबी गर्छन् । केसी नेपाली कांग्रेस र जिल्ला विकास समितिका पूर्व सभापति समेत हुन् ।

यो निर्वाचन क्षेत्रमा मालिका, मदाने, धुर्कोट र इस्मा गाउँपालिकाका साथै मुसीकोट नगरपालिका र रेसुंगा नगरपालिकाका १ देखि ६ सम्मका वडा पर्दछन् । गएको स्थानीय निर्वाचनमा क्षेत्र नम्बर २ मा पर्ने रेसुंगा नगरपालिकाका ६ वडामध्ये कांग्रेसले चार र एमालेले दुई वटा वडामा जितेका थिए ।

अन्य पाँच वटा तहमध्ये एमालेले चार र माओवादीले एकमा जित हासिल गरेका थिए । जसका कारण समग्रमा आफूहरु बलियो रहेको एमाले नेताहरु दावी गर्दछन् । रेसुंगा नगरपालिकाका ६ वटा वडाका वडाध्यक्ष, गाउँपालिकाका अध्यक्ष र नगरपालिका प्रमुखहरुले पाएको मत २७ हजार चार सयभन्दा बढी छ । त्यस्तै, माओवादीले आठ हजार नौ सयभन्दा बढी मत पाएको थियो ।

त्यस्तै कांग्रेसले १८ हजार चार सयभन्दा बढी मत पाएको थियो । यो क्षेत्रमा वामपन्थी गठबन्धनको कुल मत ३६ हजार चार सयभन्दा बढी छ । जुन कांग्रेसका उम्मेदवारहरुले पाएको मतभन्दा झन्डै दोब्बर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment