Comments Add Comment

चुनावमा सुरक्षा चुनौती देखिएको छैन: प्रहरी

२१ मंसिर, काठमाडौं ।  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भइरहेका ४५ जिल्लामा शान्तिपूर्णरुपमा मतदान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले देशभर शान्तिपूर्णरुपमा मतदान भइरहेको र हालसम्म कुनै पनि सुरक्षा चुनौती नदेखिएको जानकारी दिए । उनले भने, ‘प्रहरीले मजबुतरुपमा शान्ति सुरक्षा मिलाएको छ । मतदानका लागि मतदाता ढुक्क भएर लाइनमा बस्नुभएको छ । कहीँकतै समस्या आए तत्काल प्रहरी पुग्छ । कुनै समस्या छैन ।’

कहीँकतै समस्या परे तत्काल शान्ति सुरक्षाको प्रबन्ध मिलाउने गरी हेलिकप्टर तम्तयार हालतमा राखिएको छ । निर्वाचन हुन लागेका जिल्लालाई हेर्ने गरी नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरसमेत तम्तयार राखिएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

निर्वाचनका लागि दुई लाख सुरक्षाकर्मी परिचालित छन् । कहीँकतै समस्या आए र देखिए तत्काल सुरक्षा निकायमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ । प्रहरीले शान्ति सुरक्षामा समस्या आए पाँच मिनेटमा नै सम्बन्धित क्षेत्रमा पुग्ने गरी विभिन्न स्थानमा सुरक्षाकर्मी व्यवस्थित तवरले परिचालन गरिएको जनाएको छ ।

शान्ति सुरक्षामा कुनै सम्झौता नगरिएको जानकारी दिँदै प्रहरी प्रवक्ता न्यौपानेले कुनै शंकास्पद बस्तु देखिए वा अवाञ्छित गतिविधिको सूचना प्राप्त भए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरे ।

मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना परिचालित भएका छन् । प्रहरीले बम भनी हल्ला गरिएका शंकास्पद वस्तु अधिकांश बम नभएको जनाएको छ ।

काठमाडौँको नैकापमा आज बिहान फेला परेको शंकास्पद बस्तु पनि पटका मात्रै रहेको उनले जानकारी दिए ।

निर्वाचनमा सुरक्षा निकायको हवाई र पैदल गस्ती हुने गृहसचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए ।

यस्तै, निर्वाचन हुने जिल्लामा सुरक्षा सहयोगका लागि हेलिकप्टरसहित सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको गृह मन्त्रालयले जनाएको छ ।

कुनै घटना भइहाले १० देखि ३० मिनेटभित्र जुनसुकै स्थानमा सुरक्षाकर्मी पुग्न सक्ने गरी आवश्यक व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । दोस्रो चरणमा ४५ जिल्लामा एक करोड २२ लाख ३५ हजार ५७८ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment