Comments Add Comment

‘ओलीजीमा अहंकार देखियो, कांग्रेसलाई फ्याँक्न खोज्दै हुनुहुन्छ’

'राष्ट्रपतिले अड्काइराख्ने हो भने देउवाजीले सरकार छाड्न मिल्दैन'

३ पुस, काठमाडौं । कांग्रेस नेता कृष्णप्रसाद सिटौला लामो समयसम्म वकालती पेशा गरेका अधिवक्ता हुन् । दोस्रो संविधानसभामा संविधान मस्यौदा समितिको सभापति भएर काम गरेका संविधान निर्माता समेत हुन् उनी ।

सिटौलाको यही पृष्ठभूमि र अनुभवलाई समातेर हामीले दुईवटा राजनीतिक- संवैधानिक प्रश्नहरुका अन्तरवार्ताको थालनी गर्‍यौं । राष्ट्रियसभा गठन नभई समानुपातिक सांसदको नतिजा निर्वाचन आयोगले निकाल्न मिल्छ कि मिल्दैन ? अनि संविधानमै नलेखिएको एकल संक्रमणीय निर्वाचन प्रणाली अध्यादेशमा राख्न कसरी मिल्छ ?

अनलाइनखबरको प्रश्नको जवाफ दिन सिटौलाले आफ्नो निवासको आँगनमा घाम ताप्दै संविधान मगाए । र, संविधानमा जे लेखेको त्यही अनुसार निकास खोज्नुपर्ने बताए ।

निश्कर्षमा सिटौलाले जहिलेसम्म एमालेले राष्ट्रपतिलाई दबाव दिएर अध्यादेश रोकी राख्छ, त्यतिबेलासम्म शेरबहादुर देउवाले प्रधानमन्त्रीको कुर्सी छाड्नै नमिल्ने जिकिर गरे । सिटौलाले भने- ‘राष्ट्रपतिले अड्काइराख्नुभयो भने अडि्करहन्छ । कांग्रेसले छोड्न सक्दैन । माघ ७ को के कुुरा आयो र ? यो राजनीतिक समझदारी हो, संवैधानिक प्रावधान होइन । शेरबहादुरजी सामू ठूलो चुनौती छ, उहाँ अडिनुभएन सकिनुहुन्छ । उहाँ प्रधानमन्त्री बनेको, कांग्रेस सभापति बनेको निरर्थक हुन्छ ।’

तपाई मस्यौदा समितिको सभापतिको हिसाबले संविधान निर्माता पनि हो । अहिले दलहरुले संविधानलाई आ-आफ्नो अनुकुल ब्याख्या गर्न थालेका छन् । राष्ट्रिय सभाको निर्वाचन नभएसम्म समानुपातिक सदस्य छनोट गर्न नहुने हो कि निर्वाचन आयोगले अब नतिजा फाइनल गर्दा हुन्छ ?

प्रतिनिधिसभामा १६५ प्रत्यक्ष र ११० जना समानुपातिकबाट निर्वाचित भएर आउने हो । समानुपातिकबाट निर्वाचित भएको घोषणा राष्ट्रियसभा निर्वाचनपछि मात्रै गर्न सकिने संवैधानिक व्यवस्था छ ।

राष्ट्रियसभा र प्रतिनिधिसभा मिलेर संघीय संसद बन्छ । धारा ८४ (८) अनुसार संघीय संसदमा राजनीतिक दलहरुले एक तिहाई महिला पुर्‍याउनुपर्छ । प्रत्यक्ष निर्वाचनबाट आउन सकेनन् भने प्रतिनिधिसभाको समानुपातिकबाट पुर्‍याउने व्यवस्था छ । र, प्रतिनिधिसभामा कुन राजनीतिक दलले कति महिला पुर्‍याउनुपर्छ भन्ने निर्वाचन आयोगले पत्र पठाउनुपर्छ, प्रतिनिधिसभा निर्वाचन ऐनमा यो प्रष्ट व्यवस्था छ ।

तर, समानुपातिकको मतगणना सकिएलगत्तै निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावको नतिजा सार्वजनिक गर्नुपर्ने होइन र ?

सुरुमै ओलीजीले एकदमै अंहकार प्रस्तुत गर्नुभयो, मलाई अनौठो र दुःख लागेको छ । उहाँ एउटा खारिएको नेता पनि हो, ठूलो पार्टीको अध्यक्ष पनि हो, भोलि प्रधानमन्त्री बन्दै हुनुहुन्छ । उहाँले सबैलाई साथमा लिएर हिँड्ने बाटो खोज्ने हो

निर्वाचन आयोगले यो काम त्यतिबेला मात्र गर्न सक्छ, जब राष्ट्रियसभाको निर्वाचन सम्पन्न हुन्छ । राष्ट्रियसभाको निर्वाचन संघीय कानुनअनुसार हुने हो ।

यो ओलीजी प्रधानमन्त्री भएको बेला नै बनाएको भए पनि हुन्थ्यो, भएन । प्रचण्डजी र शेरबहादुरजीको पालामा बनाएको भए पनि हुन्थ्यो । तर, तीनैजनाले राष्ट्रियसभाको निर्वाचनसम्वन्धी कानुन संसदबाट ल्याउन सक्नुभएन । आजको दिनमा एउटै विकल्प हो अध्यादेश । मन्त्रिपरिषदले अध्यादेश जारी गर्न राष्ट्रपति कहाँ पठाएको छ । राष्ट्रपतिले त्यो विधेयक जारी गर्नु बाहेक अर्को विकल्प मैले देखेको छैन ।

तर, प्रस्तावित अध्यादेशमा उल्लेख भएको एकल संक्रमणीय निर्वाचन प्रणाली असंवैधानिक छ, राष्ट्रपतिले अध्यादेश जारी गर्न मिल्दैन भनिरहेका छन् नि वाम गठबन्धनका नेताहरुले ?

नेताहरु आफैंले बनाएको संविधान समयमा पढ्नुहुन्न । एउटा कुरा बोल्नुहुन्छ, बोलेपछि समस्या हुन्छ । अनि बोलेको कुरा छोड्न पनि चाहनुहुन्न, हठ गर्नुहुन्छ ।

प्रतिनिधिसभाको निर्वाचन प्रत्यक्ष र समानुपातिक हुने भन्ने संविधानमै प्रष्ट छ । राष्ट्रियसभाको निर्वाचन संघीय कानुनबमोजिम हुने भनिएको छ ।

मेरो ओजीजीसँग आग्रह छ, हामी जुन संविधान बनाएका छौं, त्यही संविधानभित्रबाट राजनीतिलाई अगाडि बढाऔं । संविधानको कुनै व्यवस्था गलत छ भने भोलि संसदबाट संशोधन गरौंला । तर, आजको दिनमा देशले निकास त पाउनुपर्‍यो नि ।

के हो त त्यो निकास ?

निकासका लागि राष्ट्रियसभाको निर्वाचन हुनुपर्‍यो । निर्वाचनका लागि प्रधानमन्त्रीले पठाएको अध्यादेश जारी गर्नुपर्‍यो । राष्ट्रपतिबाट अध्यादेश जारी गर्न ठूलो दलको सहयोग पो हुनुपर्ने हो, तर उहाँले रोक्न दबाव दिएको भन्ने आयो । यो राम्रो भएन । प्रधानमन्त्रीले अध्यादेश सिफारिस गरेपछि त्यसलाई घोषणा गर्नुबाहेक राष्ट्रपतिसँग अर्को विकल्प छैन । मलाई लाग्छ, राष्ट्रपतिले छिट्टै अध्यादेश जारी गर्नुहुन्छ र राष्ट्रियसभाको निर्वाचन हुनेछ । यसमा राजनीतिक बहसमा अल्झिनु उपयुक्त होइन ।

संघीय कानुन अहिले अध्यादेशबाट ल्याउनुबाहेक कुनै विकल्प छैन । अध्यादेश ल्याउने काम सरकारको हो । गुणदोषको जिम्मा सरकारको हुन्छ, राष्ट्रपतिको होइन ।

राष्ट्रियसभा निर्वाचनसम्बन्धी यो विवादमा सरकारको भन्दा बढी एमालेकै दोष छ भन्न खोज्नुभएको हो ?

मेरो आग्रह एमालेसँग बढी छ । निर्वाचनबाट ठूलो दल भएर आउनुभएको छ, भोलि सरकारको नेतृत्व गर्ने होला । अथवा (माओवादी अध्यक्ष) प्रचण्डजीले नै गर्नुहोला । निर्वाचनबाट जुन दल ठूलो भएर आएको छ, त्यसले बढी संवैधानिक प्रवन्धमा ध्यान दिनुपर्छ ।

संविधानको स्पिरिटको पालना गर्ने बढी जिम्मेवारी ठूलो दलको नै हुन्छ । ठूलो दलको ठूलै जिम्मेवारी हुन्छ भन्ने सोचेर एमाले अध्यक्ष केपी ओलीजीले जसरी बोलिरहनु भएको छ, त्यसरी नबोल्नु उपयुक्त हो । बरु निर्वाचन आयोगसँग सल्लाह गर्दा हुन्थ्यो ।

केपी ओलीजी भावी प्रधानमन्त्री पनि हुनुहुन्छ, उहाँले एकल संक्रमणीय प्रणाली असंवैधानिक हो, राष्ट्रपतिले स्वीकृत गर्न मिल्दैन भन्नुभएको छ, यो गम्भीर विषय हैन र ?

सुरुमै ओलीजीले एकदमै अंहकार प्रस्तुत गर्नुभयो, मलाई अनौठो र दुःख लागेको छ । उहाँ एउटा खारिएको नेता पनि हो, ठूलो पार्टीको अध्यक्ष पनि हो, भोलि प्रधानमन्त्री बन्दै हुनुहुन्छ । उहाँले सबैलाई साथमा लिएर हिँड्ने बाटो खोज्ने हो । अहिले ठूलो दल भयो, दुई दल मिलेर बहुमत आयो भन्दैमा उहाँले अहंकार देखाउने बेला होइन ।

निर्वाचनमा हारजित हुन्छ । पहिलो संविधानसभामा माओवादी यस्तै बहुमतका साथ आएकै हो नि त । माओवादी, एमाले, मधेसवादी दल मिलेर सरकार बनाएकै हुन् । कांग्रेस प्रतिपक्षमा गएकै हो । तर, दोस्रो संविधानसभामा कांग्रेस ठूलो दल बन्यो । हामी सबै मिलेरै संविधान बनायौं । कति कुरा ठीक लेख्यौं होला, कतिपय वेठीक लेख्यौं होला तर, अहिले संविधान कार्यान्वयन गर्ने यो चरणमा गलत ब्याख्या गर्नुहुँदैन ।

संघीय कानुनमा प्रत्यक्ष, समानुपातिक वा एकल संक्रमणीय जे पनि राख्न सकिन्छ । संसद भएको भए त्यहाँ छलफल हुन्थ्यो । अहिले त मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेश जारी गर्नुको अर्को विकल्प छैन ।

मेरो विचारमा एकल संक्रमणीय प्रणालीमा जाँदा राष्ट्रिय सभा समावेशी हुन्छ । विगतमा राष्ट्रियसभा हुँदा एकल संक्रमणीयमै गएका छौं । त्यसबेला विकास क्षेत्रबाट आउने बहुमतीय थियो भने प्रतिनिधि सभाबाट जाने एकल संक्रमणीय थियो । अहिले संविधानले राष्ट्रियसभा निर्वाचन यस्तो प्रणालीबाट हुन्छ नभनेपछि एकल संक्रमणीयबाट गर्नु उपयुक्त हुन्छ ।

अझ ठूलो दलले राष्ट्रियसभा समावेशी होस्, सबै दलको प्रतिनिधित्व होस् भन्ने सोच्नुपर्छ । प्रतिनिधिसभामा केही गल्ती भयो भने करेक्सन गर्ने ठाउँ रहन्छ । त्यसरी सोच्नुपर्ने ठाउँमा उहाँले किन चरम पार्टीको हित मात्र सोच्नुभएको छ, मैले बुझ्न सकेको छैन । ओलीजीले पार्टीकेन्दि्रत पोलिटिक्स मात्र गर्नुभयो भने उहाँले देश हाँक्न सक्नुहुन्न । मेरो शुभकामना छ, देश हाँक्न सक्नुहोस् । देश हाँक्न त सिंगो राष्ट्रलाई एकतावद्ध गर्ने बाटो खोज्नुपर्छ । सबैको बीचको सहमतिबाट निकास खोज्नुपर्छ ।

त्यसैले सुरुमै उहाँले राष्ट्रिय सभा बेगर नै समानुपातिक भइहाल्छ भन्नुभयो । यसलाई म बेनिफट अफ डाउट दिऊँ । उहाँले नपढी बोल्नुभयो होला । तर, आजको दिनमा मेरो ओलीजीलाई सुझाव छ, उहाँले संविधानको प्रवन्धभित्रबाटै बोल्नुपर्छ, यसलाई लागू गर्न भूमिका खेल्नुपर्छ । उहाँको जिम्मेवारी ठूलो छ ।

तपाईको भनाइको तात्पर्य राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश रोकेर राखेर गल्ती गरिरहेकी छिन् भन्ने हो ?

त्यसकारण प्रधानमन्त्री शेरबहादुर देउवाले पठाएको अध्यादेश जारी गर्न सहयोग गर्नु हामी सबैको कर्तव्य हो । खासगरी एमालेको ठूलो कर्तव्य हो । यसकारण कि विद्यादेवी भण्डारी हिजोको दिनमा एमाले नेता पनि त हो । तर, एमाले भनेजस्तै गर्नुहुन्छ भन्ने मलाई लाग्दैन । राष्ट्रपतिको कुर्सीमा पुगेको मान्छेले आफ्नो जिम्मेवारी बहन गर्नुहुन्छ, राष्ट्रपतिप्रति मेरो विश्वास छ । तर, उहाँ रोकिनुमा त एमाले जिम्मेवार भयो । त्यस्तो हुनुहुँदैन ।

हामीले जे कुराको पनि संविधानभित्रबाटै समाधान खोज्नुपर्छ । संविधान बाहिरबाट समाधान खोज्न थाल्यौं भने देश तानाशाही बाटोमा जान्छ । कुनै एउटा पार्टी वा व्यक्तिले म तानाशाह बन्छु भन्ने सोच्यो भने केही महिना चल्ला तर, त्यो गिर्छ । ऊ मात्रै गिर्दैन, सिस्टम कोल्यास्प हुनसक्छ । त्यसैले आजका दिनमा मेरो चिन्ता छ, संविधानमा जे प्रवन्ध गरिएको छ, त्यसलाई हुबहु लागू गर्न सकिन्छ कि सकिँदैन ? हामीले सक्नुपर्छ ।

तर, कतिपय मानिसहरु भन्दैछन्, वामपन्थीको बहुमत आइसक्यो, सरकार छाड्ने बेला भइसक्यो । बित्थामा किन हलो अड्काएको देउवाजीले ?

प्रधानमन्त्रीले अध्यादेश पठाउने र राष्ट्रपतिले रोक्ने हो भने रोकियो देशको राजनीति । राष्ट्रपतिले नै देशको राजनीति अड्काउनुभयो भने कसले निकास दिन्छ ?

राष्ट्रियसभा निर्वाचन नभई प्रधानमन्त्रीले छोड्नुभयो भने गैरजिम्मेवार ठहर्छ । राष्ट्रियसभाको अध्यादेश जारी भएपछि उनले निर्वाचन आयोगको परामर्शमा अविलम्ब मिति तोक्नुपर्छ । कति छिटो निर्वाचन गर्न सकिन्छ, त्यति नै छिटो उहाँले मिति तोक्नुपर्छ । तर, त्यसका लागि कानुन चाहिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई दोष दिने ठाउँ नै छैन । दोष छ, राष्ट्रपतिकोमा अध्यादेश जारी नगर्नुमा ।

एकल संक्रमणीय प्रणालीमा जाँदा राष्ट्रियसभामा कांग्रेसको २/४ सिट बढ्ला । प्रतिनिधिसभामा यत्रो सिट त गुमाइसक्नुभयो, अब राष्ट्रियसभामा पाइने २/४ सिटका लागि कांग्रेसले एकल संक्रमणीय नै किन भनिरहेको ? कांग्रेसले यस्तो अडान छाडिदिँदा के हुन्छ ?

राष्ट्रियसभामा हामी पुग्छौं कि पुग्दैनौं भन्ने चिन्ता होइन । हाम्रो चिन्ता, यो संविधानको स्वरुप नै समावेशी हो, यसलाई खण्डित हुन दिनुहुँदैन । राष्ट्रियसभा सम्बन्धी कानुन एकल संक्रमणीय भयो भने समावेशी हुन्छ, नभए हुँदैन । समावेशी प्रतिनिधित्व भनेको राजनीतिक दलहरुको पनि हो ।

ठूला दलहरु मध्ये कसैलाई पनि कसैले पनि बाइपास गर्न खोज्नुहुँदैन । अझ सरकारमा पुग्नेले त प्रतिपक्षमा बस्ने पार्टीलाई प्रारम्भदेखि नै हात दिने प्रयास गर्नुपर्छ । प्रारम्भदेखि नै टाढा फ्याँक्ने काम किन गर्नुहुन्छ एमालेका नेताहरु ?

यो त म कस्तो देख्दैछु भने हिजो पहिलो संविधानसभा निर्वाचनपछि प्रचण्डजीले कांग्रेसलाई फ्याँक्न खोजेको जस्तो अहिले ओलीजीले कांग्रेसलाई फ्याँक्न खोज्दै हुनुहुन्छ । यो कम्युनिष्ट दर्शन नै यस्तो हो कि जितेपछि अहंकार हुने ? मैले बुझिनँ । यो गलत हुन्छ उहाँहरुका लागि, यो देश सबैले मिलेर बनाउने हो । एक्लै देश हाँक्छु भनेर अहंकार नगरे हुन्छ, सक्नुहुन्न ।

उसोभए अबको निकास भनेको तत्काल अध्यादेश ल्याउनुपर्‍यो, राष्ट्रियसभा चुनाव गर्नुपर्‍यो अनि समानुपातिक सांसद छान्नुपर्‍यो ?

हो ।

यसो गर्दा माघ ७ कट्यो भने नि ?

माघ ७ को के कुुरा आयो र ? यो राजनीतिक समझदारी हो, संवैधानिक प्रावधान होइन ।

राष्ट्रपतिबाट बेलैमा अध्यादेश आएन भने नि ? फागुनसम्म पनि यही सरकार जान सक्छ ?

राष्ट्रपतिले अड्काइराख्नुभयो भने अडि्करहन्छ । राष्ट्रपतिले नै देशको राजनीति अड्काउनुभयो भने कसले निकास दिन्छ ? प्रधानमन्त्रीले अध्यादेश पठाउने र राष्ट्रपतिले रोक्ने हो भने रोकियो देशको राजनीति । एमालेले राष्ट्रपतिमार्फत किन देशको राजनीति रोकेको हो, मैले बुझेको छैन ।

तर, जनतामा त देउवाले किन राजनीतिको हलो अड्काएको भन्ने सन्देश जाला नि ?

कांग्रेसले ड्यू प्रोसेस छोड्न सक्दैन । आफ्नो स्वार्थका लागि होस् वा अर्काको स्वार्थका लागि होस्, कांग्रेस संविधान मिच्न सक्दैन । कानुनभित्रबाट मात्र कांग्रेसले निकास खोज्छ । यो कांग्रेसको जन्मजात चरित्र हो । लोकतन्त्र भनेकै कानुनको समुचित प्रयोग हो, अवज्ञा होइन । कांग्रेसले सुरुमै कसरी संविधानको अवज्ञा गर्न सक्छ र कसरी अरुलाई अवज्ञा गर्न दिनसक्छ ?

भनेपछि शेरबहादुरजीले अब यत्तिकै छाड्न मिल्दैन ?

आज शेरबहादुरजीसामू ठूलो चुनौती छ, उहाँ संवैधानिक प्रवन्ध लागू गर्न अडिनुहुन्छ कि हुन्न ? अडिनुभएन भने उहाँ सकिनुहुन्छ । संवैधानिक प्रवन्ध कडाइका साथ लागू गर्नुपर्छ । अन्यथा उहाँ प्रधानमन्त्री बनेको, कांग्रेस सभापति बनेको निरर्थक हुन्छ ।

अझ आउँदै गरेका प्रधानमन्त्री संवैधानिक प्रवन्ध लागू गर्न झन कडाइका साथ उभिनुपर्छ । किन ओलीजी उभिनुभएको छैन ? प्रचण्डजीको कमेन्ट सुनेको छैन, ओलीजीको धेरै कमेन्ट सुनेको छु । यस्तो कमेन्ट गर्न ओलीलाई सुहाउँदैन ।

अब अर्को प्रशंगतिर जाऔं, यो चुनावमा कांग्रेस किन हार्‍यो ?

हाम्रा केही नीतिगत, केही रणनीतिगत र केही व्यवहारिक कमजोरी रहेका छन् । पार्टी केन्द्रको सञ्चालन, उम्मेदवार छनोट प्रक्रियामा पनि हामी चुकेका छौं । म सभापतिलाई मात्र दोष दिन चाहन्नँ । यसमा कहीँ न कहीँ हामी सबैको धेरथोर जिम्मेवारी छ । तर, प्रमुख जिम्मेवारी पदाधिकारीले नै लिने हो । खासगरी सभापति र महामन्न्त्री, जसले पार्टीको संगठन हाँक्नुहुन्छ, उहाँहरुले कार्यसमिति बैठक बोलाउनुहोला र निर्वाचन समीक्षाका सन्दर्भमा प्रस्ताव ल्याउनुहोला ।

आजको दिनमा म यति भन्न चाहन्छु, नयाँ संविधान घोषणा भएदेखि यहाँसम्म आइपुग्दा हामी रणनीतिगत कुरामा चुकेका छौं, कहीँ न कहीँ त्रुटी भएको छ । कांग्रेसप्रति जनताको समर्थन किमार्थ घटेको होइन, अझ बढेको छ । समानुपातिकले त्यो देखाउँछ । पहिलो संविधानसभामा झण्डै ३० प्रतिशत मात्र मत थियो, अहिले ३३ प्रतिशत पुगेको छ । अब नीतिगत, रणनीतिगत, संगठन र व्यवस्थापनमा कसरी अगाडि जाने भन्ने हामी छलफल गर्छौं ।

कांग्रेसमा विशेष महाधिवेशन बोलाउने र नेतृत्व हस्तान्तरण गर्नुपर्ने बहस पनि सुरु भएको छ । यसमा के भन्नुहुन्छ ?

यसका लागि पहिला केन्द्रीय समितिको बैठक बोलाउनुपर्छ र त्यहीँ छलफल हुनुपर्छ । यो बहसलाई म असान्दर्भिक मान्दिनँ तर, त्यसमा पुगिहाल्ने बेला भयो कि भएन भन्न केन्द्रीय समिति चाहिन्छ । हामी गम्भीरतापूर्वक छलफल गर्छौं ।

कांग्रेसमा अर्को पनि बहस छ, चुनावी हारपछि पार्टी सभापति देउवाले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ कि पर्दैन ?

राष्ट्रसामू उपस्थित चुनौतीहरुको सामना गर्न कांग्रेस नयाँ सोचाइ, नयाँ नीति र रणनीतिका साथ अगाडि जानुपर्छ भन्ने मेरो आजको निष्कर्ष छ । यही परम्परागत सोच, शैली र व्यवहारले हामी चुनौतीहरुको सामना गर्न सक्दैनौं

यो नैतिक प्रश्न व्यक्तिगतरुपमा लागू हुने हो । अर्काको नैतिक प्रश्नको उत्तर मैले दिन मिल्दैन नि ।

तर, एउटा कुरा के लाग्छ भने, हामीले हामीले जनताको समर्थनमा क्षति व्यहोर्नुपरेको छैन, चुनावी तालमेलमा कहीँ क्षति भएको महसुस गरेको छु ।

हुन त तपाईले चुनावमा व्यवहारबाटै जवाफ दिइसक्नुभयो तर, कांग्रेसले दुबै राप्रपासँग तालमेल गरेर गल्ती गरेको हो कि ?

म व्यक्तिगतरुपमा, सैद्धान्तिक र नीतिगतरुपमा नै राजनीति अघि बढाउनुपर्छ भन्ने मान्छे हुँ ।

एमाले र माओवादी केन्द्रको अहिलेको चुनावी तालमेल पनि बडो अनौठो छ । नीतिगतरुपमा उहाँहरु एक ठाउँमा उभिने अवस्था स्थानीय चुनावसम्म देखेको होइन । प्रचण्डजी र ओलीजीका विचार वारपार फरक देखिन्छन् । संविधान संशोधनदेखि मधेस मुद्दासम्म अत्यन्त अन्तर देखिन्छ उहाँहरुको बीचमा । तर, चुनावी तालमेल गर्नुभयो, यो अलग कुरा छ ।

मचाहिँ सिद्धान्त र नीतिका आधारमा पार्टी एकता/तालमेल हुनुपर्छ भन्ने मान्यता राख्छु । निर्वाचनका बेलामा जनतासमक्ष विचार सम्प्रेषण गर्दा प्रष्टसँग लिएर जानुपर्छ । कुनै ठाउँमा एउटा, कुनै ठाउँमा अर्को विचार लिएर जानुहुँदैन भन्ने मान्छे हुँ । त्यसैले यो समग्रमा भोलि छलफलको विषय बन्ला, अहिले मैले हतारिएर किन बोल्नुपर्‍यो र !

तर, तपाई जोसँग पराजय व्यहोरेर आउनुभयो, त्यही पार्टीका ४ नेतालाई कांग्रेसले प्रतिनिधिसभा सदस्य बनाउन सक्दो प्रयास गरेकै हो नि हैन र ? भलै जनताले उनीहरुलाई जिताएनन् । यसमा तपाईको टिप्पणी हामीले जान्न चाहेका हौं…

मलाई के लाग्छ भने समग्रमा गहिरिएरै विश्लेषण गर्नुपर्छ । तर, यतिचाहिँ प्रष्ट हिजो पनि थिएँ, आज पनि छु कि सैद्धान्तिक र नीतिगत एकताका आधारमा तालमेल हुनुपर्छ । र, भोलि पनि त्यही मान्यता रहन्छ मेरो ।

पार्टीभित्र पनि लाइक डिसलाइक हुन्छ, तर कसैको मुख हरेर हुँदैन । कसैलाई नेता मान्ने वा नमान्ने, सघाउने वा नसघाउने वा सहयोग लिन सक्ने वा नसक्ने भन्ने बैचारिक धरातलमा उभिएर हुन सक्छ । विचार नमिल्नेसँग कसरी तालमेल हुनसक्छ ? राजनीतिलाई यथास्थितिमा अड्काएर कुर्सी प्राप्त गर्नु समाज र देशका लागि कुनै फलदायी हुँदैन, यो मेरो प्रष्ट कुरा हो ।

तपाईले पार्टीको महाधिवेशनमा बैकल्पिक धारको नेतृत्व गर्नुभयो । अब फेरि आवश्यक परेमा त्यसरी नेतृत्व गरेर अघि बढ्नुहुन्छ कि पाश्र्व भूमिकामा रहनुहुन्छ ?

राष्ट्रसामू उपस्थित चुनौतीहरुको सामना गर्न कांग्रेस नयाँ सोचाइ, नयाँ नीति र रणनीतिका साथ अगाडि जानुपर्छ भन्ने मेरो आजको निष्कर्ष छ । यही परम्परागत सोच, शैली र व्यवहारले हामी चुनौतीहरुको सामना गर्न सक्दैनौं । हामी एकपटक आत्मसमीक्षा गर्छौं, आत्ममूल्यांकन गर्छौं, गहिरिएर आफू र पार्टीलाई हेर्छौं । र, नेपाललाई सम्बृद्ध राष्ट्रका रुपमा अघि बढाउन कस्तो नीति अख्तियार गर्नुपर्छ भन्ने नयाँ दृष्टिकोण अगाडि सार्ने पक्षमा छौं ।

म यो विषयमा पार्टीभित्रका लाइक माइन्डेड साथीहरुसँग बसेर छलफल गर्छु । कति साथीहरु यो विषयमा सहमत छन, कि छैनन् । कतिसाथीहरु परम्परागट शैली नै ठीक छ भन्नेहरु पनि होलान् । मलाई चाहिँ अबको परिवर्तित सन्दर्भमा परिवर्तित माइन्ड चाहिन्छ भन्ने हो आजका दिनमा ।

हामीले आफूलाई पनि परिवर्तन गर्न सक्नुपर्छ, आफ्नो सोचमा, शैलीमा व्यवहारमा परिवर्तन ल्याएर सिंगो पार्टीलाई परिवर्तनको धारमा उभ्याउन सक्नुपर्छ । त्यो परिवर्तनले यो देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन सकोस् । लोकतन्त्रलाई साकार पार्न सकोस् । जनताको अधिकारलाई अझ बढी बलियो बनाउन सकोस् । तर, यो काम द्रुत गतिमा होस् । ढिलाइ नगरिकन होस् ।

यो आधारमा जाँदाखेरि केके गर्ने हो, बसेर एकचोटि समीक्षा गर्नुपर्छ । र, म पुस-माघको यो दुई महिना नहतारिइकन साथीहरुसँग छलफल गर्छु । शान्तसँग । अहिले चुनाव हारियो, पार्टी पनि हार्‍यो, आफू पनि हारियो भनेर धेरै अत्तालिने बेला छैन । अरु बढी गम्भीर भएर, गहिरिएर सोच्ने बेला भयो भन्ने मलाई लाग्छ ।

देशभरका साथीहरुलाई पनि मेरो के आग्रह छ भने अहिले अत्तालिने बेला होइन हामीले । अहिले निराश हुने बेला होइन हामीले । अहिले हाम्रोसामु चुनौती थपिएर आएको हो । यो चुनौतीको सामना गर्नका लागि यो परम्परागत शैलीचाँहि काम लाग्दैन भन्ने निश्कर्षमा पुग्नुपर्छ हामीले ।

देशभरका साथीहरुलाई अवसर प्रदान गरेर, जिम्मेवारी बाँडफाँड गरेर यो पार्टीलाई सबैको साझा पार्टीका रुपमा, सबैको योगदानलाई कदर गर्ने पार्टीका रुपमा हामीले लैजान सक्नुपर्छ । यसमा काम गर्नुपर्छ भन्ने मेरो विचार हो । अब एकाध महिनापछि हामी देशभरि हिँडौंला पनि ।

खाली मेरो भन्नु के छ भने आज कांग्रेस निराश हुनुपर्ने बेलाचाहिँ यो होइन । निराश हुनुहुँदैन । हारजित हुन्छ निर्वाचनमा । मैले अघि पनि भनें, केही त्रुटी हाम्रो भएको छ । यसको जिम्मेवारी सबैभन्दा बढी त पदाधिकारी साथीहरुले लिनुपर्छ । तर, मलाई पनि अछुतो बस्छु भन्न त मिल्दैन नि । म पनि त केन्द्रीय सदस्य हुँ । केन्द्रीय तहमा छु । गलत नीति थियो भने मैले किन रोक्न सकिनँ ?

मैले मूल कुरा उठाएको छु, संविधान जारी भएर यहाँसम्म आइपुग्दा म त्यसलाई नीतिगत भन्दिनँ, रणनीतिगतरुपमा हाम्रो केही कमजोरी भएकै हो ।

अब नेपाली कांग्रेससँग दुईवटा बाटा देखिन्छन्ः एउटा- पाँच वर्षसम्म सरकारतिर नहेरिकन प्रतिपक्षमा बस्ने । अर्को- माओवादी, मधेसी र कांग्रेसलाई जम्मा पारेर सरकार बनाउनेतिर जमर्को गर्ने । कांग्रेसले कुन बाटो समात्छ ?

आजका दिनमा कांग्रेसलाई प्रतिपक्षमै बस्ने जनादेश हो । तथापि राजनीतिका अनेक सम्भावनाहरु हुन्छन् । हामी धैर्यतापूर्वक स्थितिलाई मूल्यांकन गरेर बसेका छौं आजका दिनसम्म । र, हामी नहत्तारिइकन र नअत्तालिइकन, निराश नभइकन, यो देश सम्हाल्ने जिम्मेवारी हाम्रो हो र अझै ठूलो जिम्मेवारी थपिएको छ भन्ने महसुस गरेर अगाडि जान्छौं ।

त्यसैले अहिले जति पनि निर्वाचित भएर राजनीतिक दलका नेताहरु आउनुभएको छ, उहाँहरुसँग हाम्रो क्रमिकरुपले वार्ता छलफल चल्छ । कमसेकम निर्वाचन त सम्पन्न भइसकोस् । अहिले त निर्वाचनकै तानातान छ नि । राष्ट्रियसभाको निर्वाचन भएकै छैन, समानुपातिकमा कति गर्न पाइन्छ भन्ने थाहै छैन । निर्वाचन सम्पन्न भइसकेपछिमात्रै तपाईले उठाएको प्रश्नको उत्तर खोज्नु उपयुक्त हुन्छ । खाली आज म यतिमात्रै भन्छु- आजको जनादेश कांग्रेसलाई प्रतिपक्षमा बस्नलाई नै हो ।

एमाले र माओवादीवीचको सम्भावित पार्टी एकतालाई कांग्रेसले रोक्ने प्रयास गर्छ कि गर्दैन ? अर्थात् दुई पार्टीका वीचमा खेल्ने प्रयास गरिन्छ कि गरिँदैन ?

उहाँहरुको आन्तरिक विषयमा हामी प्रवेश गर्न चाहँदैनौं । खाली मलाई के छ भने माओवादीको एजेण्डा र एमालेको एजेण्डा दुईवटै हेर्न बाँकी छ । माओवादीले १० वर्ष जनयुद्धताका उठाएको एजेण्डा, शान्ति प्रक्रियामा उठाएको एजेण्डा अझै टुंगिइसकेको छैन । शान्ति प्रक्रियाका कतिपय महत्वपूर्ण कामहरु बाँकी छन् । गएको स्थानीयतहसम्म माओवादीले उठाएको एजेण्डाका बारेमा माओवादी के भन्छ, हेर्न छ मैले । अनि त्यसको खिलाफमा एमालेले राखेको अडान के गर्छ, हेर्न छ हामीले ।

त्यसकारण उहाँहरुको वीचको जुन अहिलेको समीकरण छ, त्यसमा हामी प्रवेश गर्न चाहँदैनौं । तर, हेर्न चाहन्छौं, विश्लेषण गर्न चाहन्छौं । त्यसबाट के देखिन्छ, त्यसका आधारमा हामी आफ्नो नयाँ बाटो निर्माण गर्छौं ।

यो चुनावमा तपाईलाई पार्टीले समानुपातिकको टिकट दिएकै थियो, तर त्यो छाडेर झापा ३ मा चुनाव लड्न जानुभयो र हार्नुभयो । अहिले फर्केर हेर्दा गल्ती गरिएछ जस्तो लागेको छ कि गर्वानुभूति ?

म जत्तिको पार्टीको जिम्मेवार तहमा पुगिसकेको मान्छेले समानुपातिकमा बस्नु उपयुक्त होइन । मलाई समानुपातिकमा राख्न खोज्नु पनि उपयुक्त होइन र मैले रोज्नु पनि उपयुक्त होइन । म प्रष्ट मान्यता राख्ने मान्छे हुँ । प्रत्यक्ष निर्वाचनमै जानुपर्छ मैले । हारजित त भइरहन्छ, यो ठूलो चिज होइन । यो स्वाभाविकै हो । यसलाई मैले अनौठोरुपमा लिएको छैन ।

अहिले पनि मेरो निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ सबैभन्दा बढी मत नेपाली कांग्रेसकै छ । समानुपातिकमा कांग्रेसको २५ हजार मत छ । दोस्रोमा एमालेको करिब १९ हजार मात्रै छ । माओवादी, राप्रपा तेस्रो चौथो पार्टीमा छन् । समानुपातिकभन्दा अझ बढेर प्रत्यक्षमा मेरो ३१/३२ हजार मत आएको छ । ‘न्युट्रल मास’ ले अत्यन्त ठूलो समर्थन जनाएको मैले पाएको छु ।

जनमतका आधारमा भन्ने हो भने मैले आजसम्मको कार्यकालमा सबैभन्दा बढी मत प्राप्त गरेको छु । स्थानीय तहको मूल्यांकन गर्ने हो भने त्यहाँ २० हजारमात्रै मत थियो । तर, अहिले समानुपातिकमा ५ हजार मत बढ्यो । प्रत्यक्षमा धेरै बढ्यो । त्यसकारणले जनताले मलाई अत्यन्त राम्रो मूल्यांकन गरेका छन् । खाली तीन वटा पार्टीको गठबन्धन भो, तीनवटा पार्टीले टाइट गरेर मतदातालाई एकठाउँमा अड्काएर राखेका छन्, त्यतिमात्रै कुरा हो ।

चुनाव हारेकोमा तपाईलाई कुनै पछुतो छैन त ?

म यसमा असन्तुष्ट छैन ।

तर, गणतन्त्रका लागि लडेको नेतालाई हराउन गणतन्त्रवादी नेताहरु प्रचण्ड र केपी ओलीले नै ‘राजावादी पात्र’ खडा गरेर तपाईलाई प्रतिनिधिसभामा उपस्थित हुन दिएनन् भन्ने लागेको छैन ?

पहिलो संविधानसभाको निर्वाचनमा पनि उहाँहरुले मलाई मज्जैले हराउनुभएको हो ।निवार्नचन परिणामबाट दल र नेताहरुको वीचमा हुने सम्बन्ध फरक हुन्छ भन्ने कुरा मान्दिनँ । हिजो ओलीजीसँग जस्तो थियो, प्रचण्डसँग जस्तो थियो, अहिले पनि त्यस्तै छ

आदर्शकेन्द्रित राजनीतिभन्दा निजी स्वार्थकेन्द्रित राजनीतिको उपज हो यो उहाँहरुको । नत्र गणतन्त्रवादीले राजावादी बोक्नुपर्ने कारण थिएन । राप्रपाको नेताले जित्नुभएको छ, अब एमालेमा प्रवेश गर्नुहुन्छ भनेर जिल्लामा हल्ला चलाइएको छ । कति सत्य हो वा असत्य, त्यो त भविश्यले बताउला । तर, आजको दिनमा म यसमा धेरै टिप्पणी गर्न चाहन्न ।

तर, अनौठो लागेको चाहिँ कुरा के हो भने गणतन्त्रका एकदमै पहरेदार हौं भन्नेहरुले राजावादीलाई बोक्नुभो । अहिले आएर राजेन्द्र लिङदेनजी पनि गणतन्त्रवादी बन्न सक्छन्, यो त ठूलो कुरा भएन । यसमा मैले धेरै दुखमनाऊ गर्नुहुँदैन ।

तपाईलाई चुनाव हराइसकेपछि अब प्रचण्डहरुसँगको सम्बन्धमा तिक्तता आउँछ कि आउँदैन ?

आउँदैन । उहाँ माओवादी पार्टीको नेता हो । ओलीजी एमालेको नेता हो । म कांग्रेसको नेता हुँ । त्यसैले पार्टीका नेताहरुसँग हुने मेरो सम्बन्ध यथावत रहन्छ ।

तर, प्रचण्डलाई हेर्ने तपाईमा जुनखालको दृष्टिकोण थियो, त्यसमा त थोरै परिवर्तन त होला नि ?

होइन । पहिलो संविधानसभाको निर्वाचनमा पनि उहाँहरुले मलाई मज्जैले हराउनुभएको हो । पहिलो संविधानसभामा मलाई जित्ने पूर्णसिंह राजबंशीले अहिले मेरै क्षेत्रको प्रदेशसभामा जित्नुभएको छ । म यो निवार्नचनबाट आउने परिणामबाट दलहरुको वीचमा हुने सम्बन्ध र नेताहरुको वीचमा हुने सम्बन्ध फरक हुन्छ भन्ने कुरा मान्दिनँ । अरु के ठान्छन्, म जान्दिनँ । तर, मेरो सम्बन्ध हिजो ओलीजीसँग जस्तो थियो, प्रचण्डसँग जस्तो थियो, अहिले पनि त्यस्तै छ । केही फरक छैन । म कांग्रेसको नेता हुँ क्यारे, उहाँहरु अरु पार्टीको नेता हो । मेरो स्वभाव हिजो जे थियो, आज पनि त्यही हो । भोलि पनि यही स्वाभाव रहन्छ ।

मैले कुनै पार्टीका कुनै नेताप्रति असहिष्णु हुनुपर्ने, दुःखमनाऊ गर्नुपर्ने कुनै कारण छैन । खाली म उहाँहरुले देशलाई राम्रोसँग सम्हालेर हिँडेको देख्न चाहन्छु । शान्ति प्रक्रिया राम्ररी टुंगियोस् । संविधानको सही कार्यान्वयन भएर अगाडि जाओस् । देश विकास र समृृद्धिको बाटोमा अगाडि बढोस् । सबै साथीहरुलाई मेरो शुभकामना छ बधाइका साथमा । राजेन्द्र लिङदेनजी र प्रदेशमा जित्ने दुईवटा साथीहरुलाई मैले लिखित वक्तव्य नै दिएर बधाइ दिइसकेको छु । शुभकामना दिएको छु ।

लोकतन्त्रवादीहरु परिणामलाई सहजै स्वीकार्छन् । त्यसैले हामी परिणामप्रति असहज हुँदैनौं । परिणामलाई असहज मान्ने हो भने त निर्वाचनमा जानै हुँदैन ।

जस्तो- म यहाँहरुलाई बताउँछु, पहिलो संविधानसभाको निर्वाचनमा जितेर आइसकेपछि प्रचण्डजी अहिलेको ओलीजीभन्दा ज्यादा तात्नुभएको थियो । अहिले ओलीजी किन तात्नुभएको हो, तातिराख्नुभएको छ उहाँ ।

दोस्रो संविधानसभामा हारिसकेपछि प्रचण्डजी फेरि निराश हुनुभो । हामीलाई निकै समय लाग्यो, उहाँलाई संसदमा लिएर जानका लागि । हामीले एगि्रमेन्ट गरेरै लिएर गयौं उहाँलाई । तर, नेपाली कांग्रेस त्यस्तो चरित्रको पार्टी होइन । हामीले हारजितलाई सहज ढंगले ग्रहण गर्छौं । र, संविधानभित्रबाट, कानूनभित्रबाट देश अघि बढोस् भन्ने चाहन्छौं । आज यही शुभकामना छ जित्ने सबै साथीहरुलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment