Comments Add Comment

जितमा देउवाको डबल हृयाट्रिक, पराजयमा हृयाट्रिक गर्ने को हुन् ?

२४ मंसिर, डडेल्धुरा । संसदीय निर्वाचनमा अपराजित रहँदै आएका प्रधानमन्त्री शेरबहादुर देउवा यसपटक पनि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

आफ्ना निटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सचिवालय सदस्य खगराज भट्टलाई हराउँदै देउवा विजयी भएका हुन् ।

कांग्रेस सभापति समेत रहेका देउवाले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात पारे । प्रतिद्वन्द्वी भट्टले २१ हजार ११५ मत ल्याए । भट्टलाई देउवाले ६ हजार ९ सय २९ मतले पराजित गरेका हुन् । देउवा ०४८ साल यताका सबै निर्वाचनमा विजयी भएका छन् ।

०४८, ०५१ र ०५६ सालको निर्वाचनमा विजयी भएका देउवा पहिलो संविधानसभाको निर्वाचन ०६४, दोस्रो संविधानसभाको निर्वाचन ०७० र प्रतिनिधिसभा निर्वाचन ०७४ मा पनि विजयी भएका । यो जितसँगै देउवाले डबल हृयाट्रिक गरेका छन् ।

माओवादी नेता भट्टले समेत हारमा हृयाटि्रक गरेका छन् । पहिलो संविधानसभा निर्वाचन ०६४ बाट देउवासंग प्रतिस्पर्धामा आएका भट्ट ०७४ सालसम्म आउँदा तीनवटा निर्वाचनमा देउवासँगै पराजित भएका छन् ।

देउवा पहिलो संविधानसभा निर्वाचन ०६४ मा भट्टलाई झिनो मतले पराजित गरेका थिए भने ०७० सालको निर्वाचनमा पनि भट्ट देउवासँग दोब्बर मत अन्तरमा पराजित भए । यस पटकको निर्वाचनमा पनि देउवाले फराकिलो अन्तरमा भट्टलाई हराए ।

को हुन् खगराज ?

माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य भट्टको जन्म ०३१ पुस २ गते डडेल्धुराको अजयमेरु गाउँपालिकाका ४ चिपुरमा भएको हो ।

०४७ सालमा नेपाल विद्यार्थी संघको सदस्य भएर राजनीतिमा लागेका भट्ट ०४७ सालमै तत्कालीन नेकपा एकता केन्द्रको सदस्य भएर कम्युनिस्ट राजनीतिमा होमिए । तत्कालीन नेकपा माओवादीको सशस्त्र विद्रोहको क्रममा ज्यान गुमाएका आफ्ना दाजु जयराज भट्टको प्रेरणाले उनी माओवादी राजनीतिमा सक्रिय भएर लागेका हुन् ।

आइएलसम्म अध्ययन गरेका भट्ट ०५४ सालदेखि ०५८ सालसम्म अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय सदस्य भए । विद्यार्थी फाँट छोडेपछि भट्ट तत्कालीन नेकपा माओवादीको दार्चुला, बैतडी र डडेल्धुरा सचिव भएर काम गरे । पछि दार्चुला र बैतडीको इञ्चार्ज समेत भए । ०६० सालमा भट्ट तत्कालीन नेकपा माओवादीको केन्द्रीय समितिमा पुगेका उनले सशस्त्र विद्रोहमा ९ महिना जेल जीवन बिताएका थिए ।

प्रदेशसभा ‘क’ मा एमालेका बोहरा विजयी

डडेल्धुराको प्रदेशसभा ‘क’ मा एमाले तर्फबाट वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहरा विजयी भएका छन् ।

उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार रघुवर भट्टलाई २ हजार १६९ मतले पछि पार्दै विजयी भएका हुन् । प्रदेशसभा सदस्यमा विजयी एमाले उम्मदेवार बोहराले १३ हजार ५६३ मत ल्याए । उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार भट्टले ११ हजार ३९४ मत पाप्त गरे ।

प्रदेशसभा ‘ख’ मा कांग्रेसका मल्ल विजयी

प्रदेश ‘ख’ मा नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर मल्ल विजयी भएका छन् । उनले वाम गठबन्धका उम्मेदवार डा.ताराप्रसाद जोशीलाई झिनो मतले पराजित गरेका हुन् ।

मल्लले १३ हजार ४ सय १३ मत प्राप्त गरी विजय भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी जोशीले १३ हजार ५६ मत ल्याए । मल्ल ३ सय ५६ मत मतान्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृत डा.रमेशप्रसाद रिजालले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment