Comments Add Comment

पोखरामा शालिक राजनीतिको ‘सेफ ल्याण्डिङ’: अब सबै शालिक पार्कमा

पार्क बनाउन सराङकोटमा ५७ रोपनी जग्गा छुट्याइयो

पृथ्वीनारायण शाहको शालिक भत्काउँदै आन्दोलनकारी (वायाँ) र सो स्थानमा राखिएको लखन थापाको शालिक ।

२१ पुस, पोखरा । पोखरा-काठमाडौं जोड्ने राजमार्ग २०२८ सालमा  निर्माण गरेपछि तत्कालीन राजा महेन्द्रले आफ्नो पुर्खाका नाममा नामाकरण गरे, पृथ्वीराजमार्ग । पोखरा-काठमाडौं उपत्यका जोड्ने त्यही राजमार्गको शून्य किलोमिटरमा निर्माण गरियो, पृथ्वीनारायण शाहको शालिक ।

जनआन्दोलन २०६२/६३ मा तत्कालीन माओवादीले पृथ्वीनारायण शाहको शालिक ढालिदियो । गणतान्त्रिक नेपाल स्थापनासँगै शाह राजाको शालिक हटाएर त्यो ठाउँमा राखियो प्रथम शहिद लखन थापाको शालिक र भनियो अब पृथ्वीचोक होइन, लखनचोक ।

एकाएक चोकको नाम फेरिए पनि अझै पनि धेरैले ‘पृथ्वीचोक’ नै भनेर चिन्छन् । केहीले ‘लखनचोक’ पनि भन्छन् । यो यस्तो चोक हो, जहाँ शालिककै विषयमा ठूलो संघर्ष भएको छ, यही मुद्दामा राजनीतिकरण भएको छ । यही चोकमा कसको शालिक राख्ने भन्ने विषयमा जातीयताको विवादले पोखरालाई विभक्तसमेत गराइदियो । क्षेत्री समाजले पृथ्वीचोकमा पृथ्वीनारायण शाहकै शालिक राख्नुपर्छ भन्यो । जनजाति समुदायले गणतान्त्रिक नेपालमा प्रथम शहिद लखन थापाकै शालिक हुनुपर्छ भन्ने अडान राख्यो ।

स्थानीय तहको निर्वाचन भएर पोखरा लेखनाथ महानगरपालिकामा मेयर आएपछि चोकको विषयले फेरि एकपटक विवाद नित्यायो । पोखरा महानगरपालिकाले असोज ९ गते पृथ्वीचोकमा डोजरै चलाएपछि फेरि एकपटक शालिक राजनीति सल्क्यो । ठूलो आइल्याण्डले सवारी साधन आउजाउ गर्न तथा ट्राफिक व्यवस्थापन गर्न असहज भएको भन्दै मेयर मानबहादुर जिसीको पहलमा डोजर चलेपछि मगर समुदाय आक्रोशित भए । उनीहरुलाई साथ दिने अन्य जनजाति समुदायसमेत थिए । उनीहरुले नाराजुलुस मात्र निकालेनन् आफैं लखन थापाको शालिक निर्माण गर्ने चेतावनीसमेत दिए ।

प्रदेश तथा प्रतिनिधि सभाको मुखमै यस्तो आन्दोलन सुरु भएपछि भोट घटाउने काम भएको भन्दै एमाले पार्टीबाटै मेयर जिसीलाई दबाव आयो । जिसीले आइल्याण्ड भत्काएको २४ घन्टाभित्रै सोही चोकमा लखन थापाकै शालिक पुनर्स्थापना गर्ने सहमति गरे ।

मगर समुदायसँग सहमति भएलगत्तै क्षेत्री समाजले चोकमा शालिक राख्न नहुने पक्षमा आवाज उठाउँदै भन्यो, ‘शालिक हटाएपछि फेरि शालिक राख्न पाइँदैन, यदि राख्ने नै हो भने पृथ्वीनारायण शाहकै शालिक राख ।’

क्षेत्री समाजलगायतले सडक आन्दोलनमात्रै गरेनन् चुनावको मुखमै महानगरपालिकाका कार्यालयकै अगाडि अनसनसमेत बसे । मेयर मानबहादुर जिसीलाई फेरि फसाद पर्‍यो । मेयर जिसीले फेरि चकित पार्दै क्षेत्री समाज लगायतसँग अर्को सहमति गरे, चोकमा शालिक पुनर्स्थापना नगर्ने ।

मेयर जिसीले आन्दोलनरत एउटा पक्षसँग शालिक स्थापना गर्ने र अर्को पक्षसँग शालिक स्थापना नगर्ने दुई सहमति गरेर तत्काललाई प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन टारे । यो बीचमा शालिकलाई चोकमा नभइ पार्कमा राख्नुपर्ने ठूलो आवाजसमेत उठ्यो ।

मेयरले गरेको २ सहमतिबाट छुट्कारा पाउने गरी अब भने पार्क निर्माण गरेर नै शालिकलाई पुनर्स्थापना गर्ने कामको नेतृत्व उपमेयर मञ्जुदेवी गुरुङले लिएकी छन् ।

सराङकोटमा शालिक

लामो संघर्ष र आन्दोलनको साक्षी पृथ्वीचोक वा लखनचोकबाट अब शालिक पार्कमा पुग्ने भएको छ । पृथ्वीचोकसँगै अन्य चोकका शालिक पनि पार्कमै पुनर्स्थापना गर्ने कामको सुरुवात महानगरपालिकाले गर्न लागेको छ ।

महानगरपालिकाले पृथ्वीचोकसँगै अमरसिंहचोकबाट अमर थापा र जिरो किलोमिटरमा भूपेन्द्रमान शेरचनको शालिक रहेको आइल्यान्डमा समेत डोजर चलाएको थियो ।

पोखरा-१८ स्थित पर्यटकीय क्षेत्र सराङकोटको जामुने बोटमा पार्क निर्माणको प्रक्रिया अगाडि बढेको उपमेयर गुरुङले जानकारी दिएकी छन् ।

चोक-चोकमा राखिएका आइल्याण्ड र शालिकका कारण विवाद तथा ट्राफिक जाम बढेका कारण आइल्याण्ड भत्काउने र शालिकलाई व्यवस्थित पार्क बनाएर सार्ने योजना अगाडि सारिएको उपमेयर गुरुङ बताउँछिन् ।

५७ रोपनीमा पार्क निर्माण

सराङकोटमा ५७ रोपनी क्षेत्रफलको जग्गामा पार्क बनाउने गरी गुरुयोजना निर्माण गरिने भएको छ । जग्गा छुट्याउने र पर्खाल लगाउने कार्यका लागि लागत स्टिमेट तयार पार्न टोली खटिएको इन्जिनियर महेन्द्रबहादुर गोदारले जानकारी दिए । ‘हामीले पहिलो चरणमा जग्गा छुटयाउने र पर्खाल लगाउन स्टिमेट गर्दछौं, त्यसपछि पार्कको गुरुयोजना निर्माण गछौं,’ उनले भने ।

तत्काल काम अगाडि बढाउन पोखरा लेखनाथ महानगरपालिकाका उपमेयर गुरुङसहित प्राविधिक टोलीले पार्क निर्माणस्थलको निरीक्षण गरेको छ । निरीक्षणपछि उपमेयर गुरुङले शहरका चोकमा रहेका सबै शालिकलाई पार्क बनाएर ब्यवस्थित गर्ने काम सुरु भएको बताइन् ।

सराङकोटमा पार्क निर्माण गर्ने निर्णय महानगरकार्यपालिकाको बैठकले यसअघि नै गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment