Comments Add Comment

अनि कसरी सकियो ‘जबज’ को औचित्य ?

जनताको बहुदलीय जनवाद एउटा विचार ब्राण्ड हो । समाजको चरित्र अर्धसामन्ती र अर्धऔपनिवेशिक भनी परिभाषित भएको र पुँजीवादी क्रान्ति आन्दोलनको मुख्य कार्यभार ठानिएको र सेना नभएको पार्टी कम्युनिष्ठ पार्टी हुँदैन, राज्य सत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ भन्ने मान्यता कम्युनिष्टप्रति स्थापित भएका बेला सिंगो कम्युनिष्ठ आन्दोलनको लोकतान्त्रीकरणको सिद्धान्तका रुपमा परिभाषित गर्न आम जनता, साधारण कार्यकर्ता र बुझ्नुपर्ने अन्य समुदायले समेत बुझिने भाषामा अभिव्यक्त गर्न हाइलाइट गर्ने विचार शीर्षकको रुपमा जनताको बहुदलीय जनवाद नामाकरण गरिएको हो ।

सत्रुको गतिविधिलाई नियालेर या दमनको रुपलाई हेरेर प्रतिवादको योजना बनाइन्छ । निरंकुश पञ्चायती व्यवस्था समाप्त पार्न हामी कम्युनिष्टहरुको ठूलो योगदान छ । यो राजनीतिक परिवर्तनको आन्दोलनमा एउटा महत्वपूर्ण परिवर्तन मान्नु पर्दछ भन्ने आत्मसात गरी आफ्नो योगदालाई पुँजीकृत गरिएको विचार हो जनताको वहुदलीय जनवाद ।

आफ्नै योगदान र वलिदानवाट प्राप्त परिवर्तनको सानो फूलवारी भित्र वसेर कम विनास र सानो क्षतिमै ठूलो बगैंचाको परिकल्पना होइन, प्राप्ति नै सम्भव छ भन्ने विश्वासको मार्गदर्शन हो जनताको वहुदलीय जनवाद ।

शान्तीपूर्ण आन्दोलनवाट एउटा सामान्य परिवर्तन मात्र होइन, आमूल परिवर्तन सम्भव छ र हामी कम्युनिष्ठहरु त्यो योग्यता राख्न सक्छौं भन्ने आत्म विश्वासको एउटा गतीशील दर्शन हो जनताको वहुदलीय जनवाद ।

सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुन पर्दछ । जुन गतिशील र समय सापेक्ष हुन्छ भन्ने मर्मलाई बोकेको नेपाली कम्युनिष्ट आन्दोलनको नयाँ प्राण र एकाइसौं शताव्दीको माक्र्सवाद हो जनताको वहुदलीय जनवाद ।

जनताको वहुदलीय जनवाद माक्र्सवाद लेनिनवादको लोकतान्त्रीकरणको सिद्धान्त हो । अझ युसको मूल सार शान्तिपूर्ण आन्दोलनवाट आमूल परिवर्तनको दिशा हो । आजको विशाल एमाले र आजको वाम एकताको मूल कारक जबजको सफलता हो भनेर मुक्त कण्ठले भन्न सक्नुपर्दछ । सफल भएको विचार विज्ञान पनि हो यो समय सापेक्ष परिस्कृत हुन सक्दछ, तर यसको औचित्य समाप्त हुर्दैन ।

कृपया जबजलाई गरुंगो भारी बोकेजस्तो नठानियोस् जसले हामीलाई एउटा जिउँदो पार्टी जीवन र विशाल घर दिएको छ । कुनै ठाउँ र सन्दर्भमा उल्लेख गरिएका शब्द र सन्दर्भको शाव्दीक व्याख्या मात्र गरेर यसको मर्मको सही व्याख्या हुन सक्दैन, यसलाईर् एउटा गतीशील विज्ञानको रुपमा हेरिनु र व्याख्या गरिनु पर्दछ ।

संसारमा कुनै पनि विचार सफल भएर समाप्त भएको छैन र हुँदैन पनि । माक्र्सवादको पहिलो प्रयोग गर्न लेनिनले क्रान्ति गर्नु भो, सफल हुनु भो । सफल भएर माक्र्सवाद सकिएन बरु अझै त्यसले विश्वव्यापी रुप लिन पुग्यो र माक्र्सवाद एउटा परिस्कृत विज्ञानको रुपमा व्याख्या र विश्लेषण गर्दै लगियो । चीनमा माओले क्रान्ति गर्नु भो सफल हुनु भो माओवाद सकिएन, बरु यसले पनि विश्वव्यापी रुप लियो ।

विचारको सफलता भनेको समाप्ति होइन, बरु विश्वव्यापीरुपको आवश्यकता महसूस गरेको अर्थमा बुझ्नु पर्दछ । फेरि आफ्नै आँगनमा आफ्नै मिहिनेतले हुर्काएको विरुवालाई फूल फुलेपछि टिपेर मिल्काउने हो कि महंगो मूल्य पाउने अन्तराष्ट्रिय बजार खोज्ने हो ? हेक्का रहोस् जनताको वहुदलीय जनवाद आफ्नै बारीमा फलेको फल हो ।

सफलताको मूल कडीका रुपमा ग्रहण गरी बिचार ब्राण्ड बनाएर संसारका सामु नमुनाको रुपमा पस्किन सक्नुपर्छ । यतिबेला जबजको औचित्य र उपादेयता सकियो भनेर परिभाषित गर्नु आजको उपलव्धी र कम्युनिष्ट आन्दोलनकै अवमूल्यन गरेको ठहरिने छ र यो प्रवृत्तिले हामीलाई सही मार्गमा पुर्‍याउन पनि सक्दैन ।

०६२/६३ को परिवर्तनपछि लगत्तै १० वर्ष युद्धमा होमिएर आएका माओवादीका अध्यक्ष कमरेड प्रचण्डवाट जबजप्रतिको विचार भावको विश्लेषण गर्दा ०६३ जेष्ठमा एकजना पत्रकार विनोद ढुंगेलसँगको साप्ताहिक पत्रिकाको अन्तवार्तामा कमरेड प्रचण्डले घुमाउरो भाषामा शान्तिपूर्ण बाटोबाट एमालेहरु आए हामी सात डिभिजन जनसेना निर्माण गरेर ससस्त्र जनयुद्ध गरेर आयौैं तर आउने ठाउँ चाहीँ एउटै हो भन्ने स्वीकार गरेका थिए ।

०६३ साल आषाढमा प्रकाशित नेपाल पत्रिकाका सम्पादक किशोर नेपालसँग दिएको अन्तर्वातामा प्रचण्डले मदन भण्डारीप्रति सकारात्मक भाव प्रकट गरेका छन् । ०६३ साल आषाढको दोश्रो साता प्रकाशित कान्तिपुर पत्रिकामा कमरेड प्रचण्डले मदन भण्डारी ठिकै हुन, जवज पनि ठीक थियो तर एमालेका नेताहरु ठीक भएनन् भन्ने अभिव्यत्ति दिएका थिए ।

यो सन्दर्भ वास्तवमा जनयुद्धमा सफल भएर आएको आफ्नो हातमाथि पारेर उच्च मनोवलका साथ अद्वीतीय शक्तिको महसुस गरेको माओवादी आन्दोलनका कमाण्डरको विचार र भावको चर्चा गरिएको हो । यसै भावको वरिपरि तत्कालीन माओवादीले एकाइसौं शताव्दीको जनवादको परिकल्पना गरेको थियो भनेर सहज अनुमान गर्न सकिन्छ ।

आज एमाले र माओवादी केन्द्रवीच पार्टी एकताको सन्दर्भ छ । विचारको पनि बहस होला Û नामाकरण के दिने छलफल होला ! त्यो अर्कै विषय हो, तर एउटा सत्यचाहिँ के हो भने जनताको वहुदलीय जनवाद सफल भएको विचार हो र शान्तिपूर्ण आन्दोलनबाट आमूल परिवर्तन सम्भव छ भन्ने मान्यता स्थापित गराएको जबजको भाव र मर्मलाई जोगाउनुपर्छ तर खेर फाल्नुहुँदैन ।

अाज पार्टी एकताभित्र पनि जबजको भाव छोड्नुपर्ने परिस्थिति हुन्थ्यो भने वाम गठवन्धनको आवश्यकता बनेर उपस्थित हुने बेला नभैसकेको हुने थियो यो चाहिँ सबैले बुझ्नुपर्छ । आजको पार्टी एकता कमरेड प्रचण्डको मनोभूति र अनुभूतिको परिणाम पनि हो भन्न सक्नु पर्दछ ।

हामीभित्रकै दृष्टिमा यो दक्ष प्रजापतिको टाउको देखिन्छ त कहिले सिद्धान्त बन्न नसकेको कच्चा पदार्थ देखिन्छ त कहिले औचित्य सकिएको चुहुने भाँडो देखिन्छ । यो दृष्टि दोषबाट मुक्त भएर जबजको रक्षा र विकासले सही दिशा पाउनुपर्दछ ।

कसैलाई भ्रम नहोस् एमाले पंक्ति जबजको रक्षा र विकास चाहन्छ । परिस्कृत वनाएर संसारका सामु गौरवका साथ आफ्नो विचारका रुपमा पस्किन चाहन्छ । सफल विचारको रुपमा यसलाई गतिशील वनाउँदै समयको गतिसँगै हिँडाउन चाहन्छ तर यसको मूल मर्म र भाव जीवन्त छ भन्ने स्थापित गर्न चाहन्छ ।

अन्त्यमा, चेतनाले समृद्ध भएको मानवलाई निरंकुशता र अधिनायकवादले होइन, समृद्ध र परिस्कृत लोकतन्त्रले मात्रै नेतृत्व गर्न र अविभावकत्व दिन सक्दछ भन्ने मान्यता जबजको भाव र मर्म हो कि होइन ? के यो भाव र मर्मको औचित्य सकियो त !

शान्तिपूर्ण आन्दोलनको माध्यमवाट समाजवादको यात्रा तय गर्न सकिन्छ कि सकिँदैन ? यो शान्तिपूर्ण आन्दोलनले राजतन्त्र मात्रै फाल्न सक्ने हो, आर्थिक समृद्धिको गति र समाजवाद निर्माणको आधार तयार गर्न वाटो वदल्नु पर्ने हो ? होइन भने किन गरुंगो भारी बोकेजस्तो गरी बिसाउन खोजिन्छ जबजलाई ?

सफलता प्राप्त गरेको, जित हासिल गरेको, जिउँदो प्राण बनाएको, विशाल आकार ग्रहण गरेको, आममा आकार्षण भाव प्रकट गराएको विचार जवजलाई विचार ब्राण्ड बनाउन नसकिने हो ?

हामीले पार्टीभित्र अपनाएको लोकतान्त्रिक पद्दति र पार्टी वाहिर अपनाएको लोकतान्त्रको निष्ठाले हाम्रो भविस्य उज्यालो बनायो र जनता र अन्तराष्ट्रिय समुदायप्रतिको विश्वास कमायो, यो जबजको स्पिरिट होइन ? अनि कसरी भयो जबजको औचित्यको समाप्ति ….?

(ढुंगेल एमालेका युवा नेता हुन्) 

अरू पनि पढ्नुस्

‘जबज र माओवादको च्याप्टर क्लोज भयो’

भुसाल कमरेड, आफ्नै च्याप्टर क्लोज नगरौँ है !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment