Comments Add Comment

कांग्रेस-गच्छदार विलयः यसकारण बन्यो घाटाको सौदा

लोकतान्त्रिक फोरमका गच्छदारबाहेक कसैले चुनाव जितेनन्

२८ मंसिर, काठमाडौं । सदावहार सत्ताका खेलाडी विजयकुमार गच्छदारका लागि योपटक कांग्रेससँगको पुनरागमन घाटाको सौदा बनेको टिप्पणी हुन थालेको छ । चुनावको मुखैमा वामपन्थी गठबन्धन बनेपछि लोकतान्त्रिक फोरमलाई कांग्रेसमा बिलय गराएका गच्छदार स्वयंले पनि चुनावी नतिजापछि गल्ती महसुस गरेको उनी निकट नेताहरुले सुनाएका छन् ।

कांग्रेससँग लोकतान्त्रिक फोरमको एकीकरणपछि सुनसरी ३ मा गच्छदारको मत स्थानीय तहका आधारमा २३ हजार बढी थियो । तर, उनले एमालेकी भगवती चौधरीसँग निकै कडा प्रतिस्पर्धाबीच ३२१ मतले मात्र जित्न सके, त्यो पनि विवादित ढंगबाट । गच्छदारका लागि पार्टी एकता कति फाप भयो भन्ने यही मतले पुष्टि गर्छ ।

गच्छदारले मुस्किलले जित निकाल्न सके पनि उनीसँग कांग्रेसमा गएर टिकट पाएका अरु कुनै पनि नेताले चुनाव जित्न सकेनन् । गच्छदारपछि दोस्रो प्रभावशाली नेता रामजनम चौधरी थिए । उनले कैलालीमा कहिल्यै चुनाव हारेका थिएनन् । तर, यसपटक कांग्रेसको मत जोडिँदा समेत उनले जित्न सकेनन् ।

फोरम लोकतान्त्रिकबाट पनि ०७० सालमा भारी भतले जितेका चौधरी कैलाली ३ मा माओवादीका गौरीशंकर चौधरीसँग पराजित भए ।

त्यस्तै थरुहट पार्टीबाट लोकतान्त्रिक फोरम हुँदै कांग्रेस बनेका गोपाल दहित पनि बर्दियामा माओवादी नेता सन्तकुमार थारुसँग फराकिलो मतान्तरमा पराजित भए ।

लोकतान्त्रिक फोरमबाट कैलाली १ मा चुनाव जितेका जनकराज चौधरीले प्रतिनिधिसभामा टिकट पाएनन् । थारु सेन्टिमेन्ट बुझेर जनकराजलाई टिकट दिनुपर्छ भन्दा कांग्रेसले मानेन र उनले प्रदेशसमा पाए । अन्ततः प्रतिनिधिसभामा राजपाका रेशमलाल चौधरीले भूमिगत अवस्थामै जिते भने जनकराज चौधरी प्रदेशसभामै पराजित भए ।

फोरम लोकतान्त्रिबाट कांग्रेसमा गएका र प्रदेशमा टिकट पाएका कसैले पनि चुनाव जित्न सकेनन् । बर्दियाका मंगल थारु, रुपन्देहीका देवीप्रसाद चौधरी, कैलालीका पुरन चौधरी, मोरङका भक्तिनाथ माझी, काभ्रेका डन गणेश लामा र सप्तरीका सुबोध पोखरेलले कांग्रेसको मत थपिँदा पनि जित्न सकेनन् ।

लोकतान्त्रिक फोरमका पूर्वप्रमुख सचेतक योगेन्द्र चौधरी दाङ १ बाट प्रतिनिधिसभा उम्मेदवार हुन खोजेका थिए । तर, उनलाई कांग्रेसले टिकट नदिई पूर्व सभासद सुशीला चौधरीलाई दियो  । सुशीला एमालेका मेटमणि चौधरीसँग पराजित भइन् ।

‘कांग्रेससँग एकता थारुले अनुमोदन गरेनन्’

थरुहट आन्दोलनका एक मुख्य अगुवासमेत रहेका कांग्रेस नेता योगेन्द्र चौधरीले कांग्रेससँगको एकीकरणलाई थारु समुदायले अनुमोदन गर्न नचाहेको निर्वाचन परिणामबाट देखिएको बताए । थरुहट आन्दोलनको भावना विपरीत टिकट वितरण हुँदा परिणाम नकारात्मक आएको उनको दाबी छ ।

चौधरीले भने- हामीले टीकापुरका थारुको सेन्टिेमन्ट बुझेर जनकराजजीलाई टिकट दिउँ भन्दा ईश्वरी न्यौपानेलाई दिइयो, त्यसकारण रेशमलालतिर सबै मत गयो । आखिर त्यसको असर रामजनम चौधरी र जनकराज चौधरीलाई पनि पर्‍यो, दुवैले चुनाब हारे । दाङमा थरुहट आन्दोलन बिरोधीलाई टिकट दिएकाले हामीले चुनाव हारेको हो ।’

बिजय गच्छदारजस्तो नेताले २३ हजार मतान्तर भएको क्षेत्रमा ३ सय मतले जित्नुले पनि कांग्रेससँगको एकता सोचेजस्तो हुन नसकेको योगेन्द्रको विश्लेषण छ । ‘यो भन्दा राम्रो परिणाम एक्लै फोरम लोकतान्त्रिक चुनाव लड्दा आउन सक्थ्यो कि भन्ने कुरा पनि आएका छन्, तर समग्रमा नतिजा नै कांग्रेसको खराब आएको हुनाले त्यसको पनि असर पर्‍यो’ उनले भने ।

जो कांग्रेेस भएनन्, उनीहरुले जिते

यो संयोग नै मान्नुपर्छ कि फोरम लोकतान्त्रिक छाडेर अन्य पार्टीमा गएकाले बरु चुनाव जिते । धनुषा २ बाट चुनाव जितेका उमाशंकर अगरिया केही समयअघि मात्रै फोरम लोकतान्त्रिक छाडेर संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए । उनले त्यहाँ वामपन्थी गठबन्धनका रामचन्द्र झालाई झण्डै दोब्बर मतान्तरमा पराजित गरे ।

त्यस्तै फोरम लोकतान्त्रिकको बरिष्ठ उपाध्यक्ष छाडेर माओवादी प्रवेश गरेका रामेश्वर राय यादवले सर्लाही ३ बाट फराकिलो मतान्तरमा चुनाव जिते ।

वीरगञ्जको मेयर हारेपछि लोकतान्त्रिक फोरम छाडेर संघीय समाजवादी फोरममा प्रवेश गरेका विमलप्रसाद श्रीवास्तवले पनि पर्सा २ बाट चुनाव जिते ।

गच्छदारसँग को गएनन् ?

बिजय गच्छदारले कांग्रेससँग एकता गरेसँगै लोकतान्त्रिक फोरमका बरिष्ठ उपाध्यक्ष शिवलाल थापा लगायतले पार्टी पुनर्गठनको घोषणा गरेका थिए । तर, उनीहरुको अस्थित्व चुनावमा कतै देखिएन ।

बरु चुनावअघि नै त्यस पार्टीका बरिष्ठ नेता सोनाम छिरिङ शेर्पा एमाले प्रवेश गरे भने अरु केही नेता माओवादीमा प्रवेश गरे । यशोदाकुमारी लामा सहायकमन्त्री छिन्, तर उनले आफू कतै पनि नगएको बताएकी छन् ।

सीमाकुमारी विक एमाले प्रवेश नगरे पनि चुनावमा उनले एमालेलाई सघाएकी थिइन् ।

कांग्रेसको विलय विजय गच्छदारका लागि चुनावी हारजितका कारणमात्र घाटाको सौदा भएको होइन । अब ५ वर्षको लागि गच्छदारको सत्ताखेल पनि कमजोर बनेको छ । सानो पार्टीका नेता बनेर सदाबहार उपप्रधानमन्त्री र उनकै शब्दमा मालदार मन्त्रालय खाइरहेका गच्छदारका लागि अब ब्रेक लागेको छ ।

उनी कांग्रेसबाट सांसद बने पनि निणर्ायक हैसियतमा छैनन् । सम्भवतः गच्छदारले कांग्रेसमा संसदीय दलको नेता बन्न प्रयास गर्नेछन् तर उनी सफल हुने छैनन् । बढीमा उनले कांग्रेसका उपसभापति पाउनेछन् । यदि लोकतान्त्रिक फोरमनै लिएर बसेका भए सम्भवतः गच्छदार मिलाएर सरकारमा फेरि सहभागी हुने थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment