Comments Add Comment

प्रतिनिधिसभामा विवेकशील साझाकाे प्रतिनिधित्व नहुने

राप्रपा, नयाँशक्ति, नेमकिपा र राजमोले पनि थ्रेसहोल्ड कटाएनन्

२८ मंसिर, काठमाडौं । प्रतिनिधिसभामा विवेकशील साझा पार्टीको प्रतिनिधित्व नहुने भएको छ । प्रत्यक्षतर्फ एक सिट पनि नजितेका विवेकशीलसँगै राप्रपा प्रजातान्त्रिकले पनि समानुपातिकमा तीन प्रतिशतको थ्रेस होल्ड नकटाउने पक्का भएको छ ।

एक/एक सिट जितेका राप्रपा, नयाँ शक्ति, नेमकिपा र राष्ट्रिय जनमोर्चाले पनि थ्रेसहोल्ड कटाउने सम्भावना टरेको छ ।

यो समाचार तयार पर्दासम्म समानुपातिकतर्फ ८० लाख बढी भोट गणना भइसकेको छ ।

अहिलेसम्म एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय फोरम र राजपाले मात्रै थ्रेस होल्ड कटाएका छन् ।

विवेकशील साझाले १ लाख ८२ हजार भोट पाएको छ भने राप्रपाले १ लाख ८१ हजार पाएको छ । नयाँ शक्तिले ७१ हजार, राप्रपा प्रजातान्त्रिकले ६६ हजार, नेमकिपाले ५१ हजार भोट पाएका छन् ।

निर्वाचन आयोगका अनुसार शुक्रबारसम्म समानुपातिकतर्फको मतगणना सकिनेछ । अहिलेसम्मको ट्रेण्ड र गणना गर्न बाँकी क्षेत्र हेर्दा विवेकशील र राप्रपाले पनि थ्रेस होल्ड कटाउन आवश्यक मत पु¥याउने देखिँदैन ।

यदि त्यसो भएमा प्रतिनिधिसभामा राष्ट्रिय पार्टीका रुपमा ९ वटा राजजीतिक दलहरु मात्रै हुनेछन् भने एक स्वतन्त्र सांसद रहने छन् ।

अधिकाशंमा प्रदेशमा राप्रपा, ३ मा विवेकशील साझा

सात वटा प्रदेशका कुल ३३० सिट मध्ये एउटा पनि जित हात पार्न नसकेको राप्रपा र विवेकशील साझा पार्टीले केही प्रदेशमा समानुपातिक सिट पाउने भएका छन् ।

प्रदेशसभामा १.५ प्रतिशतको थ्रेस होल्ड राखिएको छ । प्रदेश १ को सुनसरी बाहेकको गणना सकिएको छ । त्यहाँ एमाले, कांग्रेस, माओवादीसँगै संघीय फोरम र राप्रपाले थ्रेस होल्ड कटाउने देखिन्छ ।

प्रदेश २ मा भने धेरै गणना बाँकी छ ।

प्रदेश ३ मा काठमाडौं र चितवनको गणना जारी छ भने अरु जिल्लाको सकिएको छ । यो प्रदेशमा एमाले, कांग्रेस, माओवादीसँगै विवेकशील साझा र राप्रपाले थ्रेस होल्ड कटाउनेछन् । विवेकशीलले १ लाख ४हजार मत पाइसकेको छ ।

प्रदेश ४ मा स्याङ्जा बाहेक अन्य जिल्लाको गणना भइसकेको छ । यो प्रदेशमा एमाले, कांग्रेस र माओवादीसँगै नयाँ शक्तिले थ्रेस होल्ड कटाउने सम्भावना छ । प्रदेश ५ मा एमाले, कांग्रेस, माओवादीसँगै फोरम र राजपा तथा ६ मा तीन दलसँगै राप्रपाको सम्भावना छ ।

प्रदेश ७ मा पनि एमाले, कांग्रेस र माओवादीसँगै राजपा र राप्रपाले थ्रेस होल्ड कटाउने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment