Comments Add Comment

बारम्बार बिथोलिएको राजनराजको सपना

सानो छँदा राजनराज सिवाकोटीले एक रात अनौठो सपना देखे । सपनामा उनी कतै जंगलतिर हिँडिरहेका थिए । हिँड्दा-हिँड्दै बाटोमा ५० हजार रुपैयाँको बिटो फेला पारे । त्यो टिप्न हात लम्काएकै बेला उनी झल्याँस्स ब्युँझिए ।

दोस्रो रात त्यही सपना दोहोरियो । पैसाको बिटो समात्न नपाउँदै सपना भंग भयो । फुच्चे राजनराजले अठोट गरे- तेस्रो दिन पनि त्यस्तै सपना देखें भने पैसा नटिपी छाड्दिनँ ।

तेस्रो दिन पनि उसैगरी बाटोमा पैसा भेटेको सपना देखे । सपनामै उनलाई लाग्यो, मैले सपना देखिरहेको छु ।

‘अबचाहिँ पैसा नटिपी छाड्दिन भन्ने सोचें,’ उनी सम्झिन्छन्, ‘पैसामा हात लम्कियो, पैसा च्याप्प समातें । तर, झल्याँस्स ब्युँझिएँ ।’

यसो उठेर हेर्दा, उनी आफ्नै तिघ्रा पो चिमोटिरहेका रहेछन् ।

सपनामा पैसाको बिटो देखेका संगीतकार सिवाकोटी अचेल विपनामै ‘कुटुमा कुटु सुपारी दाना’ चपाउँदै नाम र दामले भरिएको ‘सुर्के थैली’ बोकेर हिँड्न थालेका छन् ।
अहिलेका व्यस्त संगीतकार, गायक तथा रचनाकारको पहिचान बनाएका सिवाकोटीका गीतले एकपछि अर्को ‘रेकर्ड’ कायम गर्दैछन् ।

उनले संगीत भरेका र गाएका गीतहरु युट्युबमा ‘करोड’बाट छलाङ लगाएर ‘दुई करोड क्लब’मा पुगिसकेका छन् । लामो समयको ग्यापपछि नेपाली लोकभाकालाई चलचित्र संगीतको ‘टे्रन्ड’ बनाउन उनी सफल देखिन्छन् । त्यसैले त ‘प्लस टु’ पुस्तादेखि बुढाबुढीसम्मको जिब्रोमा उनकै गीत झुण्डिएका हुन्छन् ।

सपनामा पैसाको बिटो देखेका संगीतकार सिवाकोटी अचेल विपनामै ‘कुटुमा कुटु सुपारी दाना’ चपाउँदै नाम र दामले भरिएको ‘सुर्के थैली’ बोकेर हिँड्न थालेका छन् ।

‘यो सबै भगवानको कृपा हो,’ सिवाकोटी भन्छन्, ‘वास्तवमा मैले केही गरेकै होइन, सबै भगवानले, परमात्माले खटाएका हुन् । म त एउटा माध्यम मात्र हुँ ।’

आफ्नो कलालाई उनी ‘गड गिफ्ट’ नै मान्छन् । शायद यही विश्वासले होला, उनमा दम्भ र अहंकार छैन । विनम्र, सरल र सहज छन् ।

पूजापछि साधना

राजनराज आस्तिक हुन् । उनी अलौकिक शक्तिमा विश्वास गर्छन् । धर्मकर्ममा लगाव भएकाले पूजापाठ गर्छन् । ब्रत बस्छन् । हातमा पाथीभरा माता अंकित बाला पनि लगाएका छन् ।

उनको दैनिकी पूजापाठबाट सुरु हुन्छ । नुहाएर सफा-सुग्घर भएपछि उनी पूजामा बस्छन् । शान्त चित्तले नियमित पूजा गर्छन्, त्यो पनि विधिपूर्वक । १५ मिनेट उनलाई जस्तै धपेडीले पनि छुँदैन । १२ वर्षदेखिको यो क्रम टुटेको छैन ।

‘मलाई आफ्नै तरिकाले पूजा गर्नुपर्छ,’ उनी भन्छन् ।

पूजा सकिएपछि उनी अर्को कोठामा जान्छन् र संगीत साधना गर्न थाल्छन् । कहिले सरगम, अलंकार, राग र आलापको अभ्यास गरिरहेका हुन्छन्, कहिले वाद्ययन्त्रसँग खेल्दै धुन खोजिरहेका हुन्छन् या शब्द उनिरहेका हुन्छन् । ६ वा ७ बजेबाट सुरु हुने यो क्रम ९ बजेसम्म जारी रहन्छ । यसबीचमै हो, ‘सूर्के थैली’ देखि ‘सुपारी दाना’सम्म फुर्ने ।

फेबरेट : गुन्द्रुकको झोल

राजनराजले गजबको शरीर पाएका छन् । उनको शरीरले विलासी जीवनशैली, तामसी भोजन माग्दैन । सादा दालभात भए पुग्छ । त्यो पनि एकदमै नियन्त्रित । एक पटक पस्किएको खानाले उनको मन अघाउँछ । फेरि थप्नुपर्दैन ।

उनलाई मनपर्ने चाहीँ आलु तामाको तरकारी र गुन्दु्रकको झोल हो । कहिलेकाहीं उनी गुन्द्रुक र ढिँडोले स्वाद फेर्छन् । गुन्द्रुक भएको बेला अचार चाहिँदैन । अन्य बेला ताजा गोलभेंडा या मुलाको अचार भए हुन्छ ।

‘गुन्द्रुकको झोल भएपछि मन तृप्त हुन्छ,’ उनी भन्छन्, ‘श्रीमतीले भटमास हालेर बनाएको गुन्दु्रकको झोल साह्रै मीठो बनाउँछिन् ।’

पत्नी कविताले केही न केही स्वादिलो खानेकुरा बनाएकै हुन्छिन् । घरको खाना खाएपछि उनलाई पुग्छ । मःम, चाउमिन, पिज्जा, बर्गर, थुक्पा केहीले पनि उनको जिब्रो लोभ्याउँदैन ।

‘बाहिरको खानेकुरामा कहिल्यै तलतल लाग्दैन,’ उनी भन्छन्, ‘पानी वा चिया पिउन पाए पुग्छ ।’

बिहान घरबाट खाना खाएर निस्किएका उनी राति घर पुगेर मात्र खान्छन् ।

भात धेरै नहोस्

खानामा उनी एकदम सन्तोषी छन् । यो नमिठो, त्यो नमिठो भन्ने छैन । जस्तो पाक्छ, प्रसन्न चित्तले स्वाद मानीमानी खान्छन् । माछा-मासु नखाने होइनन् तर त्यसमा खासै आशक्ति छैन । छोरीहरुले पनि मासुमा रुची राख्दैनन् ।

कहिलेकाहीं उनलाई पकाउने मुड चल्छ र भान्सामा छिर्छन् । भान्सामा उनलाई मासु पकाउन जाँगर चल्छ, ढंग नपुगे पनि । सधैं त होइन, यदाकदाचाहिँ उनलाई पकाउने झोंक चल्छ ।

राजनराजको बानी छ, एकदमै नियन्त्रित खाना खाने । जब उनको थालमा ‘कोटा’ भन्दा बढी भात हुन्छ, रिसको पारो चढ्छ ।

‘मैले खाने कोटाभन्दा बढी भात देखें भने साह्रै रिस उठ्छ,’ उनी भन्छन् ।

कहिलेकाहीं पत्नीले भोकाएका होलान् भनेर धेरै भात पस्किइन् होला । तर, अहिले सबै अभ्यस्त छन्, राजनराजको खान्कीबारे ।

कहिलेकाहीं उनलाई पकाउने मुड चल्छ र भान्सामा छिर्छन् । भान्सामा उनलाई मासु पकाउन जाँगर चल्छ, ढंग नपुगे पनि । सधैं त होइन, यदाकदाचाहिँ उनलाई पकाउने झोंक चल्छ ।

‘खै के खुशीमा हुन्छु, पकाउने जोस चल्छ,’ उनी भन्छन्, ‘मैले त्यसो गर्दा श्रीमतीलाई कुनै आश्चर्य लाग्दैन । मैले उनलाई सहयोग गरेको या पकाएर ख्वाउन लागेको भन्ने उनी ठान्दिनन् ।’

छोरीहरुलाई कथा

कहिले रेकर्डिङ त कहिले भेटघाटले उनलाई दिनभर बेफुर्सदिलो बनाउँछ । सबै काम भ्याएर घर र्फकंदा रातको ८-९ बजेको हुन्छ । घर पुगेपछि प|mेस हुन्छन्, भान्सामा पस्छन् । र, आफैं पस्किएर खान्छन् । उही दालभात, तरकारी र अचार । खाना खाइसकेपछि एकछिन मनोरञ्जनमा भुलिन्छन् ।

राति छोरीहरु जागै हुन्छन् । नौ र सात वर्षकी दुई छोरीलाई सुताउने जिम्मा उनकै छ । हरेक रात उनीहरुलाई कथा भन्नैपर्छ, आफैं कथेर । उनी प्रोत्साहित गर्ने, उत्साह जगाउने खालका कथा सुनाउँछन् ।

‘समाज सेवा गर्नुपर्छ, संघर्ष गर्नुपर्छ भन्ने खालको कथा बुनेर सुनाउँछु,’ उनी भन्छन्, ‘डरलाग्दो भूतको वा निरास हुने खालको कथा सुनाउँदिनँ । अब त आफ्नो स्मरणमा भएको कथा पनि सकिइसक्यो ।’

‘गड गिफ्टेड’ निद्रा

कला र गला मात्र होइन, उनलाई धेरै कुरा ईश्वरकै वरदान लाग्छ । जस्तो कि निन्द्रा ।

शहरियाहरुको निद्रा दुर्लभ बन्दै गएको छ । दिनभरको धपेडी, प्रतिस्पर्धा, पैसा, करिअर, पारिवारिक दायित्व आदि कारण धेरैको निद्रा बिथोलिएको छ । त्यही कारण ‘स्लिपिङ ट्याब्लेट’ नचपाई ओछ्यानमा नपस्नेहरु बग्रेल्ती छन् ।

राजनराज भाग्यमानी हुन् ।

‘ओछ्यानमा पल्टिएपछि छोरोलाई निन्द्राले झ्वाप्प छोप्छ,’ उनी ठट्यौली शैलीमा भन्छन्, ‘निदाएपछि एकैचोटी बिहान मात्र आँखा खुल्ने हो ।’

उनको अनौठो बानी के छ भने ओछ्यानमा ढल्कनासाथ निदाइहाल्ने । न मनमा कुरा खेल्छ, न आँखा लोलाउँछ । शानदार निन्द्रा ।

सुतेपछिको तनावचाहिँ, सपना हो रे ।

‘कहिले आँधिबेहेरी आएको, कहिले भीरको टुप्पोमा पुगेको सपना देख्छु । आजित हुन्छु । अब म बच्ने ठाउँ छैन भन्ने लाग्छ,’ भन्छन्, ‘तर, त्यति नै बेला अर्को मनले आखिर यो सपना त हो नि, हामफाल्छु भन्छ ।’

चिटिक्क हुनुपर्‍या’छ

पटक्कै भड्किलो छैन, राजनराजको जीवनशैली । खानपान मात्र होइन, पहिरनमा पनि उनको कुनै रोजाइ छैन । न ग्याजेट्समा आशक्ति छ, न त गरगहनामा ।

‘मलाई यस्तो मोबाइल, यस्तो घडी वा चस्मा चाहिन्छ भन्ने छैन,’ उनी भन्छन्, ‘गरगहनामा त पटक्कै रुचि छैन ।’

बाहिर कतै निस्कन परे उनी झटपट तयार हुन्छन् । केश मिलाउने, क्रिम दल्ने, लुगा छनोट गर्नेमा समय खेर फाल्दैनन् । बस्, एकसरो लगाउन पाए पुग्छ । तर, अचेल पहिरनमा अलि ख्याल गर्नुपर्ने महसुस उनलाई हुन थालेको छ ।

‘कहिलेकाहीं सार्वजनिक कार्यक्रममा सहभागी हुनुपर्छ । कहिले अन्तरवार्तामा त कहिले साथीभाइको जमघटमा,’ उनी थप्छन्, ‘आफूले लगाएको पहिरनले अरुलाई लज्जित पार्नु भएन नि, त्यही कारण अचेल अलि चिटिक्क हुनुपर्‍या’छ ।’

बाइक अट्याचमेन्ट

चाहँदा उनी कार चढ्न सक्छन् । तर, होन्डाको साइन बाइक उनको रोजाइमा पर्छ । त्यो बाइकसँग उनको भावनात्मक सम्बन्ध छ अर्थात् अट्याचमेन्ट ।

यो उनको अति पि्रय बाइक हो । उनले धेरैपटक परिवर्तन गर्न चाहे तर सकेनन् । किनभने, यो बाइक उनले त्यहीबेला खरिद गरे, जतिबेला जेठी छोरी जन्मिइन् । छोरी जन्मिएसँगै किनेको बाइक भएकाले उनलाई त्यो बाइक पनि छोरीजस्तै लाग्छ ।

चाहँदा उनी कार चढ्न सक्छन् । तर, होन्डाको साइन बाइक उनको रोजाइमा पर्छ । त्यो बाइकसँग उनको भावनात्मक सम्बन्ध छ अर्थात् अट्याचमेन्ट ।

साइन बाइक चढेको नौ वर्ष भयो । त्यसैलाई जसरी हुन्छ स्याहारेर चलाइरहेका छन् । अरुभन्दा पाँच सय किलोमिटर अगाडि नै मोबिल हाल्छन् ।

‘खै ननलिभिङ थिङ्स भएर पनि मलाई त्यससँग अट्याचमेन्ट छ,’ राजनराज भन्छन्, ‘साइत छ, संगत छ ।’

राजनराजको एक दिन

बिहान ५ बजेः ओछ्यानबाट उठ्ने । उठेपछि ३-४ गिलास मनतातो पानी पिउने ।
बिहान ५:३०: पूजापाठ गर्ने । करिब १५ मिनेट ।
बिहान ६ : कालो चिया पिउने
बिहान ६:३०: संगीत साधना गर्ने । साधनाबाट आफ्नो मुड नउत्रिएसम्म नउठ्ने ।
बिहान ९ : खाना खाने, खानामा दाल, भात, तरकारी, अचार । गुन्द्रुकको झोल पि्रय ।
बिहान ९:३० : घरबाहिर काममा निस्कने । मोटरसाइकलमा चढेर घरबाट निस्केपछि दिनभर रेकर्डिङ, भेटघाट, अन्तरवार्ता आदिमा व्यस्त ।
राति ८/९ बजे : घर फर्किने ।
राति ९:३०: खाना खाने । रातको खाना पनि सादा ।
राति १० बजे: सुत्ने । सुत्नुअघि छोरीहरुलाई कथा सुनाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment