Comments Add Comment

काठमाडौंका मुख्य सडकबाट उठाइयो १२ लाख किलो धुलो


१३ पुस, काठमाडौं । काठमाडौंका सडक र पेटी कति परिमाणमा धुलो थुप्रिएको होला ? यसको अनुमान लगाउन गाह्रो भएपनि सरकारले अभियानका रुपमा राजधानीका ‘भीआईपी’को अवागमन बढी हुने सडक धुलो बढार्दा संकलन भएको धुलो परिमाण हेर्दा ‘अत्यासलाग्दो’ देखिएको छ ।

काठमाडौं महानगरपालिका र सडक विभागले मेलम्चीले पाइप बिछ्याउने काम सकेको मुख्य-मुख्य सडकमै सफाइ गर्दा लाखौं किलो धुलो संकलन गरेका छन् । करिब १५ जनाको टोलीले दैनिक साबेल र झाडु लिएर सफाइ गर्दा करिब एक महिनाभित्रै झण्डै १२ लाख किलो धुलो संकलन भएको हो ।

यसले काठमाडौंका सडक र पेटी धुलोको कति चपेटामा छन् भन्ने प्रष्ट पारेको महानगरपालिकाले जनाएको छ । धुलाम्य सडक र पेटी सफाइका लागि दुई निकायले संयुक्त सफाइ टोली खटाएका छन् ।

अभियान थालिएको एक महिनामै झण्डै १२ सय मेट्रिक टन अर्थात् १२ लाख केजी धुलो संकलन हुनुले धुलोको मार कति परिरहेको छन्ने प्रष्ट भएको महानगरका वातावरण विभागका प्रमुख हरिबहादुर कुँवरले बताए ।

न्युरोड, रत्नपार्क र टुँडिखेल, लैनचौर, सिहंदरबार आसपास, बानेश्वर, दरबारमार्ग, महाराजगन्ज आसपासको क्षेत्रलाई धुलोमुक्त बनाउन सडक र पेटीमा धुलो सफाइको काम गरिरहेको छ । यी भीअार्इपीको बाक्लो  अावात-जावत हुने सडक हुन् ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र सडक विभागबाट परिचालित टोलीले अहिले राजधानीका मुख्य सडकमा पेटीहरुमा जमेका धुलो जम्मा गर्दै गाडीमा उठाउँदैछ ।

सकेसम्म साबेलले उठाउने र नभए बढारेर संकलन गर्ने गरी सडक सफाइ गर्न लागिएको कुँवर बताउँछन् ।

‘मेलम्चीले काम सकेका सै सडकमा हामी क्रमैसँग धुलो उठाउँछौं,’ कुँवरले भने,’ हामी अब यसलाई नियमित बनाउँछौं । अरु फोहोर मात्रै हैन, धुलो पनि बढार्न नियमित रुपमा जनशक्ति परिचालन गर्छौं ।’

उनले कतिपय सडकमा पानी लगाएर पनि सफाइ गर्न थालिएको जानकारी पनि  दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment