Comments Add Comment

नौ महिना पछाडि धकेलियो नेप्सेः व्याजदर बढेको बैंकहरुको एसएमएस

सेयर कर्जामा कडाइको प्रभाव बजारमा

११ पुस, काठमाडौं । सेयर बजार परिसूचक एकै दिन २० दशमलव ६४ अंकले घटेर मंगलबार नौ महिना पछाडिको अवस्थामा धकेलिएको छ ।

यो अवस्था चैत ०७३ मा देखिएको थियो । त्यतिबेला बजार परिसूचक १४४६ मा थियो । मंगलबार पनि १४४७ विन्दुमा आइपुगेको छ ।

घट्दो क्रममा देखिएको बजारलाई बैंकिङ क्षेत्रमा देखिन थालेको पुँजी अभावले सबैभन्दा बढी प्रभाव पारेको छ ।

‘कर्जा सीमा बाँकी रहँदा रहँदै पनि हामीलाई पहिले खबर गरेर मात्र पैसा झिक्न बैंकहरुले आग्रह गर्न थालेका छन्,’ सेयर विश्लेषक प्रकाश तिवारीले भने ।

अहिले नै साना लगानीकर्तालाई बैंकहरुले एसएमएसमार्फत् शुन्य दशमलव पाँच प्रतिशतसम्म कर्जाको व्याजदर बढाएको खबर पठाइरहेका छन् ।

‘सीमान्तदरमा व्याज बढाएका भए पनि एक प्रतिशतभन्दा माथि लान सक्छौं भन्ने आशयका पूर्व जानकारी बैंकहरुले दिइरहेका छन्,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने । अहिले बजारमा जति पुँजी अभावको हल्ला चलाइएको छ, वास्तविकता त्यसभन्दा कम रहेको उनको बुझाइ छ ।

केही समयअघि मात्रै सेयर धितोमा प्रवाह भएको कर्जाको व्याजदर १२ प्रतिशतबाट घटाएर १० दशमलव पाँच प्रतिशतमा सीमित गरेका थिए, बैंकहरुले । अहिले यो दर पुनः १३/१४ प्रतिशत हाराहारीमा पुर्‍याएको विश्लेषक तिवारीको भनाइ छ ।

घट्दो क्रममा देखिएको बजारमा बैंकिङ क्षेत्रको पुँजी अभावको मुख्य प्रभाव

एनसेलले लाभांशका रुपमा २५ अर्ब रुपैयाँ विदेश लैजान लाग्दा बैंकिङ क्षेत्रमा देखिन थालेको पुँजी अभाव थप गहिरिने विश्लेषणहरु आएका छन् । देशको शोधानान्तर बचत नकारात्मक हुने सम्भावना पनि यसले बढाएको छ । यिनै कारण बजार दोहोरो अंकले घट्न पुगेको हो ।

बजार घट्दा लगानी भने बढेको छ । तुलनात्मक रुपमा केही सस्तो दरमा सेयर पाउन थालेपछि बजारमा लगानी बढेको हो । तर पनि, लगानीमा भएको वृद्धिले बजारलाई भने सुधारको बाटोमा लान सकेन । मंगलबार कुल ५४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड र टेलिकममा झुम्मिए लगानीकर्ता

मंगलबारको बजारमा स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल टेलिकमको सेयरमा लगानीकर्ताहरु आकर्षित् भएका थिए ।

टेलिकमले प्रस्ताव गरेको ५५ प्रतिशत नगद लाभांश प्राप्त गर्ने अन्तिम दिन भएकाले पनि कारोबारमा तीव्रता आएको हो ।

कारोबारको मध्यसम्म कम्पनीको सेयर मूल्य घटे पनि अन्त्यमा सात रुपैयाँसम्मको वृद्धि देखियो । कम्पनीले १२ पुसदेखि ‘बुक क्लोज’ हुने उल्लेख गरेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले घोषणा गरेको शतप्रतिशत बोनस सेयर र पाँच दशमलव २६ प्रतिशत नगद लाभांश प्राप्त गर्ने अन्तिम दिन नजिकिँदै गर्दा कारोबार बढेको हो । उक्त बैंकको मात्रै आठ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न १५ पुससम्म सेयर स्वामित्व भएको हुनुपर्छ ।

बजार घटेसँगै लगानीकर्ताको सम्पत्तीको मूल्य पनि ह्रास भएको छ । सेयरको हालको मूल्यअनुसार कायम हुने कुल बजार पुँजीकरण १७ खर्बबाट घटेर १६ खर्ब १८ अर्बमा सीमित भएको छ ।

मंगलबार माहुली सामुदायिक संस्थाको सेयर मूल्यमा ‘सर्किट ब्रेक’ नै लाग्यो । कम्पनीहरुको मूल्य १० प्रतिशतले घटबढ हुँदा सर्किट ब्रेक लाग्छ ।

तर, त्यसपछि पनि कारोबार रोकिँदैन । लगानीकर्ताले चाहेमा मूल्य घटेर पुनः कारोबार गर्न सक्छन् । हालै ५० प्रतिशत बोनस सेयर दिएको कम्पनीले हकप्रद सेयर दिनेसमेत घोषणा गरेकाले मूल्यमा वृद्धि भएको हो । हकप्रद प्रस्ताव साधारण सभाले पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment