Comments Add Comment

घाइते लडाकूको जोखिमपूर्ण काठमाडौं यात्रा !

माअोवादीमा त्याग गर्ने कोही 'महिला कामरेड' छ ?

 

११ पुस, काठमाडौं । मोरङको केराबारी गाउँपालिका- ९ देवीझोडा निवासी रामबहादुर कार्कीको कम्मरमुनिको भाग चल्दैन । दुबै गोडा लुला छन् । बसेको ठाउँबाट यताउता गर्दा उनी बैशाखीको सहारा लिन्छन् । अलि टाढा जानुपर्‍यो भने उनी अपाङ्गता भएको व्यक्तिले प्रयोग गर्ने स्कुटीको सहारा लिन्छन् ।

आफ्नो आधा चलायमान गर्न मुस्किल पर्ने अपाङ्गता भएका यी व्यक्तिले केही दिनअघि स्कुटी चढेर बिराटनगरबाट काठमाडौंसम्मको यात्रा गर्ने दुस्साहस गरे । परिवारजन र साथीभाइले उनलाई यस्तो जोखिमपूर्ण यात्रा नगर्न र बस वा प्लेन चढेर काठमाडौं जान सुझाव दिए । तर, उनले मानेनन् । स्कुटीमा दुईवटा बैशाखी सिउरिएर उनी बिराटनगरबाट ‘लङ मार्च’ मा निस्किए । साथमा बैशाखीबाहेक उनका कोही सहयोगी थिएनन् ।

शरीर सद्दे भएको मान्छेका लागि बिराटनगरबाट स्कुटरमा काठमाडौं आउनु निकै जोखिमपूर्ण र कष्टप्रद मानिन्छ । तर, मनले आँट्ने हो भने अपाङ्गता भएकै व्यक्ति पनि यस्तो चुनौतीको सामना गर्न सक्छन् भन्ने कार्कीले व्यवहारबाटै देखाए ।

सम्भवतः यसरी आफैं स्कुटर चलाएर बिराटनगर-काठमाडौं यात्रा गर्ने उनी पहिलो अपाङ्गता भएका व्यक्ति हुन् । उनी अहिले काठमाडौंमै छन् । र, स्कुटरमै चढेर बिराटनगर फर्कने तयारीमा छन् ।

‘मलाई बिराटनगरबाट काठमाडौं आइपुग्न १२ घण्टा लाग्यो, साथमा अलिकति पेट्रोल पनि बोकेको थिएँ, तर ठाउँठाउँमा पेट्रोलपम्पहरु रहेछन्,’ कार्कीले अनलाइनखबरसँग भने, ‘जम्मा १४ लिटर तेल खर्च गर्दा राजधानी छिरियो ।’

विगतमा बस चढेर काठमाडौं आउँदा बाटोमा सजिलै भए पनि राजधानीमा आइसकेपछि धेरै दुःख पाउने गरेको उनले सुनाए । ‘बस वा प्लेन चढेर काठमाडौं आउन त सजिलो हुन्छ, तर, हामीजस्तो अपांगता भएको व्यक्तिलाई राजधानीमा आवत-जावत गर्ने साधन नहुँदा साहै्र दुःख हुन्छ,’ कार्की भन्छन्- ‘कतै जानुपर्दा ट्याक्सीमा धेरै खर्च लाग्छ, ट्याक्सी भएको ठाउँसम्म हिँड्न अर्को महाभारत हुन्छ ।’

बिराटनगरबाट ल्याएको स्कुटी चढेर कहिले ललितपुर त कहिले काठमाडौं डुुलिरहेका कार्कीले भने, ‘यसपालि साह्रै सजिलो भयो, आफूले चाहेको ठाउँमा जान पाइएको छ, ट्याक्सी भाडा पनि खर्च गर्नुपरेको छैन ।’

तर, काठमाडौंको सडकमा नयाँ रुट थाहा पाउन थोरै समस्या परेको र कुन सडक एकतर्फी हो भनेर चिन्न मुस्किल परेको कार्कीको अनुभव छ ।

अरुलाई जिताए, आफ्नै टुंगो छैन

अपाङ्गता भएका व्यक्तिहरुको संस्थामा समेत कार्यरत कार्की संस्थाको पूर्वाञ्चल क्षेत्रीय संयोजक पनि हुन् । साथै उनी १ नम्बर प्रदेशबाट प्रदेश सभाका समानुपातिकतर्फका उम्मेदवार हुन् । पूर्वलडाकू उनी माओवादी केन्द्रका मोरङ जिल्ला कमिटीका नेता हुन् ।

गत आम निर्वाचनमा कार्कीले बैशाखी टेकेरै मोरङ क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार घनश्याम खतिवडालाई जिताउन सक्रियता देखाए । रोचक के छ भने एमाले उम्मेदवार खतिवडा माओवादीका पूर्वलडाकू कार्कीका गुरुसमेत हुन्, जसले विद्यालयमा केही समय कार्कीलाई पढाएका थिए । वाम गठबन्धनले गुरुचेलालाई एकै ठाउँ बनाइदियो ।

एमाले नेता खतिवडासँगै मोरङ १ बाट वाम गठबन्धनका सेटै उम्मदेवारलाई जिताएपछि कार्की माओवादी हेडक्वार्टरमा आफ्ना नेताहरुसँग भेट गर्न स्कुटी चढेर जोखिम मोल्दै राजधानी आएका हुन् । विगतमा सोही क्षेत्रबाट माओवादीका गोपी अछामीलाई जिताउन खटिएका कार्की यसपालि चाहिँ आफ्नो समेत स्वार्थ लिएर राजधानी छिरेका छन् ।

केराबारी गाउँपालिकामा कांग्रेस र अन्य दलका मतदाताले पनि अपाङता भएका व्यक्तिलाई भोट दिने भन्दै माओवादीलाई मतदान गरेका थिए । आफ्नो गाउँमा मात्रै कार्कीले माओवादीलाई समानुपातिकतर्फ ३ हजार मत झारेका थिए । तर, आफू महिला नहुनुको मार उनीमाथि पनि पर्ने अवस्था देखिएको छ ।

किनभने, एक नम्बर प्रदेशसभामा माओवादीले प्रत्यक्षतर्फ १० सिट जितेको छ भने समानुपातिकतर्फ ५ सिट मात्रै पाएको छ । यी पाँच सिटमा महिलामात्रै पर्ने अवस्था भएकाले कार्की समानुपातिक सिटमा पर्ने सम्भावना लगभग सकिएको छ ।

अहिले प्रदेश १ मा एकजना पनि अपाङ्गता भएको व्यक्तिको उपस्थिति नहुने अवस्था छ । त्यसैले प्रदेशसभामा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै आफूहरु संस्थागतरुपमा निर्वाचन आयोगमा डेलिगेसन जाने तयारीमा रहेको कार्कीले अनलाइनखबरलाई बताए ।

प्रदेशमा नभए राष्ट्रिय सभा

कार्कीले प्रदेशसभामा आफूले नपाए राष्ट्रियसभामा रहेको अपाङ्गको कोटामा चुनाव लड्ने तयारी गरेका छन् । उनी भन्छन्- ‘प्रदेशसभामा अपाङ्गको प्रतिनिधित्व हुन सकेन भने म एक नम्बर प्रदेशबाट राष्ट्रिय सभाका लागि लड्ने तयारीमा छु । मलाई वाम गठबन्धनले यसमा साथ दिन्छ भन्ने विश्वास छ ।’

संविधानअनुसार राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट एक/एकजना अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकबाट अनिवार्य प्रतिनिधित्व गराउनुपर्ने प्रावधान छ । यसोगर्दा राष्ट्रियसभामा बढीमा ८ जना अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व हुन सक्छ ।

बैशाखीसहित कार्कीले काठमाडौंमा लेखराज भट्ट, वर्षमान पुनलगायतका नेताहरुलाई भेटेका छन् । उनले पेरिसडाँडास्थित पार्टी मुख्यालय अगाडि तस्वीर खिचाएका छन् ।

कार्कीले आफूलाई माओवादीले प्रदेशसभा या राष्ट्रिय सभामा लैजानुपर्ने लविङ गर्नुका पछाडि केही कारण छन्, जुन उनको हक अन्तरगत पर्छ ।

गणतन्त्रका लागि लड्दा जिउमा छर्रा

कार्की ०५९/०६० सालसम्म तन्दुरुस्त थिए, जतिबेला उनी सुकुना क्याम्पस मोरङमा आइए पढ्दै थिए । त्यसपछि उनी अखिल क्रान्तिकारीमा लागे । र, माओवादी जनसेनाको प्लाटुनमा भर्ना भए ।

पाँचथरको गोपेटारमा भएको लडाइँमा उनलाई ग्रिनेटको छर्राले लाग्यो । घाइते बनेका कार्कीलाई साथीहरुले नजिकैको ओढारमा छाडेर भागे । त्यसरी भागेको टोली तेह्रथुमको संक्रान्तिमा सेनाको घेराउमा पर्‍यो र सबैजना मारिए ।

कार्कीलाई स्थानीय व्यक्तिले ओढारमा भेटेर घरमा लगे । दिसापिसाव गर्न समेत चलमल गर्न नसक्ने अवस्थामा उनलाई केही महिना स्थानीय व्यक्तिले स्याहार गरेर राखे । त्यसपछि उनी परिवारको सम्पर्कमा आए । परिवारले तराईमा ल्याएर कैंयौं ठाउँमा उपचार गर्दा पनि उनको कम्मरमुनिको भाग चल्न सकेन ।

डाक्टरलाई उधृत गर्दै कार्कीले बताए अनुसार उनको मेरुदण्डमा बमको छर्रा छ । अप्रेसन गर्नका लागि त्यो छर्रा कहाँनेर छ भनेर पत्तो लगाउन एक्स रे गर्नुपर्ने हुन्छ । तर, फलामको टुक्रा त्यहाँ रहेकाले त्यसले एक्स रेलाई डिस्टर्ब गर्छ ।

कार्कीले अनलाइनखबरसँग भने- ‘मैले शान्ति प्रक्रियामा आइसकेपछि काठमाडौंमा डा. उपेन्द्र देवकोटासँग पनि परामर्श लिएँ । उहाँले मेरुदण्डको अप्रेसन गर्न त सकिएला तर यसले नसामा असर पार्‍यो भने शरीर डल्लो पर्न सक्ने जोखिम औंल्याएपछि मैले आ… होस्, बैशाखीमै हिँड्छु भनेर उपचारमा पूर्णविराम लगाएँ ।’

तर अब एकपटक फेरि नयाँ उपचार पद्दति र डाक्टर पहिल्याएर उपचार गर्न र बैशाखीविनै हिँड्न मन लागेको उनले बताए ।

आफ्नो सग्लो शरीर अपाङ्ग भए पनि उनले कहिल्यै पछुतो भने गरेका छैनन् । गणतन्त्रका लागि सैयौं साथीहरुले मृत्युवरण गरेको र कैयौंको अंगभंग भएको भन्दै उनले सन्तोष मान्ने गरेका छन् ।

र, उनलाई अझै पनि जनताको वीचमा गएर सक्रिय राजनीति नै गर्ने विचार छ ।

महिलाको माया !

जनयुद्धमा लाग्नुअघि वा लागिसकेपछि पनि कार्कीले कुनै युवतीसँग ‘लभ’ गरेनन् । तर, घाइते भइसकेपछि उनको जीवनमा एउटी यस्ती युवती आइपुगिन्, जो उनको जीवनका लागि भरपर्दो बैखाशी बनिन् । बनिरहेकी छिन् ।

मोरङमा भूमिगत अवस्थामा ओछ्यान परेर उपचार गरिरहेका कार्कीलाई भेट्न संकटकालमा जनसेनाको टोली आएको थियो । सो टोलीमा रहेकी एक लडाकू युवती यशोदा भण्डारी (मञ्जु) ले कार्कीको यो हालत देखिसकेपछि भावुक हुँदै भनिन्- ‘म उहाँलाई जीवनसाथी बनाउन र जीवनभर साथ दिन तयार छु ।’

अहिले तिनै युवतीसँग कार्कीको विहाबारी भएको छ र उनीहरुका दुई सन्तान छन् ।

माओवादी जनयुद्धमा लागेका महिलाहरुमा यति ठूलो त्याग र बलिदानीको भावना थियो । अब त्यस्तो त्याग दुर्लभ बन्दै गएको अवस्था छ ।

अब १ नम्बर प्रदेशसभामा माओवादीका ५ महिला मनोनित हुनेछन् । तर, कोही त्यस्ती महिला होलिन् ? जसले आफ्नो कोटा यी त्यागी पूर्वलडाकूका लागि छाडिदिउन् ? त्यस्तो भएमा कार्की प्रदेशसभाको सदस्य बन्न पाउने छन्, अन्यथा कुनै एक महिला ‘कामरेड’ को माया नपाए, उनी फेरि अरुलाई नै जिताइदिने, अरुलाई नै सत्तामा पुर्‍याइरहने बैशाखी बन्ने लगभग निश्चित छ ।

स्कुटरमा एक अपाङ्गको काठमाडौं यात्रा जति जोखिमपूर्ण छ, त्योभन्दा बढ्ता जोखिममा अघि बढिरहेको छ उनको राजनीतिक यात्रा ।

स्मरणीय के छ भने निर्वाचनको सम्मूखमा अनलाइनखबरसँगको अन्तरवार्तामा एमाले अध्यक्ष केपी ओलीलाई हामीले नेताहरुको व्यवस्थापन कसरी गर्नुहुन्छ भनेर सोधेका थियौं । जवाफमा ओलीले अब नेताहरुको भन्दा पनि जिउमा छर्रा बोकेर हिँडेका योद्धाहरुको व्यवस्थापनमा ध्यान दिने बताएका थिए ।

शायद केपी ओलीले औंल्याएका तिनै पात्रमध्येका एक प्रतिनिधिपात्र हुन्- यी जोखिमपूर्ण यात्री रामकुमार कार्की, जसको जिन्दगीको यात्रा नै जोखिमै जोखिमले भरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment