१४ पुस, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको प्रक्रिया अघि बढिरहँदा दुई पार्टीका मार्गनिर्देशक सिद्धान्त के हुने भन्ने बहस सुरु भएको छ । यसैक्रममा मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) समेत बहसमा तानिएको छ ।
एमाले उपमहासचिव घनश्याम भुसालले जबज र माओवादको अध्याय सकिएको बताएका छन् भने् एमाले स्थायी कमिटी सदस्य एवं पूर्वसचिव शंकर पोखरेलले जबजलाई प्रचण्डले समेत स्वीकारिसकेको दाबी गरेका छन् ।
एमालेभित्र मदन भण्डारीले प्रतिवादन गरेको जनताको बहुदलीय जनवादका ब्याख्याताका रुपमा शंकर पोखरेललाई लिइँदै आएको छ । अर्कोतिर यसको परिमार्जन र विकासको व्याख्याताका रुपमा आठौं महाधिवेशनदेखि नै घनश्याम भुसाललाई लिने गरिएको छ ।
अब एमाले र माओवादीको पार्टी एकतापछि जबज के हुन्छ ? घनश्याम भुसालले अनलाइनखबरको अन्तरवार्तामा जबज र माओवादको अध्याय सकिएको बताएका छन् । शंकर पोखरेलले चाहिँ जबजको औचित्य झनै स्थापित भएको र प्रचण्डलेसमेत यसलाई स्वीकारीसकेको तर्क गरेका छन् ।
एमाले नेता पोखरेलले माओवादीले प्रतिपादन गरेको एक्काइसौं शताव्दीको जनवाद पनि जबजकै निकट रहेको दाबी गरेका छन् । यो दाबीमा भुसाल पनि असहमत छैनन् । भुसालको विचारमा पनि जबजको सारांश रुप नै एक्काइशौं शताब्दिको जनवाद हो ।
चुनावका बेला प्रचण्डजीले मदन भण्डारीको शव भेटिएको ठाउा -दासढुंगा) मा सम्बोधन गर्ने क्रममा ‘अब मदन भण्डारीको विचारलाई कार्यान्वयन गर्ने समय आएको छ’ भनेर भाषण गरेको सुनेको छु
अनलाइनखबरसँगको कुराकानीमा एमाले नेता शंकर पोखरेलले जबजबारे यसरी ब्याख्या गरेः
अहिलेको सफलता नै जनताको बहुदलीय जनवाद भन्नुस् वा जबजको निकटता राख्ने २१ औं शताब्दीको जनवादको सफलता हो । जनयुद्ध र जनसंघर्षहरु इतिहासका विषय भइसके । हिजो मालेले पनि झापा विद्रोह गरेकै हो । हिजो झापा विद्रोह गरेका थियौं भनेर आज लागू गर्न खोजियो भने सफल हुने थिएन । त्यसलाई छाडेका कारण नै आजको ठाउँमा आइपुगेको हो ।
माओवादीले पनि जनयुद्धबाट आफूलाई स्थापित गर्यो तर, त्यसलाई बोकेर हिँड्ने हो भने अगाडि बढ्न सक्दैन । किनकि त्यसलाई अगाडि बढाउन खोज्दा बैद्यजीहरुको हालत के भयो अथवा विप्लवजीहरुको हालत के हुँदैछ भन्ने कुरा त माओवादी नेतृत्वले बुझेकै छ ।
एउटा कालखण्डमा गरिएका कामहरुलाई अर्को कालखण्डमा बोकेर हिँड्न खोजियो भने त्यसले सहयोग पुर्याउँदैन ।
त्यसैले म भन्छु- इतिहासलाई हेक्का राख्नुपर्छ तर, इतिहासको बोझ बोकेर हिँड्ने होइन । इतिहासको भारी बोकेर ठसठस कन्दै हिँड्न खोज्ने हो भने भविश्यको नेतृत्व गर्न सकिँदैन । यो कुरा त बुझ्नुपर्छ ।
प्रचण्डजीले भनेको पनि सुनेँ कि हिजो एकताकेन्द्रलाई समाप्त पारेर माओवादी बनाएको हुँ, माओवादी समाप्त पारेर माओवादी केन्द्र बनाएको हुँ । माओवादी केन्द्र समाप्त पारेर अर्को बनाउने हो ।
इतिहासको भारी बोक्ने हो भने समाप्त पार्न सकिन्छ र ? त्यसअर्थमा यो पनि ठूलो कुरा होइन । किनभने प्रचण्ड स्वयंमले सोचिसक्नुभएको छ कि इतिहासको भारी बोकेर अब अगाडि बढ्नु उपयुक्त होइन । त्यो सोचेर नै एकताकेन्द्र, माओवादी विघटनको कुरा सम्झना गर्नुभएको छ ।
आजको सन्दर्भमा एउटा सक्षम र प्रभावकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने कुरा, त्यसको आधार जनताको बहुदलीय जनवादमै छ, २१औं शताब्दीको जनवादमा छ । र, यी दुईवटा मान्यताहरुका बीचमा तात्विक अन्तर छैन ।
२१ औं शताब्दीको जनवाद निर्माणमा पनि जनताको बहुदलीय जनवादको महत्वपूर्ण योगदान छ, यो माओवादी नेतृत्व आफैंले महसुस गरेको कुरा हो ।
तपाईलाई के बताउँ कि चुनावका बेला प्रचण्डजीले मदन भण्डारीको शव भेटिएको ठाउँ (दासढुंगा) मा सम्बोधन गर्ने क्रममा ‘अब मदन भण्डारीको विचारलाई कार्यान्वयन गर्ने समय आएको छ’ भनेर भाषण गरेको सुनेको छु । त्यसअर्थमा नेतृत्व एउटा समान सोचमा पुगिसकेको छ, के होला भनेर अनेक तर्कना गर्नुको अर्थ छैन ।
केपी ओली र प्रचण्ड समान सोचमा मुलुकलाई लिड गर्ने मनस्थितिमा पुगेरै एकता आरम्भ भएको छ र यो यसरी नै सफल हुन्छ ।
प्रतिक्रिया 4