Comments Add Comment

मोहनापुल–अत्तरिया सडकः क्षेत्राधिकारभित्रको सडक खाली भएन, निर्माण सुस्त


१८ पुस, कैलाली । धनगढी मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणको गति सुस्त बनेको छ । सरकारले सडकको क्षेत्राधिकार भित्रको जग्गा खाली गर्न नसक्दा निर्माण अघि बढ्न नसकेको हो ।

विद्युत, टेलिफोनका तारले पनि निर्माणमा उत्तिकै निर्माणमा समस्या पारिरहेको छ ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त सडकको काम हालसम्म ६ प्रतिशतको हाराहारीमा मात्रै सम्पन्न भएको छ ।

धनगढी मोहना–अत्तरिया ६ लेन सडक आयोजना कार्यालय, धनगढीका निमित्त प्रमुख इञ्जिनियर प्रविन चौधरीले सडक क्षेत्रभित्र दर्जनौं अस्थायी संरचना बनाइएकाले साईड क्लीयर गर्न गाह्रो भएको बताए । उनले सडकको चौडाई ५० मिटर भए पनि सडक क्षेत्रभित्र बनाइएका अस्थायी संरचना हटाउन नसक्दा अहिले ठेकेदार कम्पनीले ३२ दशमलव २ मिटर चौडाईभित्र काम गरिरहेको बताए ।

सडक क्षेत्रभित्र बनाइएका भौतिक संरचना खाली गर्न आयोजना कार्यालयले गत वैशाख, भदौ र यही पुसमा गरि ३ पटक सार्वजनिक सूचना जारी गरिसकेको छ । सडक खाली गर्न पटक–पटक माईकिङ्ग समेत गरिएको उल्लेख गर्दै निमित्त प्रमुख चौधरीले अटेरी गरेपछि चौराहा र भन्सार क्षेत्रमा अहिले डोजर लगाएर केही अस्थायी संरचनाहरु भत्काइएको बताए ।

केही ठाउँमा ठेला, घरका पर्खाल, छज्जा, टीनका संरचनाहरु भत्काएको बताउँदै चौधरीले स्थायी संरचना हटाउन अटेर गरे अब कार्यालयले आफैं भत्काउँने बताए ।

६ लेन सडक क्षेत्रभित्र भन्सारदेखि बोराडाँडीसम्म धेरै संरचना बनेका छन् । ०३४ सालमा राजपत्रमा प्रकाशित भएर राजमार्गको सडकको क्षेत्र बीचको बिन्दुदेखि दाँया–बाँया २५÷२५ मिटर कायम गरिएको भए पनि पछि नगरपालिकाले साढे २२ मिटरभित्रै घरका नक्सा पास गरेको पाइएकाले पनि विवाद हुँदा सडक क्षेत्र खाली गर्न ढिलाई भएको इन्जिनियर चौधरीले जानकारी दिए ।

उनले पहिलो खण्डको तुलनामा दोस्रो र तेस्रो खण्डमा सडक निर्माणको काम बढी भएको बताए ।

दुई वटा खण्डमा माटो भरानसंगै मुख्य सडकका लागि नाली निर्माण गरिदै छ भने पहिलो खण्डमा माटो भरानको काम भइरहेको छ । मुख्य सडकको चौडाईभित्र नाली बनाउने काम भइरहेको उल्लेख गर्दै दास्रो खण्ड निर्माणको ठेक्का पाएको लुम्बीनी–राजेन्द्र–डाँफे जेभीका प्रतिनिधि इन्जिनियर रोशन भट्टले सडक क्षेत्र खाली नहुँदा थप काम गर्न समस्या भएको बताए ।

करिब एक अर्ब ६८ करोड रुपैयाँको लागतको ६ लेन सडक अन्तर्गत ४ लेन मुख्य सडक रहने छ । सडकको दुवैतिर फुटपाथ रहने छ । ३२ दशमलव २ मिटर चौडाईको मुख्य सडकको छेउका साथै ६ लेन सडकको कुल चौडाई ५० मिटर छेउमा पनि नाली रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment