+
+

कांग्रेसले वाम गठबन्धनलाई भन्योः गैरसंवैधानिक काम गर्न निर्वाचन आयोगलाई दबाब नदेऊ

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १८ गते २०:०९

१८ पुस, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले गैरसंवैधानिक काम गर्न निर्वाचन आयोगलाई दबाब नदिन वाम गठबन्धनलाई आग्रह गरेको छ ।

मंगलबार बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले राष्ट्रियसभा गठनपछि मात्र प्रतिनिधिसभाले पूर्णता पाउने ठहर गरेको छ । ‘हामीले प्रधानमन्त्री एवं पार्टी सभापतिलाई राष्ट्रिय दलका शीर्ष नेताहरुसँग परामर्श गर्नुस् र राष्ट्रियसभा निर्वाचन अविलम्ब तोक्नुस् भनेका छौं’ कांग्रेस नेता बालकृष्ण खाँडले अनलाइनखबरसग भने ।

उनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आजभोलि नै प्रमुख दलका नेताहरुसँग परामर्श गर्नेछन् र त्यसपछि सरकारले राष्ट्रियसभा निर्वाचनको मिति तोक्नेछ ।

कांग्रेसले संविधानको धारा ८४ को उपधारा ८ अनुसार प्रतिनिधिसभाको समानुपातिक सिट निर्धारणका लागि राष्ट्रियसभा निर्वाचन आवश्यक भएको बताएको छ ।

वाम गठबन्धनले निर्वाचन आयोगलाई प्रतिनिधिसभाको समानुपातिक परीणाम सार्वजनिक गर्न दबाब दिनु गैरसंवैधानिक भएको कांग्रेसको ठहर छ । ‘हिजो उहाँहरुले दिएको जस्तो दबाब हरेक राजनीतिक दलले दिने हो भने आयोगले संवैधानिक व्यवस्था अनुसार चुनाव गर्नै सक्दैन’ कांग्रेस नेता खाँडले भने, आयोगलाई गैरसंवैधानिक काम गर्न प्रेरित गर्नु र दबाब दिनु अनुचित हो ।’

एमाले र माओवादी केन्द्रका नेताहरुले सोमबार निर्वाचन आयुक्तहरुलाई भेटेर प्रतिनिधिसभाको समानुपातिकको मत परीणाम सार्वजनिक गर्न दबाब दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?