Comments Add Comment

प्रधानमन्त्रीले हटाउनुअघि नै राजीनामा दिने मुडमा मन्त्री गिरी

'कमल थापा निरंकुश सामन्ति हुन्, पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्छ'

१४ पुस, काठमाडौं । शहरी विकासमन्त्री दिलनाथ गिरीले बर्खास्त हुनु अघि नै राजीनामा दिने तयारी गरेका छन् । पार्टी अध्यक्ष कमल थापामाथि निरंकुश, सामन्ति र अकर्मन्य नेता भएको आरोप लगाउँदै उनले अध्यक्षको राजीनामा पनि मागेका छन् ।

बिहीबार मन्त्रिपरिषद बैठकमा सचिव सरुवाका विषयलाई लिएर उपप्रधानमन्त्री थापा र मन्त्री गिरीबीच भनाभन भएको थियो । एकै पार्टीका मन्त्रीबीचको विवाद प्रधानमन्त्री शेरवहादुर देउवाले मिलाएका थिए ।

तर, शुक्रबार राप्रपा अध्यक्ष थापाले गिरीलाई मन्त्रीबाट हटाउन प्रधानमन्त्रीलाई पत्राचार गरेकाछन् ।

स्रोतका अनुसार प्रधानमन्त्रीले हटाउनुभन्दा अघिनै आफू राजिनामा दिने गिरीले निकटस्थलाई बताएका छन् । मन्त्रिपरिषद बैठकमै थापाले गिरीलाई हटाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

तर, देउवाले आफू अहिले कसैलाई हटाउने वा राजिनामा माग्ने पक्षमा नरहेको बताएका थिए ।

राप्रपा उपाध्यक्ष समेत रहेका गिरीले अध्यक्ष कमल थापामा सामन्ति संस्कार रहेको भन्दै उनकै अकर्मन्यताका कारण पार्टीले चुनावमा पराजय भोग्नुपरेको बताएका छन् । पराजयको जिम्मेवारी लिँदै थापाले पार्टी अध्यक्ष र उपप्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने गिरीले बताए ।

उनले भने, ‘कमल थापाकै कारण पार्टीले चुनाव हारेकाले उनले अध्यक्ष पदबाट तुरुन्त राजिनामा गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ । मैले थापाजीलाई राजिनामा दिउँ भनेर भनेको थिएँ, तर उनी सत्ता भनेपछि पार्टी सिध्याउन पनि तयार हुने मान्छे हुन् ।’

मन्त्री गिरीले कमल थापाको सामन्ति र निरंकुशतन्त्रविरुद्ध पार्टी जोगाउन निरन्तर संघर्ष गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment