Comments Add Comment

नेपाली पुँजी अमेरिका, दुबई, बैंकक र भारततिर !

विदेशी सेयर बजार ताक्दै नेपाली लगानीकर्ता

२० पुस, काठमाडौं । दुई साताअघि एक ब्रोकर सेयर बजारको कारोबार शुल्कबारे फेहरिस्त लगाउँदै थिए । नेपालमा कारोबार शुल्क उच्च नभएको उनको तर्क थियो । र, नेपाली रुपैयाँ विदेशी सेयर बजारमा धमाधम पुगिरहेको स्वीकारोक्ति पनि थियो, उनको ।

‘भारतको जुन शुल्क देखाएर यहाँ महँगो भएको चर्चा गरिन्छ, त्यो नै गलत छ,’ उनको भनाइ थियो, ‘त्यहाँ अल्पकालीन कारोबारी अर्थात् टे्रडर्सका लागि शुल्क उच्च छ र दीर्घकालीनका लागि कम । मैले आफैंले हालै त्यहाँ कारोबार गरेको छु ।’

अल्पकालीन कारोबार गर्नेलाई त्यहाँ पनि शुल्क उच्च रहेको कागजात उनी देखाउँदै थिए ।

संयोगवस, सातादिनअघि भारतमै बसोबास र कारोबार गर्ने अर्का नेपाली लगानीकर्ता भेटिए । उनको व्यवसाय नेपाली लगानीकर्ताका लागि भारतीय सेयर बजारको सहजीकरण रहेछ । उनको स्पष्टोक्ति थियो, ‘मैले भारतमा लगानी गर्न नेपाली दाजुभाइलाई सघाउने गरेको छु ।’

नेपाली नागरिकलाई विदेशमा लगानी गर्न खुला गरिएको छैन । यस्तोमा कसरी हुन्छ त कारोबार ? पछिल्ला कारोबारीको जवाफ थियो, ‘मैले त्यहाँ कारोबार गर्न पाउँछु, कारोबार मेरै नामबाट हुन्छ ।’

उनले नेपाली लगानीकर्ताहरुसँग व्यक्तिगत ऋण सम्झौता गर्दा रहेछन् । भारतीय बजारमा लगानी गर्न चाहनेले कागजी रुपमा उनीसँग ऋण सम्झौता गर्छन् र पैसा बुझाउँछन् ।

उनको दाबी छ, ‘त्यहाँको बजार घट्दा वा बढ्दा जुनसुकै अवस्थामा ३६ प्रतिशत प्रतिफलको ग्यारेन्टी हुन्छ । साँवा नडुब्ने आश्वासन पनि पाउँछन्, लगानीकर्ताले ।’

त्यति नै विश्वासका आधारमा राम्रै परिमाणमा नेपाली मुद्रा भारत पुर्‍याउँदा रहेछन्, उनले । ‘विश्वास भनेको व्यवहार गर्दै जाँदा बढ्ने हो, त्यसमाथि मैले पनि नेपालको बजारमा लगानी गरेको छु, यसले पनि उनीहरुलाई भर दिन्छ,’ उनी स्पष्ट पार्छन् ।

ब्रोकर कम्पनीमा लगानीकर्ताहरुको जमघट हुने भएकाले त्यहाँ पनि आफूले पहुँच विस्तार गरेको बताउँदै गर्दा उनमा निश्चिन्तता झल्किन्थ्यो । उनको व्यापार त्यतिमै सीमित कहाँ छ र !

लगानीकर्ताहरुले विदेशमा गएर आफ्नो सेयर खाता खोल्छन्, ब्रोकरमार्फत् । त्यसको आईडी र पासवर्ड पाउँछन् । नेपाल फर्केर त्यही आईडी र पासवर्ड प्रयोग गर्दै सेयर किनबेचको ‘अर्डर’ दिन्छन्

नेपाली लगानीकर्ताहरुबाट पुँजी लिएर भारतमा मात्र नभई नेपाली बजारमा समेत उनीहरुका लागि लगानी व्यवस्थापन गर्दै आएको उनको भनाइ छ । त्यस्तो कारोबार पूर्णरुपमा अवैध हो ।

धितोपत्र बोर्डको नियमअनुसार लगानी व्यवस्थापकको रुपमा दर्ता भएका संस्थाले मात्रै यो काम गर्न पाउँछन् ।

नेपाली सेयर ब्रोकर हुन् वा अन्य लगानीकर्ता, उनीजस्तैलाई माध्यम बनाएर भारतीय बजारमा लगानी गरिरहेको यसबीचमा भएका भेटमा स्पष्ट भएको छ ।

त्यसो त, नेपालीहरुले विदेशमा लगानी गर्न थालेको नौलो विषय भने होइन । यसअघि अमेरिका र दुबईमा समेत कतिपयले सेयर लगानी गर्दै आएका छन् । त्यसरी नै कारोबार गर्दै आएका एक पुराना सेयर विश्लेषक भन्छन्, ‘केही दिनअघि मात्रै मैले थाइल्यान्डको बैंककस्थित सेयर बजार (सेट) मा लगानी गर्ने व्यवस्था मिलाएर आएको छु । अहिले त्यहाँको बजार १७ सयको उच्च तहमा छ, केही समयपछि मेरो लगानी त्यतै पुग्छ ।’

पुरानो बानेश्वर क्षेत्रमा बस्ने उनले अमेरिकाको बजारमा लगानी गर्न त्यहाँ रहेका छोरा-छोरीको नाम प्रयोग गर्दै आएका छन् । थाइल्यान्डमा लगानी गर्न रकम लैजान धेरै व्यवधान छिचोल्नु पर्छ । उनी भने त्यो समस्या नरहेको बताउँछन् ।

‘राष्ट्र बैंकले ‘काम गर्ने पुँजी’को रुपमा १० हजार डलरसम्म लैजान दिन्छ, हामीले बैंकिङ च्यानलबाटै त्यहाँको बैंकमा रहेको खाता सञ्चालन गरेर भुक्तानी गर्छौं,’ उनी भन्छन् ।

अन्तर्राष्ट्रिय बजार पूर्ण स्वचालित प्रणालीमा आधारित रहेकाले त्यहाँ पैसा पुर्‍याउने बाटो भए लगानी गर्न गाह्रो पनि देखिँदैन । लगानीकर्ताहरुले विदेशमा गएर आफ्नो सेयर खाता खोल्छन्, ब्रोकरमार्फत् । त्यसको आईडी र पासवर्ड पाउँछन् । नेपाल फर्केर त्यही आईडी र पासवर्ड प्रयोग गर्दै सेयर किनबेचको ‘अर्डर’ दिन्छन् । भारतबाहेकका मुलुकमा कारोबार गर्न नागरिकता आवश्यक नपर्ने भएकाले पनि सहज भएको ती सेयर विश्लेषकको भनाइ छ ।

राष्ट्र बैंकले भने त्यसरी पैसा लैजान नमिल्ने बताउँदै आएको छ । ‘बाहिर लगानी गर्न पैसा लान मिल्दैन । तर, त्यहाँ सम्पर्क कार्यालय खोलेकाले भने मिल्छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा विदेशी विनिमय विभागका पूर्वप्रमुख भिष्मराज ढुंगाना भन्छन् ।

उनका अनुसार विदेशमा सम्पर्क कार्यालय खोलेकाहरुले तीन महिनासम्म धान्ने सञ्चालन खर्चवापतको रकम लैजान पाउँछन् । तर, त्यसको हिसाब बुझाउनु पर्छ ।

अध्ययनका लागि विदेश गएकाहरुले पनि त्यहाँ रहँदा-बस्दा कारोबार गर्ने गर्छन् । पछि कतिपयले त्यही ‘च्यानल’ वा त्यसपछि पुग्ने आफन्त र साथीभाइमार्फत् पनि कारोबार गरिरहेको पाइएको छ ।

पछिल्लो समय नेपालमा कमोडिटी बजार सञ्चालनमा आउन नसक्दा पनि लगानीकर्ताहरु विदेशी बजारतिर आकर्षित भइरहेका छन्

नेपालको कमोडिटी बजारसँग सम्बन्धित एक कम्पनीका सञ्चालक यहाँबाट विदेशका सेयर बजारमा मात्रै नभई कमोडिटी बजारमा समेत लगानी भइरहेको बताउँछन् ।

‘यो सामान्य कुरा भएको छ, विश्वव्यापी रुपमा चलिरहेको अनलाइन कारोबार प्रणालीले यहाँका मानिसलाई बाहिर लगानी गर्ने वातावरण बनाइदिएको छ,’ उनी भन्छन् ।

पछिल्लो समय नेपालमा कमोडिटी बजार सञ्चालनमा आउन नसक्दा पनि लगानीकर्ताहरु विदेशी बजारतिर आकर्षित भइरहेको उनको अनुभव छ ।

यसअघि नै सञ्चालनमा रहेका कमोडिटी बजारहरुले नयाँ ऐनअनुसार पुनः दर्ता गर्नुपर्छ । हाल उक्त प्रक्रियामा कम्पनीहरु आइसकेका छैनन् । चुक्तापुँजीको प्रावधानले पनि भविष्यमा कति वटा कमोडिटी बजार सञ्चालन हुनेछन् भन्ने प्रश्न पनि उब्जिएको छ ।

अनौपचारिक जालो

सीमा क्षेत्रका बासिन्दाले भारतीय बीमा कम्पनीका एजेन्टहरु मार्फत् कारोबार गर्दै आएका छन् । तिनै प्रणालीको प्रयोग गरेर यसअघि तराईबाट भारतीय सेयर बजारमा समेत लगानी गर्ने गरेको नियामकहरुले नै स्वीकार गर्दै आएका छन् ।

अहिले तराईबाट मात्र नभई काठमाडौंबाटै पनि लगानी हुन थालेको छ । त्यसरी बाहिरिने रकम अनौपचारिक रुपमा रहेको पुँजी हुने सरोकारवालाहरु बताउँछन् ।

‘निर्वाचनपछि पनि बैंकिङ प्रणालीमा पैसा आएको नदेखिनुमा यिनै कारणहरु हुन्,’ कमोडिटी बजारमा संलग्न ती सञ्चालकले भने ।

अहिले पनि नेपाली व्यावसायीहरुले एक पटकलाई भए पनि सम्पत्तीको स्रोत नखोज्ने व्यवस्थाको माग सरकारसँग गर्दै आएका छन् । तर, त्यो पूरा हुन सकेको छैन । त्यसैले पनि अनौपचारिक क्षेत्रमा रहेको रकमले लगानीका यस्ता नयाँ बाटो खोजिरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment