+
+

तेह्रथुममा वाम गठबन्धनको क्लिनस्वीप, प्रतिनिधिसभामा भवानी खापुङ निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २५ गते ९:०९

२५ मंसिर, तेह्रथुम । तेह्रथुममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा वाम गठबन्धनले क्लिनस्वीप गरेको छ । जिल्लाबाट प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ वाम गठबन्धनका लागि नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका हुन् ।

प्रतिनिधिसभातर्फ नेकपा एमालेका भवानीप्रसाद खापुङ निर्वाचित भएका छन् । एमालेबाट तेस्रो पटक उम्मेदवार बनेका खापुङले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङलाई २ हजार २१ मतले पराजित गरे ।

विजयी खापुङले २१ हजार ३ सय ३५ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिस्पर्धी गुरुङले १९ हजार ३ सय १४ मत प्राप्त गरे ।

प्रदेश सभातर्फ ‘क’ क्षेत्रमा लक्ष्मण तिवारी र ‘ख’ क्षेत्रमा तेजमान कन्दङ्वा विजयी भएका छन् । प्रदेश सभा ‘क’मा एमाले जिल्ला अध्यक्ष समेत रहेका तिवारीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानालाई १ हजार ४ सय ६६ मतले पराजित गरे ।

तिवारीले ११ हजार ७ सय २६ मत र ढुंगानाले १० हजार २ सय ६० मत प्राप्त गरेका छन् ।

जिल्लाका म्याङलुङ्ग र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका रहेको यो प्रदेश निर्वाचन क्षेत्रमा २४ हजार २ सय ३० मत खसेको थियो ।

प्रदेशसभा ‘ख’तर्फ पनि एमालेकै तेजमान कन्दङ्वा विजयी भए । उनले नेपाली कांग्रेसका विजय सम्बाहाम्फेलाई २ हजार २ सय ५५ मतले पराजित गरेका छन् ।

कन्दङवाले १० हजार ३ सय २ मत प्राप्त गरे भने सम्बाहाम्फेले ८ हजार ४७ मत पाए ।

जिल्लाका मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिका सम्मिलित सो निर्वाचन क्षेत्रमा ३० हजार ५ सय ८८ मतदाता रहेकामा १९ हजार ९ सय ६३ मत खसेको थियो । सो क्षेत्रका ७ सय १२ मत बदर भएको छ ।

दुई नगरपालिका र चार गाउँपालिका रहेको तेह्रथुममा स्थानीय चुनावमा समेत नेकपा एमालेले ५ र कांग्रेसले एक स्थानीय तह जितेका थिए ।

कुल ६६ हजार ६ सय ६७ मतदाता मध्ये तेह्रथुममा ४४ हजार २ सय १ मत खसेको थियो ।

-टिआर सेनेहाङबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?