Comments Add Comment

गोरखामा ट्याक्सी व्यवसायीको मनोमानी, रातो प्लेटले धमाधम यात्रु ओसार्दै

कारबाही गर्ने निकाय माैन

३ पुस, गोरखा । गोरखामा सञ्चालित ट्याक्सीहरुले बढी भाडा असुल्ने गरेको पाइएको छ । ट्याक्सी चालकहरुले मान्छे अनुसारको भाडा असुल्ने गरेको पाइएको हो ।

चिनेजानेकालाई कम भाडा लिए पनि नचिनेका यात्रुलाई भने मनपरी भाडा लिँदै आएका छन् ।

२०७३ सालमा दर्ता भएर सञ्चालनमा आएको गोरखा मनकामना यातायात सेवा प्रा.लि. अन्तरगत हाल जिल्लामा कालो प्लेटका २६ वटा ट्याक्सी र ३ वटा इको भ्यान सञ्चालनमा छन् ।

तर, उनीहरुले मनपरी भाडा असुल्दै यात्रुलाई ठग्ने गरेका छन् । भाडामा मनोमानी भएको चौतर्फी गुनासो आउन थालेपछि केही समय अघि ट्याक्सी व्यवसायी संघ र नियमन निकायको बैठक बसेर दुरी अनुसारको भाडा निर्धारण गरिएको थियो ।

तर, ट्याक्सी चालकहरुले यात्रुलाई बाध्यतामा पारेर निर्धारण गरिएको भन्दा बढी भाडा लिँदै आएका छन् ।

साँझ परेपछि झन् चर्काे भाडा

ट्याक्सी चालकले साँझ परेपछि यात्रुसँग झन् चर्काे भाडा असुल्ने गरेका छन् । गोरखा सदरमुकाममा साँझ ५ बजेबाटै सार्वजनिक यातायात पाउन मुस्किल हुन्छ । त्यही मौका छोपी ट्याक्सीहरुले भाडामा मनोमानी गर्छन् ।

महँगो भाडा तिरेर गन्तव्यमा पुग्न यात्रुहरु बाध्य हुदै आएका छन् ।

जिल्लामा सञ्चालित अधिकांश ट्याक्सीमा मिटर जडान गरिएको छैन । मिटर जडान नहुँदा पनि भाडादर यात्रुले देख्ने गरी सवारीमा टाँस्नु पर्ने भएपनि जिल्लामा सञ्चालन भएका कुनै पनि ट्याक्सीमा भाडादर राखिएको छैन । जसका कारण यात्रुहरुलाई ठग्न सहज भएको छ ।

गोरखा मनकामना यातायात सेवा प्रा.लि.का अध्यक्ष सुरेन लामिछानेले भाडा समायोजन गर्ने तयारीमा रहेकाले भाडादर नभएको बताए ।

‘पहिले भाडादर कायम गरेका थियौं तर प्रशासनले केही समायोजन गर्न भनेकाले समायोजन गर्ने तयारीमा छौ, केही दिनमै भाडादर राख्छौ,’ लामिछानेले भने ।

रातो प्लेटका ट्याक्सीले धमाधम यात्रु ओसार्दै

गोरखामा रातो प्लेटका ट्याक्सीहरुले धमाधम यात्रु ओर्साने काम गरिरहेका छन् । रातो प्लेटले यात्रु ओसार्न नपाउने भएपनि चोकचोकमा कुरेर उनीहरुले यात्रु ओसारपसार गरिरहेका छन् ।

नियम बिपरित रातो प्लेटले यात्रु बोकेपनि ट्राफिकले वेवास्ता गर्दा अहिले जिल्लामा यात्रु बोक्ने रातो प्लेटका ट्याक्सीहरुको संख्या बढ्न थालेको छ ।

यात्रु बोक्नकै लागी भनेर करिव २० भन्दा बढी रातो प्लेटका ट्याक्सी जिल्ला भित्रिएका छन् । पैसा कमाउने बहानामा व्यक्तिहरुले रातो प्लेटका ट्याक्सी ल्याएर यात्रु बोक्ने काम गरिरहेका छन् ।

कारबाही गर्ने निकाय मौन

ट्याक्सीहरुले मनमानी भाडा असुल्दै आएपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय भने मौन छ । नियमन गर्ने निकायले कारबाही नगर्दा मनोमानी बढेको छ । यात्रुहरु ठगिन बाध्य छन् ।

जिल्ला ट्राफिक कार्यालयले भने महँगो भाडा लिएको पाइएमा कारवाही हुने दाबी गर्छ । ‘रातो प्लेटका ट्याक्सीहरु कालो प्लेट बनाउने तयारी गरिरहेका छौं भनेका छन् त्यही भएर केही नगरेका हौं,’ जिल्ला ट्राफिक कार्यालय गोरखाका ट्राफिक हवल्दार रेशम गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment