Comments Add Comment

राजनराजको कुटुमा कुटुले यसरी बनायो किर्तिमान

४ करोड भ्यूज छ युट्युवमा

नेपालको जनसंख्या कति छ ?  जवाफ फटाफट आउन सक्छ, २ करोड ६४ लाख बढी । अर्को प्रश्न सोधौ, ‘कुटुमा कुटु’ गीत अहिलेसम्म कति पटक हेरिएको होला ?

यसको जवाफ यसरी दिन सकिन्छ, कुल नेपालीको संख्याभन्दा झन्डै दोब्बर पटक । सोझै भनौ,  पछिल्लो जनगणनालाई आधार मानेर हेर्दा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख बढी छ । यस हिसावले हरेक नेपालीले दुई पटक यो गीतको म्युजिक भिडियो हेर्दा जति संख्या पुग्छ, करिब त्यती नै पुगेको छ ‘कुटुमा कुटुको’ भ्युज ।

राजनराज सिवाकोटीले लेखेको, धुन भरेको र स्वरवद्ध गरेको यो गीतलाई अहिलेसम्म युट्युवमा चार करोड २ लाख बढी पटक हेरिएको छ । यसअघि नेपालको कुनैपनि गीतको भिडियोले युट्युमा यति धेरै भ्युज बटुलेको छैन । यस हिसावले नेपाली दृश्य संगीतमा यो नयाँ रेकर्ड हो ।

सबैको मुखमा झुन्डिएको गीत बिहे, भोज, पिकनिक, डान्स पार्टी जताततै गुञ्जिने गर्छ । यो गीत फिल्म ‘दुई रुपैयाँ’मा समावेश गरिएको छ । गीतमा निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई फिचरिङ गराइएको छ । सबैलाई थाहै छ, गीतमा कम्मर मर्काउने यी जोडी वास्तविक जीवनमा पनि पति-पत्नी हुन् ।

कुटुमा कुटु गीतको भिडियोलाई हाइलाइट नेपालले २०१७ मे महिनाको २८ मा अपलोड गरेको हो ।

यस भिडियोलाई टक्कर दिने अर्को भिडियो छैन । राजनराजकै दुई गीत, पूर्व पश्चिम रेल र सूर्के थैली २ करोड बढी पटक हेरिएको छ ।

कसरी फुरेको थियो यो गीत ?

‘कुुटुमा कुटु सुपारी दाना’ गीत खासमा फिल्मका लागि रचना गरिएको थिएन । यसका सर्जक राजनराज शिवाकोटीले अनलाइखबरसँग कुराकानी गर्दै यो गीत कसरी जन्मियो भन्ने सन्दर्भ सुनाएका थिए ।

राजनराजका अनुसार उनलाई यो गीत आफ्नै गाउँ (दोलखाको डाँडागाउँ)मा फुरेको थियो । त्यसबेला उनी घरमाथिको जंगलमा थिए । मौवाको रुखको फेंदमा । हिँउदको महिना, अहिले जस्तै । चिसो थियो । पात झरेर रुख नाङ्गिदै थियो । चराहरु चिर्बिर-चिर्बिर कराइरहेको थियो । उनलाई ‘कुटुमा कुटु’को पंक्ति त्यही फुर्‍यो ।

गीतमा प्रयोग भएको कालीनाग, डाँडापारीको सुन्तला, कालो दाँत सबैको शब्दभण्डार उनको गाउँ र त्यहाँको वातावरणवाट पैंचो लिए । घर भन्दा केहि पर कुलदेउताको थान थियो, अर्थात कालिनाग । सुन्तला पनि आफ्नै बारीमा थियो ।

चौतारोमा भारी बिसाएर अंगेरीको पातमा सूती बनाउँदै खाइरहेको एक हुल मान्छे हाँस्दा देखिने कालो दाँत देखेर उनले ‘खैनी चुरोट’को प्रसंग जोडे । यसरी गीतको प्याकेज तयार भयो ।

हिट पछि हिट

नेपाली चलचित्र संगीतमा चर्चितका कोटीमा पर्छन् राजनराज । उनका गीतमा समावेस गरिने सरल शब्द र लोकलयमा आधारित संगीतकै कारण उनको संगीतमा रमाउने दर्शकहरु बढेका छन् । उनकै संगीत रहेको सुर्के थैली खै, पूर्व पश्चिम रेल लगायतका गीतलाई युट्युबमा करोड दर्शकले हेरिसकेका छन् ।

सबै भन्दा पहिला करोड दर्शक बनाउन सफल वडा नम्बर ६ को सुर्के थैली खै बोलको गीत अहिलेसम्म दुई करोड २३ लाख दर्शकले हेरेका छन् भने छक्का पञ्जाको पूर्व पश्चिम रेल दुइ करोड १७ लाख दर्शकले हेरेका छन् ।

चलचित्र कान्छीको चरी चट्ट परि…पनि दर्शकलाई मन परेको गीतको सूचीमा दर्ता भएको छ । डेढ महिना अघि युट्युबमा राखिएको उक्त गीतलाई ६० लाख दर्शकले हेरेका छन् । चलचित्र ‘कमलीको बिहे’ टाक्कन टुक्कन…बोलको गीत पनि ४७ लाख बढी दर्शकले हेरिसकेका छन् । यो सब हुनुको कारण दर्शकको आफुप्रतिको सद्भाव हो भन्ने लाग्छ उनलाई । ‘मेरा गीत हिट हुनुको श्रेय म मेरा दर्शक स्रोतालाई दिन चाहन्छु ।’ उनले भने ।

बारम्बार बिथोलिएको राजनराजको सपना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment