Comments Add Comment

धरानः प्रदेश १ को ‘साहसिक पर्यटन केन्द्र’ बन्दै

चतरामा र्‍याफ्टिङको रौनक, कोशीटप्पुको जंगल सफारी चलेन

१५ पुस, सुनसरी । पूर्वी नेपालको पहाडी प्रवेशमार्गका रुपमा परिचित सुन्दर नगरी धरान प्रदेश नम्बर १ को साहसिक पर्यटनको समेत प्रवेशद्वार बन्न थालेको छ ।साहसिक पर्यटनमा र्‍याफि्टङ, प्याराग्याइडिङ मात्रै हैन माउन्टेन बाइकिङको समेत प्रदेश १ मै सबैभन्दा पहिलो व्यवसायिक सञ्चालन धरानबाटै भएको छ ।

अरु त अरु, हाल बन्दको अवस्थामा रहेको कोशीटप्पुको जंगल सफारी पनि धरानबाटै सञ्चालन भएको हो ।

र्‍याफ्टिङको रौनक

धरानमा रहेको ‘तमोर रिभर र्‍याफ्टिङ’ प्रदेश एकको पहिलो र्‍याफ्टिङ तथा कायाकिङ सेवा प्रदायक कम्पनी हो । ०६२ मंसिरबाट सञ्चालनमा आएको यो कम्पनीले नै पूर्वमा र्‍याफ्टिङको व्यवसायीकरण गरेको हो ।

‘पहिले-पहिले गोरो छाला भएका युरोपिएन र अमेरिकनले मात्रै र्‍याफ्टिङ गर्छन् भन्ने मान्यता थियो’, तमोर रिभर र्‍याफि्टङका सञ्चालक मदन ढकाल भन्छन्, ‘तर हामीले त्यो धारणामा परिवर्तन गरेर स्वदेशीका लागि पूर्वमा व्यवसायिक र्‍याफि्टङको सञ्चालन थालेेका हौँ ।’

ढकालले हालसम्म १० हजारले तमोरमा र्‍याफ्टिङ गरेको बताए । यो संख्यामा धेरै हिस्सा नेपालीहरु र केही हिस्सा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पढ्ने भारतीय विद्यार्थीहरुले ओगटेको उनी बताउँछन् ।

साथै झापाका भुटानी शरणार्थी शिविरका लागि काम गर्ने पश्चिमा पाहुनाहरु पनि यसमा सहभागी भएको ढकाल बताँउछन् ।

धनकुटाको मुलघाटबाट सुनसरी र उदयपुरको सीमानामा पर्ने चतरासम्मको १ दिने र्‍र्‍याफ्टिङ प्याकेज सबैभन्दा लोकपि्रय रहेको उनी बताउँछन् ।

त्यसैगरी ताप्जेजुङको दोभान हुँदै चतरासम्म र संखुवासभाको तुम्लिङटार हुँदै अरुण नदीबाट चतरासम्म र्‍याफ्टिङ गर्ने गरिएको छ । ओखलढुंगाको हर्कपुर हुँदै सुनकोशीबाट चतरासम्मको र्‍याफि्टङ प्याकेज पनि ढकालको कम्पनीले चलाउने गरेको छ । यी प्याकेजहरु २ देखि ३ दिने रहेको ढकाल बताउँछन् ।

एक दिनको २५ सय र दिन रातको भने ५५ सय लिने उनले बताए । यो शुल्कमा आउने-जाने यातायात भाडा, रिभर गाइड, खाना, नास्ता र सबै अन्य अत्यवाश्यक सेवाहरु समेटिने पनि उनले बताए ।

भेडेटारबाट प्याराग्याइडिङमा सरर

धरानका पर्यटन व्यवसायी रोशन अधिकारीले ०७२ असोज बाट प्रदेश एककै पहिलो व्यावसायिक प्याराग्लाइडिङ सेवा सञ्चालन गरेका छन् ।

भेडेटारबाट धरानसम्मको प्याराग्लाइडिङ उडान ५ सय जनाले गरिसकेको अधिकारीले बताउँछन् । उनले अनलाइनखबरसँग भने- ‘हालसम्म हामीले निशुल्क उडाएका आफन्त, साथीभाइ र अन्य यात्रुहरु सबै जोड्दा हाम्रो कम्पनीले ५०० बढीलाई उडान गरेको छ ।’

भेडेटरबाट उडान भर्ने धरान स्काइ एडभेन्चर प्याराग्लाइडिङसँगै अर्को कम्पनीसमेत थपिएको छ । सरकारी इजाजत पाएको दोस्रो व्यवसायिक कम्पनी बुढासुब्बा प्याराग्लाइडिङले पनि दर्जनौँलाई उडाएको सञ्चालक राम राई बताँउछन् ।

प्याराग्लाइडिङका लागि प्रयोगमा आएको चिन्डेडाँडा समुन्द्र सतहदेखि ४८० मिटरको उचाइमा छ भने भेडेटारको उडानस्थल १२५० मिटरको उचाइमा छ ।
धरानमा २ हजार मिटर वा सो भन्दा माथिसम्म प्याराग्लाइडिङ उडान हुने धरान स्काइ एडभेन्चरका सञ्चालक तथा प्याराग्लाइडिङ पाइलट माधवप्रसाद दाहाल बताँउछन् ।

धरानमा नेपालीका अतिरिक्त सीमावर्ति बिहारका पर्यटकहरुले पनि प्याराग्लाइडिङ गरेको सञ्चालकहरु बताँउछन् ।

पूर्व घुम्न आएका केही चिनियाँ र पश्चिमाहरुले पनि धरानको आकासमा प्याराग्लाइडिङ गरेको सञ्चालकहरु बताँउछन् ।

धरानमा प्रतिव्याक्ति उडानको ७ हजार लिने सञ्चालकहरु यो रकममा फोटो, भिडियो र बिमासमेत समेटिने बताँउछन् ।

धरानबाटै फैलियो माउन्टेन बाइकिङ

धरानमा र्‍याफि्टङ, प्याराग्लाइडिङ जस्तै फैलँदो विकास क्रममा रहेको साहसिक पर्यटनको अर्को प्रोडक्ट हो- माउन्टेन बाइकिङ ।

सन् २०१५ बाट धरानका साइकल अभियन्ता कृष्ण केसीको समूहले चलाएको टस्क माउन्टेन बाइक स्टोर्सले माउन्टेन बाइक र माउन्टेन बाइकिङका प्याकेजहरु बिक्री गरिरहेको छ ।

कम्पनीले धरान हुँदै पूर्वी तराई र पूर्वी पहाडका विभिन्न रुटहरुमा माउन्टेन बाइकिङ रुटका प्याकेजहरु सञ्चालन गरेको छ । जसमा एक दिने, दुई दिने र चार दिनेदेखि ९ दिने प्याकेजसम्म पर्ने सञ्चालक केसी बताँउछन् ।

एक दिने रुटमा धरानबाट इटहरीको तालतलैया, बक्लौरीको रास ताल, सप्तकोशी नदी र मोरङको सहिना तथा बेतना सिमसार पर्छन् । यिनै रुटहरुमा नाइट स्टप गरेर दुई दिने बनाउन पनि सकिने केसी बताँउछन् ।

यस्तै, धरानदेखि संखुवासभाको गुफापोखरीसम्मको आउनेजाने प्याकेज भने चार दिने रुटमा पर्छ । यो रुटको नाम ‘कोशी सर्किट’ राखिएको छ ।

प्रदेश एकको सबैभन्दा लामो रुटको नाम भने ‘इस्टर्न ट्रेल’ रहेको केसी बताँउछन् । उनका अनुसार यो रुटमा धरानबाट धनकुटाको हिले, तेह्रथुमको चौकी, संखुवासभाको गुफापोखरी, ताप्लेजुङको दोभान, पाँचथरको राँके, इलामको फिक्कल तथा कन्याम हुँदै मोरङको बेतना र सुनसरीको तातलैया भएर धरान आउने सर्किट पर्छ ।

केसीका अनुसार यी रुटको प्रतिदिन साइकल गाइड, खाजा र खानासहित पन्ध्र सय शुल्क लाग्छ भने साइकल मात्रैको हजार रुपैयाँ शुल्क तोकिएको छ ।

बन्द भयो कोशीटप्पुको जंगल सफारी

जंगल सफारीको पर्यायवाची भनेर चिनिएको चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षपछि पूर्वकै पहिलो जंगल सफारी चलायो धरानको सेछ ट्राभलिङले । तर, यो अहिशले बन्द भएको छ ।

नेपालको सबैभन्दा ठूलो नदी कोशी किनारमा रहेको दक्षिण एसियाको चरा भण्डार एवं अर्ना, डल्फिन र साइबेरियाका आप्रवासी घुमन्ते चराको गन्तव्यका कारण कोशी टप्पु चर्चित छ । चर्चित कोशी टप्पुको जंगल सफारी पनि चर्चित नै थियो ।

सेेछ ट्राभलिङका सञ्चालकहरु बासुदेव बराल र एलिना मगरले ल्याएको कोशी टप्पु क्षेत्रको जंगल सफारीले नेपाली र सीमावर्ती भारतीय आगन्तुकहरु पनि पायो । तर, अहिले आएर उक्त कार्यक्रमले निरन्तरता पाउन सकेको छैन । प्रदेश एककै पहिलो व्यवसायिक जंगल सफारी अहिले बन्दको अवस्थामा आएको छ ।

जंगल सफारी गराएको सेछले किन निरन्तरता दिन सकेन ? यसको जवाफमा परिकल्पनाकार बरालले दुई कारण बताएः पहिलो कारण- सरकारी निकायको उदासीनता र दोस्रो- प्राकृतिक कारण ।

सरकारी निकायको उदासीनता भन्नाले जंगल सफारीमा गएका पर्यटकको सुविधामा कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रका कर्मचारीको असहयोग भएको बराल बताउँछन् । कर्मचारी अभाव भएको वा विदा भएको कारण देखाएर आरक्ष खुल्ला नगरिँदा समस्या भएको बरालले बताए ।

त्यस्तै, कुनैबेला हात्ती बिरामी भएको कारण त कुनै बेला जंजली हात्ती आएको हुनाले सुरक्षाको प्रत्याभुति नहुने आरक्षका कर्मचारीले बताउने गरेको बरालले सुनाए । ‘जंगल सफारीको मुख्य आनन्द नै आरक्ष क्षेत्रभित्रको हात्ती सफारी, डल्फिन पोइन्ट यात्रा, अर्ना अवलोकन आदि हुन्’, बराल भन्छन, ‘तर, त्यही कुरा नै नहुने भएपछि जंगल सफारीमा जानेहरु खल्लो मान्छन् ।’

कर्मचारी र सरकारी संयन्त्रको असहयोगका अतिरिक्त प्राकृतिक कारणले पनि जंगल सफारी राम्रो चल्न नसकेको बराल बताउँछन् । कोशीटप्पुमा आएका जंगली हात्ती समयमै फर्केर नगएकाले पनि आफूले सोचेको जंगल सफारी हुन नपाएको बरालको भनाइ छ ।

०६९ सालबाट सुरु भएको धरानको पहिलो व्यवसायिक ट्राभल एजेन्सी सेछ ट्राइलिङले पूर्वमै पहिलो जंगल सफारीको सुरुवात ०७२ बाट गरेको थियो । नेपाल र भारतका विभिन्न स्थानहरुमा बहुप्रचारित जंगल सफारीको अकर्षण पनि थियो । दक्षिण एसियाकै चरा भण्डारको रुपमा रहेको कोशी टप्पुको चरा अवलोकन, थारु गाउँको यात्रा, हात्ती सफारी र नेपालकै सबैभन्दा ठूलो कोशी नदीमा सनबाथ लिन यो जंगल सफारी लोकप्रिय थियो ।

कोशी टप्पूको जंगल सफारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने हो भने भारत र चीनबाट समेत पर्यटक ल्याउन सकिने व्यवसायी बताउँछन्

धरानको चारकोशे झाडी हुँदै जाने उक्त जंगल सफारीको शुल्क २५ सय लाग्ने गरेको थियो । उक्त शुल्कमा खाना, नास्ता, यात्रा र अन्य सबै शुल्कहरु समावेश गरिएको थियो ।

धरान भएर हुने यो जंगल सफारी सफल र निरन्तर सञ्चालनमा आएको खण्डमा स्वदेशी साथै भारतीय पर्यटकहरुको पनि भिड लाग्ने बरालको तर्क छ । कोशीटप्पु क्षेत्र भारतीय राज्यहरु बिहार र पश्चिम बंगाल छोटो दुरीमा रहेकाले बिहार र पश्चिम बंगालको बढ्दो मध्यम वर्गलाई यहाँ आकषिर्त गर्न सकिने बरालको दाबी छ ।

यसका साथै चिनियाँ नाका किमाथांक खुलेपछि चिनियाँहरु पनि ल्याउन सकिने उनी बताउँछन् ।

अझै जंगल सफारी सञ्चालन धरान आसपासको चारकोशे झाडीमै पनि गर्न सकिने बराल बताउँछन् । चारकोशे झाडीमा पानीको पर्याप्त उपलब्धता नभएकाले जंगली पशुहरु कम मात्रै विचरण गर्ने भन्दै राम्रो पानीकोे व्यवस्था भएको खण्डमा त्यहाँ जंगली पशुहरुको राम्रो आवागमन हुने उनी बताँउछन् । पर्याप्त पानी र भरपर्दो सुरक्षा भएको खण्डमा धरान आएका पाहुनालाई चारकोशे झाडीमैै रोचक ढंगले जंगल सफारी गराउन सकिने उनले दाबी गरे ।

पूर्वका सरकारी निकाय एवं सरोकारवालाहरुले यहाँको पर्यटकीय सम्भावनालाई ध्यान दिन जरुरी रहेको उनी बताउँछन् ।

याे पनि पढ्नुहाेस्

पूर्वी तराईका ५ चर्चित पिकनिक स्थल

सिनेमाको ‘हब’ बन्दैछ इटहरी उपमहानगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment