Comments Add Comment

अब यमकलाले रुन पर्दैन ! छोरा थानेश्वर बचाउन ‘ब्लड मनी’ जुट्यो

थानेश्वर बचाउन संकलन भयो ४५ लाख


१९ पुस, काठमाडौं । बुढ्यौलीले गाँजिसकेकी नवलपरासीको मध्यविन्दुकी यमकला भुसालले ९ महिना पहिले अनलाइनखबरसँगको कुराकानीमा भनेकी थिइन,’ विदेशको जेलमा परेको छोरा बचाउन म बुढीले कहाँबाट ल्याउँ ४५ लाख ?’

तर, अब उनले यसरी रुन पर्ने छैन, किनभने निर्दोष भएर पनि साउदीको जेलमा अन्योलको जीवन बाँचिरहेका उनका छोरा थानेश्वर अब केही समयमा उनकै काँखमा आइपुग्नेछन् । थानेश्वरको सय वर्ष काटिसकेकी हजुरआमाको अन्तिम इच्छा पनि पुरा हुनेछ भने रोगले थलिएका बाबुले पनि आफ्नो साहारा पाउनेछन् ।

परिवन्धका कारण ४ वर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका थानेश्वर भुसाल अब नेपाल फर्किने भएका छन् । उनलाई जेलमुक्त गर्न थालिएको ब्लड मनी संकलन अभियान सफल भएको छ ।

अनलाइनखबरमा यमकलाको रोदनसहितको समाचार प्रकाशित भएपछि उनका लागि सहयोगी हातहरु सक्रिय भएका थिए । विदेशमा अलपत्र नेपालीको उद्धारमा क्रियाशील संस्था प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को संयोजनमा ‘थानेश्वर भुसाल बचाउ अभियान’ सुरु भएको थियो ।

भुसालको उद्धारका लागि आवश्यक समितिले ४५ लाख ब्लड मनी संकलन गरेको हो ।

नवलपरासीको मध्यविन्दु नगरपालिका ८ घर भएका थानेश्वरको परिवार निकै गरिव छ । गरिबीलाई नै मेटाउन सवारी चालकका रुपमा उनी साउदी पुगेका थिए ।

तर, दुर्भाग्यबस अर्काको गल्तीका कारण भएको दुर्घटनामा अदालतले उनलाई जेलबाट छुट्न ४५ लाख ब्लड मनी माग्यो ।

तर, उनको परिवारको दयनीय अवस्थाका कारण त्यो सम्भव थिएन । त्यसैले उनको उद्धारका लागि सहयोग संकलन अभियान सुरु गर्दा उत्साहजनक रुपमा सहयोग रकम संकलन भएको समितिका अध्यक्ष कुलप्रसाद कार्कीले बताए ।

यो खातामा आएका सबै रकमलाई परादर्शी रुपमा संस्थाको वेबसाइटमा राखिएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै समितिले थानेश्वरलाई छुटाउन संकलन भएको रकमको विवरण सार्वजनिक गरिएको छ ।

थानेश्वरलाई जेलबाट छुटाउन ४५ लाख ८५ हजार रुपैयाँ जम्मा भएको छ । ब्लडी मनी तिरेर बाँकी रहने ८५ हजार रुपैयाँ अर्को यस्तै अभियानका लागि खर्च गर्ने समितिले जानकारी दिएको छ ।

समितिले अब थानेश्वर बचाउ अभियानका लागि कुनै सहयोग रकम संकलन नगर्ने घोषणा पनि गरेको छ । अभियानका लागि गैह्रआवासीय नेपाली संघ एनआरएनएले पनि १२ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

जेलमा रहेका भुसाल

त्यसैगरी विभिन्न देशका एनआरएनएका शाखासहित विदेशमा रहेका नेपाली कामदारले थानेश्वर बचाउ अभियानमा सहयोग गरेका छन् । साउदी अरेबियासहित कुवेत, युएई, अस्ट्रेलिया, मलेसिया, कोरिया लगायतका देशबाट पनि ब्लड मनी संकलन भएको पीएनसीसीले जनाएको छ ।

एनआरएनएबाट प्राप्त हुनुपर्ने रकम भने अहिलेसम्म थानेश्वर बचाउ अभियानको खातामा आइपुगेको छैन । केही देशमा रकम संकलन भएपनि आउने क्रममा नै छ ।

रकम प्राप्त हुन बाँकी रकम खातामा जम्मा हुनासाथ सरकारलाई बुझाइने अध्यक्ष केसीले बताए ।

‘हामीले सरकारलाई यो रकम हस्तान्तरण गर्छौं । र, सरकारले यो रकम समबन्धित देशको नियमअनुसार ब्लड मनी स्वरुप प्रदान गर्छ,’ केसीले भने,’रकम दिनासाथ थानेश्वर नेपाल फर्कनुहुनेछ ।’

कसरी परे थानेश्वर जेल ?

युवा अवस्थामा नै विदेशिएका थानेश्वर अहिले ३७ वर्षका भए । गाडी चलाउँदै गर्दा उनको गाडी र अर्को गाडी ठोक्कियो । दुई गाडीसँग अर्को गाडी पनि आएर चेप्पियो र २ जनाको ज्यान गयो ।

साउदीको अदालतले दुर्घटनामा आफैं पनि घाइते भएका थानेश्वरलाई दोषी ठहर गर्यो र पीडित परिवारलाई १ लाख ५० हजार रियाल अर्थात ४५ लाख रुपैयाँ ब्लडमनी स्वरुप क्षतिपूर्ति भराउन थानेश्वरका नममा आदेश दियो ।

छोरा छुटाउन हारगुहार गर्दैगर्दा यमकलाकी बुहारीले पनि घर छाडिन् र अर्को बिहे गरिन् । थानेश्वरका बुवा पनि काम गर्न सक्दैनन् । काम गर्ने क्रममा रुखको हाँगोले टाउकोमा लागेर उनी अशक्त जस्तै भएका छन् ।


अहिले यमकला एक्लैले घरको सबै ब्यवहार हेर्छिन् । उनी जति पीडा बोकेरै भएपनि छोरालाई नेपाल फिर्ता ल्याउन कस्सिएकी थिइन् ।

उनको पहलमा सुरु भएको थानेश्वर बचाउने अभियान सफल भएको छ । अब यमकलालाई छोरा घर फर्किने दिनको ब्यग्र प्रतीक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment