Comments Add Comment

पत्रिका समाचारः मेची–काली रेलमार्ग धमाधम, इन्जिन किने नेपालमा यसै वर्ष रेल !

प्रहरी वृत्तमा गोविन्द केसीको बास, जेलमै अनशन बस्ने


२५ पुस, काठमाडौं । राजधानीबाट आज प्रकाशित सबैजसो दैनिक पत्रिकाहरुले डा. गोविन्द केसी अनशनस्थलबाटै पक्राउ परेको विषयलाई विभिन्न शीर्षक दिएर छापेका छन् । ४ वर्षअघि बर्खास्त भएका डा. शशी शर्मालाई चिकित्सा शास्त्र अध्ययन संस्थान (आईएओएम) को डीनमा पुनर्वाहली गर्न सर्वोच्चले आदेश दिएसँगै केसी प्रधानन्यायाधीशको राजीनामा मागेर अनशन बसेका थिए । तर न्यायलयको मानहानी गरेको भन्दै अदालतमा उपस्थित गराउन सर्वोच्चले आदेश दिएपछि उनी सोमबार बेलुका पक्राउ परेका हुन् । यद्यपि, पत्रपत्रिकाहरुले गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले पक्राउप्रति असहमति जनाएको लेखेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह र भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार डेढ घण्टा वार्ता भएको समाचारलाई पनि आजका पत्रपत्रिकाहरुले स्थान दिएर लेखेका छन् ।

रेल मार्गको विकासमा यतिबेला सबैको ध्यान केन्द्रित भएको छ । यसको विकास गर्न स्थापना गरिएको रेल विभागले धमाधम काम गरिरहेको छ । मेची–काली रेलमार्गको डीपीआर तयार भइरहेको र जनकपुर–जयनगरमा इन्जिन किने यसै वर्ष रेल कुद्ने समाचार पनि आजको पत्रिकामा पढ्न सकिन्छ ।

यसका अलावा बर्सेनि शीतलहरले तराईमा जनधनको क्षति हुने गरे पनि सरकारले पाठ नसिकेको, एयर एसियाले नेपाल सरकारलाई तिर्ने भनेर प्रतिबद्धता जनाएको रकम नतिरेकोलगायत खबर पनि पत्रपत्रिकाहरुमा उत्तिकै प्राथमिकताका साथ छापिएका छन् ।

प्रहरी वृत्तमा गोविन्द केसीको बास, जेलमै अनशन बस्ने

अदालतको मानहानी गरेको आरोपमा पक्राउ परेका डा. गोविन्द केसीले जेलमै अनशन बस्ने चेतावनी दिएका छन् । कान्तिपुर दैनिकसँग कुराकानी गर्दै केसीले ज्यान हत्केलामा राखेर अनशन बस्दा जेलमा लगिनु आफ्ना लागि गौरवको कुरा भएको र यसलाई निरन्तरता दिने बताएका छन् ।

‘खास कुरा के छ भने अनशन बस्दा मेरो मृत्यु पनि हुनसक्छ’, उनले कान्तिपुरसँगकाे अन्तरवार्तामा भनेका छन्, ‘ज्यान हत्केलामै राखेर म अनशन बस्दा कसैले जेलमा लैजान्छ भने झनै गौरव गर्छु । मेरो अनशन जेलमै जारी रहन्छ । म कहिल्यै डराउने छैन ।’

केसीले स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रको सुधारको लागि थालिएको अभियानलाई नै प्रभावित पार्ने गरी सर्वोच्चको फैसला आएकाले अनशन बस्नुपरेको प्रष्ट पारेका छन् । उनले सुशीला कार्की र कल्याण श्रेष्ठले न्यायपालिकाको गरिमा बचाए पनि गोपाल पराजुलीले धुमिल पारेको आरोप लगाए । यद्यपि, उनले सही तरिकाले न्याय सम्पादन भए आफूले न्यायाधीशहरुको कद गर्ने बताए ।

बर्सेनि शीतलहर, पूर्वतयारी शून्य

नागरिक दैनिकले आज बर्सेनिको शीतलहर र यसको पूर्वतयारीबारे समाचार लेखेको छ । समाचार अनुसार, शीतलहरबाट सरकारले पाठ सिक्न सकेको छैन । कारण, हरेक वर्ष यसको कष्ट तराईबासीले झेल्नुपरेको छ ।

पुसको दोस्रो साताबाटै सप्तरीलगायत मध्य मधेसका जिल्लामा शीतलहर सुरु हुन्छ । शीतलहरका कारण बर्सेनि सप्तरीमा मात्रै दुईदर्जनभन्दा बढी सर्वसाधारणले ज्यान गुमाउने गरेको सरोकारवाला निकायका जिम्मेवार पदाधिकारी स्वीकार्छन् । यद्यपि, यससम्बन्धी कुनै ठोस तथ्यांक भने कुनै पनि निकायसँग छैन ।

एयर एसियाले झुक्यायो

बारम्बार ताकेता गर्दा पनि ठूलो परिमाणको बक्यौता चुक्ता गर्न अटेर गर्दै आएको मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा एयर एसिया एक्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई झुक्याएको छ ।

एयर एसिया एक्सले आइतबार २ करोड रुपैयाँ चुक्ता गर्दै सोमबार १० करोड रुपैयाँ तिर्ने प्रतिबद्धता जनाएको थियो । तर उसले प्रतिबद्धताविपरीत १ करोड ३० लाख रुपैयाँ मात्र चुक्ता गरेको समाचारलाई नागरिक दैनिकले आर्थिक पृष्ठको मुख्य समाचार बनाएर छापेको छ । समाचार अनुसार अझै उसले १९ करोड ७० लाख तिर्न बाँकी छ ।

मेची–काली रेलमार्ग धमाधम

राजधानी दैनिकमै झण्डै नौ वर्षअघि सम्भाव्यता अध्ययन सम्पन्न भएको मेची–महाकाली रेलमार्गको काम पनि धमाधम भइरहेको खबर छ ।

समाचार अनुसार सन् २००९ मा पूर्व–पश्चिम नौ सय ४६ किलोमिटर रेलसहित काठमाडौं–पोखरा १ सय ८८ किलोमिटर रेल मार्गको पनि सम्भाव्यता अध्ययन भएको थियो । ९ वर्षसम्ममा कुल ८ अर्ब ६३ करोड रुपैयाँ खर्चा भइसकेको छ ।

राजधानी दैनिकलाई विभागले जनाए अनुुसार कुल ६ सय १९ किलोमिटर रेल मार्गको डीपीआर पनि सम्पन्न भइसकेको छ । अहिलेसम्म विभागले पूर्वदेखि पश्चिमसम्म कुल ९ खण्डमा विभाजन गरेर डीपीआर तयार पारिएको छ । अहिलेसम्म कुल पाँचवटा कन्सल्टेन्टहरुले बुटवल पूर्व सबै खण्डको डीपीआर सम्पन्न भइसकेको र बाँकी चार खण्डको पनि डीपीआरको काम सुरु भइसकेको समाचारमा उल्लेख छ ।

इन्जिन किने नेपालमा यसै वर्ष रेल

भारत सरकारको सहयोगमा निर्माण भइरहेको जनकपुर–जनकपुर रेलमार्गमा लिक निर्माणको काम अन्तिम चरणमा पुगे पनि लिकमा गुडाउने इन्जिनको विषयमा सरकार अझै अनविज्ञ छ ।

राजधानी दैनिकका अनुसार, सरकारले इन्जिन किने यसै वर्ष नेपालमा रेल गुड्ने छ । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भने लिकमा गुडाउने इन्जिन खरिदको विषयमा छलफलसमेत सुरु हुन सकेको छैन ।

झण्डै चार वर्षदेखि बन्द जनकपुर–जननगर रेलमार्गको ३४ किलोमिटर निर्माण कार्य आगामी अक्टोबरसम्म सम्पन्न हुने विभागलाई उद्धृत गर्दै राजधानी दैनिकले समाचार लेखेको छ ।

जनप्रतिनिधिको सरकारलाई प्रश्न– के हामी कुखुरापालन गरेर बस्ने ?

स्थानीय जनप्रतिनिधिले तलबभत्ता नपाउँदा दैनिक जीवन निर्वाह गर्न अप्ठ्यारो परेको गुनासो गरेको समाचारलाई आज नागरिक दैनिकले भित्री पृष्ठमा छापेको छ ।

उनीहरुले आफूहरुको नियमित सेवा सुविधा नतोकेकोमा स्थानीय विकास मन्त्रालयसँग गुनासो गरेका छन्। दुई नम्बर प्रदेशबाहेक ६ वटा प्रदेशमा स्थानीय तहको निर्वाचन भएको ६ महिना नाघेको छ।

स्थानीय जनप्रतिनिधिले पूर्णकालीन प्रतिनिधि (नगरप्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा वडाअध्यक्ष) का लागि नियमित सेवा सुविधा तोक्न स्थानीय विकास मन्त्रालयलाई आग्रह गरेको समाचारमा उल्लेख छ ।

स्थानीयका कर्मचारी भने जनप्रतिनिधिको सेवा सुविधा तोक्ने अधिकार प्रदेशसभाको भएकाले आफूहरुले केही गर्न नसक्ने बताउँछन्।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले नागरिकसँग भनेका छन्, ‘हामीलाई तलबभत्ता नदिएर के हामीले कुखुरापालन गरेर बस्ने ?’ पूर्णकालीन स्थानीय जनप्रतिनिधिलाई नियमित तलबभत्ताको व्यवस्था नगर्ने हो भने जीविकोपार्जन गर्न धौधौ हुने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment