Comments Add Comment

चीनमा किन आर्टिफिसियल इन्टेलिजेन्स सेन्टर खोल्दैछ गुगलले ?


चीनमा गुगल सर्च इन्जिन प्रतिबन्धित छ । तर गुगलले चाहिँ चीनमै आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) रिसर्च सेन्टर खोल्दैछ ।

गुगलका अनुसार उसले एसियाकै पहिलो एआई रिसर्च सेन्टर चीनमा खोल्न लागेको हो । यस केन्द्रले स्थानीय प्रतिभाहरुलाई आफ्नो प्रतिभा देखाउने मौका प्रदान गर्ने गुगलले जनाएको छ ।

चीनले समेत पछिल्लो समयमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको विस्तारमा रुचि देखाइरहेको छ ।

गुगलको वेबसाइटमा जारी गरिएको एक ब्लगमार्फत गुगलको यस्तो योजनाको बारेमा जानकारी दिँदै चीनमा पहिलोपटक खोलिने उक्त अनुसन्धान केन्द्र निकै महत्त्वपूर्ण हुने जनाएको छ ।

गुगल क्लाउड एआईका प्रमुख वैज्ञानिक फि फि लीले भनेका छन्, ‘एआईमा त्यस्तो क्षमता छ जसको मद्दतले दुनियाँको तस्वीर नै बदल्न सकिन्छ र जीवन सहज बन्न सक्दछ । चाहे त्यो सिलिकन भ्याली हुन् वा बेइजिङ वा अन्यत्र कुनै देश ।’

बेइजिङस्थित गुगलको सानो कार्यालयमा यो अनुसन्धान केन्द्र सुरु गरिनेछ । त्यहाँ विविध सुविधाहरु उपलब्ध गराइनेछ जो गुगलको लण्डन, न्युयोर्क, टोरन्टो तथा जूरिचस्थित कार्यालयहरुमा उपलब्ध छन् ।

चीनमा गुगलका दुईवटा अफिस छन् जहाँ झण्डै ६ सय जना कर्मचारी काम गर्दछन् । चीनमा गुगलको सर्च इन्जिन तथा गुगलका अन्य सेवामाथि सख्त प्रतिबन्ध लगाइएको छ ।

साथै राजनीतिक हिसाबले उपयुक्त नहुने ठहर गरिएका जुनसुकै सामाग्रीमाथि चीनमा प्रतिबन्ध लगाइने गरिन्छ ।

तर यस्तो व्यापक प्रतिबन्धका बाबजुद पनि चीन कृत्रिम विवेक अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि विस्तार गर्न चाहन्छ ।

गत जुलाईमा चीनले एआईका लागि राष्ट्रिय योजनाको घोषणा गरेको थियो । यस योजनामा अमेरिकामा जस्तै यस प्रविधिमा फड्को मार्ने कुरा गरिएको छ ।

यद्यपि, चीनमा रहेका मानवअधिकार संगठनहरुले चाहिँ यस्तो प्रविधिको सहायताले चीनले आम नागरिकको निजी जीवनमा हस्तक्षेप गर्ने प्रयास गर्ने आशंका गरेका छन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment