Comments Add Comment

मोरङ १ मा घनश्यामलाई न्याय, डिगबहादुरलाई सजायँ !

२३ मंसिर, बिराटनगर । नेकपा एमालेका शालीन एवं सादगी नेता घनश्याम खतिवडाले मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा जित हात पारेका छन् । उत्तरी मोरङको लेटाङमा स्थायी घर भएका खतिवडा सादगी, वौद्धिक एवं मिलनसार नेताका रुपमा परिचित छन् ।

विद्यार्थीकालदेखि नै एमालेमा लागेर त्याग गरेका उनले पार्टीबाट खासै न्याय पाउन सकेका थिएनन् । यसपालि पार्टीले उनलाई टिकट दियो, मतदाताले न्याय दिए ।

धरानबाट आइए र बिराटनगरबाट बीए अध्ययन गरेका ०५६ वर्षीय खतिवडाले उत्तरी मोरङमा पञ्चायत विरोधी आन्दोलनका बेला खुट्टामा धेरैचोटि ठेस लगाएका थिए । अहिले तिनै गाउँहरुमा डुलेर उनले मतदाताको विश्वास बटुलेका छन् ।

पञ्चायत अन्त्य भएपछि ०४९ मा सम्पन्न स्थानीय चुनावमा खतिवडा एमालेका तर्फबाट लेटाङ गाविसको अध्यक्षमा निर्वाचित भए । ५ वर्ष गाविस अध्यक्ष भएर काम गर्दा उनी जनतामा भिज्न सफल भए ।

जनयुद्ध सुरु गरिसकेपछि खतिवडालाई माओवादीले आफ्नो पार्टीमा पार्टी प्रवेश गराउन निकै प्रयास गरे । कम्युनिष्टहरुलाई माया गर्नुपर्छ भन्ने सोचाइका कारण त्यसबेला खतिवडालाई माओवादीप्रति नरम नीति लिने एमाले नेताका रुपमा चिनिन्थ्यो । अन्यत्रका एमाले नेताहरुले ‘न सुराकी, न खुराकी’ को नीति लिइरहँदा खतिवडाले माओवादीलाई सेल्टर र सुरक्षा दिने गरेका थिए । तर, उनी माओवादीमा भने प्रवेश गरेनन् ।

भूमिगतकालमा माओवादीलाई माया गरेका खतिवडाले पहिलो संविधानसभा चुनावमा टिकट पाएनन् । त्यसबेला साविकको मोरङ ९ मा एमालेले भुवनसिंह राईलाई टिकट दियो । र, उनी तेस्रो भए ।

पहिलो संविधानसभा चुनावमा यसक्षेत्रमा माओवादीबाट नगेन्द्र धिमालले चुनाव जिते भने कांग्रेसका डिगबहादुर लिम्बु दोस्रो र एमालेका राई तेस्रो भए ।

दोस्रो संविधानसभामा एमालेबाट घनश्याम खतिवडाले टिकट त पाए, तर माओवादी नेता वर्षमान पुन त्यहाँ चुनाव लड्न गएपछि एमाले आत्तियो, जसको फाइदा कांग्रेसका डिगबहादुर लिम्बुले उठाए ।

दोस्रो संविधानसभामा घनश्यामले आफ्नो मुख्य प्रतिस्पर्धी वर्षमानलाई ठानेका थिए । तर, वर्षमान तेस्रो भए भने डिगबहादुरले एमाले-माओवादीको टक्करको वीचबाट फुत्त जित निकाले ।

सामान्य आर्थिक अवस्थाका खतिवडा ०७० सालमा चुनाव लड्दा ऋण लागेको सम्झन्छन् । र, तडक-भडक नगर्ने र पैसा नहुने नेताले चुनाव नजित्ने उनले निश्कर्ष निकालेका थिए त्यसबेला ।

तर, परिस्थितिले उनलाई अजिंगरको आहारजसरी यसपालि फेरि प्रतिनिधिसभाको टिकट दिलायो । तर, प्रतिस्पर्धीमा कांग्रेसका उनै पूर्वप्रतिस्पर्धी एवं पूर्वसांसद डिगबहादुर लिम्बु थिए । माओवादीको मत खासै धेरै थिएन ।

तर, भूमिगतकालमा माओवादीलाई साथ दिएको फाइदा यसपालि खतिवडाले राम्रैसँग उठाए । माओवादीसँग तालमेल भएरमात्रै होइन, पहिल्यैदेखि राम्रो सम्बन्ध भएकाले उनलाई माओवादीले साथ दियो । र, सोचेको भन्दा बढी मतान्तरले उनले आफ्नै गाउँले साथी डिगबहादुर लिम्बुलाई चुनाव हराए ।

राजनीतिमा लामो समयसम्मा गरेको लगानी र जनतालाई पुर्‍याएको सेवाको फल खतिवडाले चाख्न पाएका छन् । उनी मोरङ जिल्लामा एमालेका दुईधारका नेतामध्ये घनश्याम केपी ओली गुटमै लागे पनि सादगीपूर्ण नेता मानिन्छन् । मोरङमा एमालेभित्र भ्रष्टाचार र डनगिरी मौलाएका बेला घनश्याम प्रवृत्तिले अब अगाडि बढ्ने मौका पाएको छ ।

आफ्नो जितपछि खतिवडाले अनलाइनखबरसँग भने- ‘राजनीति पेशा होइन, जनताको सेवा हो भन्ने मेरो मान्यता छ । राजनीतिका नाममा

नवनिर्वाचित सांसद खतिवडा सहकारी आन्दोलनका अगुवासमेत हुन् । लेटाङमा सहकारीको क्षेत्रमा उनले उदाहरणीय कामहरु गरेका छन् । उनी सहकारीसम्बन्धी देशैभरि प्रशिक्षण दिन हिँड्थे ।

पारिवारिक हिसाबले पनि खतिवडाको परिवारलाई सुखी परिवारका रुपमा लिने गरिन्छ । घनश्यामका दुई छोरामध्ये नविन पत्रकार हुन् । उनी रिपब्लिकामा कार्यरत छन् । अर्का छोरा प्रवीण कलाकार हुन् । नाटकबाट कलाकारितामा प्रवेश गरेका प्रवीणले लुट चलचित्रमा अभिनय गरेका छन् ।

डिगबहादुर लिम्बुः परिबन्दमा परेर राम्रा मान्छेले हारे

कांग्रेस नेता डिगबहादुर लिम्बु र एमाले नेता घनश्याम खतिवडा दुबै एउटै गाउँ (लेटाङ) का बासिन्दा हुन् । विगतमा उनीहरु एउटै शिक्षण पेशामा थिए ।

लेटाङमा दुबैजनालाई राम्रा नेताको कोटीमा स्थानीयले हेर्ने गरेका छन् । कतिपयले डिगबहादुरलाई ‘कांग्रेस भए पनि कम्युनिष्ट जस्तै नेता’ भन्ने गरेका थिए ।

खतिवडा र लिम्बुले ०७० र ०७४ सालमा दुईपटक चुनावी प्रतिस्पर्धा गरे । पहिलोपटक डिगबहादुरले जिते । यसपालि खतिवडाले जिते । दुबैको हारजित बराबरी भयो ।

डिगबहादुुरले मोरङमा यसअघिका चुनावमा पनि उत्तरी मोरङबाट प्रतिस्पर्धा गरेका थिए । उनी कांग्रेसमा अनवरतरुपमा लागेका नेता हुन् । उत्तरी मोरङमा कमजोर रहेको कांग्रेसलाई एमालेको प्रतिस्पर्धी बनाउनमा लिम्बुको अथक मेहनतले काम गरेको छ ।

यतिमात्रै होइन, जसरी लेटाङका खतिवडाले एमाले मोरङभित्र मौलाएको विकृत धारको विपक्षमा आफूलाई  स्थापित गरे, डिगबहादुरले पनि कांग्रेसलाई बिराटनगरको कोइराला क्याम्पबाट मुक्त पारेर मोरङको गाउँसम्म लगे । लिम्बु मोरङ कांग्रेसका निर्वाचित जिल्ला सभापतिसमेत हुन् ।

यसरी लेटाङ एउटै गाउँबाट राष्ट्रिय राजनीतिमा उदाएका दुई नेतालाई स्मरण गर्दा सर्वसाधारणले पनि डिगबहादुर लिम्बुलाई हार्नैपर्ने खराब नेताका रुपमा चित्रण गर्दैनन् । तर, चुनाव हो, एउटै क्षेत्रबाट उठेकाले खतिवडाले जिते, लिम्बुले हारे ।

मोरङ १ को चुनावमा राम्रा मान्छेवीच प्रतिस्पर्धा भएको थियो । राम्रैले जिते । राम्रैले हारे ।

नेपालमा पहिले चुनाव जितेकाले दोस्रोपटक चुनाव जित्नु निकै चुनौतीपूर्ण कार्य हो । पहिले जितेर के काम गर्‍यौ भन्ने प्रश्न मतदाताले उठाइहाल्छन् । यसपटक लिम्बुलाई पनि मतदाताले यस्तै प्रश्न उठाए ।

अब ५ वर्षपछि मतदाताले घनश्याम खतिवडालाई पनि यस्तै प्रश्न त उठाउँदैनन् ? खतिवडाले पक्कै पनि आफ्ना मित्रले यसपालि भोग्नुपरेको मनोदशाबाट शिक्षा पाएकै हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment