Comments Add Comment

भुसाल कमरेड, आफ्नै च्याप्टर क्लोज नगरौँ है !

 

१. अध्ययनको सीमा र आग्रहको घेराबन्दी

अनलाइनखबरमा एमाले पार्टी उपमहासचिव घनश्याम भुसालले जबज र माओवादको च्याप्टर क्लोज भएको एक अन्तर्वार्तामार्फत् बताए ।

माओवादी केन्द्र आफैँ सित माओवादलाई हाल पुष्टि गर्ने कार्यनीति,कार्यदिशा,संगठन आदि केही नभए पछि त्यसको च्याप्टर क्लोज भएको भन्ने बारे अरु केही बताउनुपरेन । बरु त्यस पार्टीमा एक्काइसौँ शताब्दीको जनवाद नामको जनवादी, लोकतान्त्रिक तथा प्रतिस्पर्धात्मक राजनीतिक सोच रहेको देखिन्छ तर जनताको बहुदलीय जनवादका हकमा भने च्याप्टर क्लोज भएको भन्नु भुसालको कि अध्ययनको सीमा हो कि आग्रहको घेराबन्दी हो ।

भुसालले अन्तर्वार्तामा भनेझैँ एमाले पार्टीमा एक समय भनेर खनाल र नेपाल नेतृत्वको समयमा पार्टीलाई आफ्ना इन्टरेस्ट पूरा गर्न घेराबन्दी गर्ने बन्धक बनाउने र फिरौती माग्ने जस्तो भनेर लाञ्छित गरे पनि त्यस चरित्रलाई भुसाल आफैँले यस अन्तर्वार्ता मार्फत् जगजाहेर गरेका छन् । यस लेखकको जानकारीमा भुसालले बारबार र हजार बार जनताको बहुदलीय जनवाद माथि छलकारी भाषामा विरोध अन्तर्निहित विचार व्यक्त गरेका छन् ।

कहिले जबजलाई कसैले र कुनै पनि नेताले सिद्धान्त बनाएनन् म बनाइदिन्छु भने कहिले जबजका १४ सूत्र पूरा भयो अव यसको औचित्य समाप्त भयो भने । यस अन्तर्वार्तामा भने अर्धसामन्ती र अर्ध औपनिवेशी अवस्थाको मुलुक नेपालमा क्रान्ति गर्न निर्माण गरिएको जबजको च्याप्टर क्लोज भएको भुसालले बताए ।

कम्तिमा मनमोहन अधिकारीको नौमहिने सरकार, ०६२/०६३ को शान्तिपूर्ण जनक्रान्ति र पार्टीकै नेतृत्वको अर्को नौ महिने सरकार दूरगामी उपलब्धि सहित संसारमा चुनाव मार्फत् पनि कम्युनिष्टको सरकार बन्न सक्छ जस्ता अनेक उपलब्धि र प्राप्तिहरु जबजका रहेका छन् ।

त्यति मात्र होइन, उहिल्यै जननेता मदन भण्डारीले देखेर उल्लेख गरेको अहिलेको सामन्तवादको अन्त्यपछि लोकतान्त्रिक गणतन्त्र कालमा गर्नै पर्ने विशिष्ट महत्वका कामहरु जबजमा स्पष्ट र किटानीका साथ उल्लेख गरिएको देखिन्छ ।

२. जबजको च्याप्टर अझ खुल्ला र विस्तारित

जबजमा अहिलेको परिवर्तित अवस्थालाई गुणात्मक रुपमा फेर्न तीन महत्वपूर्ण काम गर्नै पर्ने उल्लेख छ भने त्यसपछि समाजवादमा संक्रमण गर्नका लगि फेरि गर्नै पर्ने विषय किटान गरिएको छ र त्यति मात्र होइन, नयाँ व्यवस्थामा अर्थात् समाजवादमा पनि बहुदलीय प्रतिस्पर्धाको मान्यतामा प्रतिबद्ध रहेको उल्लेख छ । यस हिसाबले जबजले नेपाली विशेषताको समाजवादको रुप पक्षलाई सुस्पष्ट पारेको देखीदेखी जबजको च्याप्टर क्लोज भएको भन्नु जबजको सोझो विरोध हो ।

जनताको बहुदलीय जनवाद पुस्तिकाको उपशीर्षक ८.९ मा जनताको जनवादी व्यवस्थाको सुदृढीकरण अन्तर्गत जननेता मदन भण्डारीले फेरिएको परिस्थिति अर्थात् सामन्तवादको अन्त्यपछि भौतिक परिस्थिति बिना नै समाजवादमा पुग्ने हतारोले कुनै पनि अनुचित जोर जबरजस्ती गर्ने कुराको विपक्षमा रहेको बताउनु भएको छ । भण्डारीले उही उपशीर्षकमा यस अवस्थामा नयाँ व्यवस्थालाई सुदृढ गर्नका निम्ति अपेक्षित समय चाहिने हुनाले समाजवाद उन्मुख हुन तीनवटा विशेष अवधि पार गर्नु पर्ने ठहर गरेको देखिन्छ ।

२.१ पहिलो अवधि पुरानो व्यवस्थाका शोषण उत्पीडनका अवशेषहरु सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने अवधि ।

२.२ दोस्रो अवधि नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुवै हिसावले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने अवधि ।

३.३ तेस्रो अवधि समाजवादमा संक्रमणका निम्ति केन्द्रित भएर भौतिक तथा सांस्कृतिक तयारी गर्ने अवधि ।

यसै क्रममा भण्डारीले उपर्युक्त ठोस कुराहरु सम्पादन गर्न स्वाभाविक रुपमा एउटा अपेक्षाकृत लामो समय चाहिन्छ भन्नु भएको छ । अनि उहाँले अन्य कतिपय देशहरुमा जस्तो समाजवादमा पुग्ने हतारोले नयाँ व्यवस्था र समाजको जग कमजोर छँदै एउटा खुट्टो दरोसँग नटेकी अर्को खुट्टा उचाल्ने पक्षमा छैनौँ पनि भन्नु भएको छ ।

अहिले जबजको सन्दर्भ क्लोज भएको उटपट्याङ कुरा गर्ने भुसालले नयाँ जनवादी व्यवस्था (समाजवाद)मा पनि बहुदलीय पद्धति अपनाउन प्रतिबद्ध छौँ भनेर जबज पुस्तिकामा उल्लेख भएको यो लेखक सम्झना गराउन चाहन्छ । अनि, भुसाल कुन अध्ययनको आँखाले जबजको च्याप्टर क्लोज भएको भन्छन् ? माओले चिनियाँ सन्दर्भ र विशेषतामा आधारित भई भनेको नयाँ जनवाद र नेपाली विशेषता सहितको बहुदलीय जनवाद सारमा समान भए पनि रुपमा बिलकुल फरक रहेको छ ।

चीनमा जनवादी क्रान्ति पूरा भएपछि त्यहाँको नयाँ जनवादको च्याप्टर क्लोज भएको भन्दा हुन्छ तर बहुदलीय जनवादले त समाजवादमा संक्रमण गर्दाका अवधिमा गर्नै पर्ने विशिष्ट कामको मिही तरिकाले मार्ग दर्शन गरेको छ । त्यति मात्र होइन समाजवादमा पनि बहुदलीय प्रतिस्पर्धा गर्ने प्रतिवद्धता जाहेर गरेको छ । अनि अहिले नै यत्ति हतारोमा जबजको च्याप्टर क्लोज भएको भन्ने भुसालको कुन र कस्तो खाले अध्ययन हो ।

एमालेभित्र नै एमाले कट्टर विरोधी भएपछि अरुलाई खेल्न अति सजिलो हुन्छ । यसखालका बचकना विचार सुन्दा बरु घनश्याम भुसालको चाहिँ राजनैतिक च्याप्टर क्लोज भएको हुनलागेको आशंका यस लेखकलाई हुन थालेको छ । माओले व्यवहारका विषयमा सन् १९३७ जुलाइमा सिद्धान्तको अध्ययन विषयमा निक्कै महत्वपूर्ण विचार व्यक्त गरेको पाइन्छ । माओले सही सिद्धान्त भएर पनि हामी त्यसलाई खालि पाठ गछौँ,दराजमा थन्क्याउँछौँ, र कार्यमा प्रयोग गर्दैनौ भने त्यो सिद्धान्त जतिसुकै राम्रो भए पनि महत्वहीन हुन्छ भनेको देखिन्छ ।

अर्को यही प्रसंगमा माओले प्रचार कार्य सम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलनमा सन् १९५७ मार्च १२ मा गरेका भाषणमा मार्मिक प्रसंग उल्लेख छ । माओले त्यहाँ भने अनुसार केही यस्ता मानव छन् जो खुवै घमण्डी छन् र केही किताबी वाक्यांश सिकेर आफूलाई डरलाग्दो सम्झन्छन् र खूब धृष्ट छन् भनेको पाइन्छ भनेजस्तै नेपालमा भुसाल प्रवृत्ति मनोगत ढीट र धृष्ट देखिन्छ ।

त्यति मात्र होइन, भुसालले एक वर्षअघि इटहरीमा आयोजित अगुवा कार्यकर्ताको प्रशिक्षणमा एमाले पार्टीले पुँजिवाद ल्याउने कुरा बताएर तीन छक्क पारे । अनि त्यसको भोलिपल्ट शंकर पोखरेलले कम्युनिष्ट पार्टीले पुँजीको निर्माण गर्छ,यसका लागि राष्ट्रिय पुँजिपतिको संरक्षण गर्छ, एमालेले त नेपाली विशेषताको नयाँ गणतन्त्र,जनताको गणतन्त्र ल्याउने हो ।

एमालेले नै पुँजिवाद ल्याउने हो भने पुँजिवाद पक्षधर पार्टीले चाहिँ के गर्ने ? यस्ता भ्रमित कुराका पछि लाग्न हुँदैन, पोखरेलले भने । आफूलाई खूव पढन्ता भन्ने भुसाल किन बारबार बुझन्ता कुरा चाहिँ गर्दैनन् यो निक्कै गम्भीर विषय हो ।

राजनीतिक विश्लेषक मुमाराम खनालले भुसाल आफैँ आफ्नै पार्टीमा अनेकखालको दबाब दिएर आफूलाई राजनीतिक शक्ति आर्जन गर्न खोज्ने मनोरोगी रहेको उनी सितको संसर्ग र सहकार्यबाट अवगत भएको एक टीभी कार्यक्रममा बताएका थिए ।

नेपाली भाषामा सुस्पष्ट रुपमा लेखिएको जबजका विषयमा भ्रमपूर्ण कुरा आम कार्यकर्तामा फिँजाएर माओवादी केन्द्रको नजिक हुने भुसालको चौका दाउ हान्ने तरिका हो भन्ने सजिलै बुझ्न सकिन्छ । यस्तो रोगले जसकसैलाई बाँकी राख्तैन । क्षयरोगलाई सुमसुम्याएर कोही दीर्घजीवी हुनसक्तैन ।

४.आत्मरतिको रोग

भुसालमा आत्मरति र प्रशंसाको अर्को भयानक रोग रहेछ । उनले बुटबलमा भएको आठौँ महाधिवेशनमा प्रस्तावित गरेको विचार र त्यही विचार नवौँमा पारित भएकोमा निक्कै गर्व गरेको देखियो । तर, अर्कातिर ओली नेतृत्वको एमाले पार्टी र उनको प्रधानमन्त्रीत्व कालका दूरगामी अत्यन्त महत्वपूर्ण विषय र सन्दर्भलाई व्यक्तिसित जोडेर आम जनसमुदायले व्यक्ति प्रशंसा गर्र्नै नहुने बताए ।

गुणी जनले मात्र गुणको कदर गर्छ तर त्यही कुरा अर्कोलाई मुटुमा सुइराले हानेझैँ हुन्छ । जस र अपजसको भागीदार पार्टी प्रमुख हुन्छ भन्ने भुसाल अहिले ओली सन्दर्भमा भने दोहोरो मापदण्ड अपनाउँछन् तर आफू भने आत्मरतिमा मग्न देखिन्छन् ।

५. पार्टी निर्णय विपरीत भुसाल

भुसाल नेपाल पुँजिवादी भइसकेको भनिरहेका छन् तर नवौँ महाधिवेशनबाट पारित राजनैतिक प्रतिवेदनको निचोडमा नेपाली समाज प्रारम्भिक पुँजिवादी समाजमा रुपान्तरण भएको भनिएको छ । (पृ.९७)

यसै प्रतिवेदनमा भुसाललाई नै सम्झाउने गरी नेपाली समाजमा जतिबेला पुँजिवादी उत्पादन पद्दतिले जन्म लियो, समाजको चरित्र पुँजिवादी भइहालेन भनिएको छ । अझ भुसाललाई नै सम्झाउने गरी विभिन्न उत्पादन पद्दतिहरु मध्ये जुन उत्पादन पद्धति प्रभुत्वशाली छ,त्यसैले समाजको चरित्र निर्धारण गर्छ पनि भनिएको छ । र यो नै यथार्थ र वास्तविकता हो । (पृष्ठ ९२)

अहिले भुसालले जनवादी क्रान्ति पूरा भयो भनि रहेका बेला यो लेखक उनलाई प्रश्न गर्न चाहन्छ– आजको भोलि जनवादी क्रान्ति पूरा हुन्छ ? कि जनवादी क्रान्तिका मुख्य तीन कार्यभारमध्ये कुनचाहिँ कार्यभार पूरा भयो ? जनवादी क्रान्तिको राजनीतिक कार्यभार पूरा हुने क्रममा छ ।

हतारो र हतपतमा जनवादी क्रान्ति पूरा भयो, अब सोझै समाजवाद ल्याउनुपर्छ भनेर न्यून चेतनाका कार्यकर्तालाई बराल्न र भड्काउन यति उचाइको नेतालाई सुहाउँदैन

संविधान बन्यो, तर त्यसलाई कार्यान्वयन गर्न बाँकी छ । यसपछि आर्थिक समृद्धिको कार्यभार पूरै बाँकी रहन्छ । अनि सांस्कृतिक रुपान्तरणको अर्को गहन कार्यभार त काँचै छ । अनि हतारो र हतपतमा जनवादी क्रान्ति पूरा भयो, अब सोझै समाजवाद ल्याउनुपर्छ भनेर न्यून चेतनाका कार्यकर्तालाई बराल्न र भड्काउन यति उचाइको नेतालाई सुहाउँदैन ।

किनकि खुसी, खोकी, प्रेम, राजनीतिक भ्रमजाल र षडयन्त्र धेरै दिन लुक्न सक्तैनन् । भुसालजी, आफ्नू राजनैतिक जीवनको च्याप्टर चाहिँ क्लोज नगरुँ है ! सबैभन्दा महत्वपूर्ण कुरा सिद्धान्त र विचार नै आदर्श स्थापित गर्ने र त्यसको बिम्ब बनेको नेतृत्वलाई पनि स्थापित गर्दै जाने हो ।

पुष्पलाल, सहाना, मनमोहन, मदन भण्डारी, मोदनाथ प्रश्रित र पछिल्लो अवस्थामा केपी शर्मा ओली नै देश, जनता र जनसंस्कृतिका आदर्श व्यक्तित्व हुन् । तर, अनेक खालका आग्रहका कारण शीर्ष व्यक्तित्वलाई शीर्षभन्दा पनि कसैको चित्त कटक्क काटिन्छ ।

भुसालका पनि राम्रा पक्षहरु छन् । उनको माक्र्सवाद सम्बन्धी गहकिलो पुस्तक यस लेखकले दोहार्‍याएर पढेको छ । कमजोरी नदोहोरियुन् भनेर मात्र बेलाबेला लेख लेखिएको छ ।

ओलीलाई आदर्श मान्नेहरु त्यस आदर्शलाई कति आत्मसात् गरिरहेका छन् ? यसको उत्तर खोज्न मोरङ जिल्ला पार्टी हेर्दा थाहा हुन्छ । अहिले मुखले ओली आदर्श भन्ने र मान्ने तर त्यस विपरीत काम गर्नेहरु देखिन्छन् यहाँ ।

नवौँ महाधिवेशनका बेलादेखि प्रायोजित गरेको गुटले मोरङमा अझै दुःख दिइरहेको देखिन्छ भने गुटभित्रको उपगुट यस जिल्लाको गम्भीर समस्या देखिन्छ । मदन भण्डारीले एकताका नेतृत्व गरेको मोरङ जिल्ला अहिले गुटभित्रको गुटगत संकीर्ण घेराबन्दीबाट धेरै अघिदेखि भित्रभित्रै थला पर्न लागेको देखिन्छ ।

(लेखक एमाले संस्कृति विभागका केन्द्रीय सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment