Comments Add Comment

जब दाई धुर्मुससँग मकै खोसाखोस भयो…

कुमार कट्टेल ‘जिग्री’

पर्दामा फन्टुस भए पनि सानोमा म सार्‍है सोझो थिएँ । नयाँ मान्छेसँग बोल्नै लाज लाग्थ्यो । दाई सिताराम ‘धुर्मुस’, बहिनी र म प्रायः सँगै हुन्थ्यौ । दाइसँगै खासै झगडा परेन । एक पटक जिस्कँदा भने ठूलै दुर्घटना भएको छ ।

आमाले चुल्होमा दाल बसाउनुभएको थियो । तल कोइलामा मकै पोलिराखेको थियो । हामी दाजु-भाई मकै को खाने भनेर तानातान गर्दै थियौं मेरो हात तातो दालमा डुब्यो । त्यही मेरो हातले उछिट्टएिर दाईको कम्मरमा दाल पोखियो । दाईको कम्मरदेखि पैतालासम्मै पोलेको थियो । झण्डै एक महिना दाईले रेस्ट गर्नु पर्‍यो मेरो चाहीँ हात मात्रै पोल्यो । मलाई पनि ठिक हुन धेरै समय लाग्यो ।

एक पटक चिचिलो आँप खाँदा कोया नाकभित्र छिराएको छु । जति झिक्न खोज्छु उति भित्र जान्थ्यो । सास फेर्नै गार्‍हो हुन थालेपछि छिमेकी अंकलले बल्लतल्ल निकालिदिनु भएको थियो ।

स्कुल पढ्दा ३ कक्षासम्म ल्वाँठै थिएँ । पास हुन्छु भन्ने लागेकै थिएन । रिजल्टको दिन स्कुल जान्थेँ, पास भएको भन्दै सर्टिफिकेट लिएर आउथेँ । तर, कसैले पनि पत्याउदैन थिए । तीन कक्षा पढेपछि प्रकाश बुढाथोकी भन्ने साथी घरमा आउन थाल्यो । उ हाम्रो क्लासको फस्र्ट ब्वाई थियो । घरमा मलाई सबैले ‘तेरो साथी चाहीँ फस्र्ट ब्वाई तँ चाँहि ल्वाँठ’ भन्न थालेपछि बल्ल मलाई इख पलायो ।

अनि मैले पनि जाँगर लगाएर पढ्न थालेँ । ३ बाट ४ मा जाँदा थर्ड भएँ । त्यसपछि त म फस्र्ट, साथी सेकेण्ड । एसएसलीमा पनि झापा टप गरेको थिएँ ।

हाम्रो पढाई राम्रो होस् भनेर नै हाम्रो बुबा बसाई सर्नु भएको रहेछ । खान र लाउनमा कहिल्यै दुःख भएन । हाम्रो घरमा होलिस्टेन जातको उन्नत गाई थियो । बिहान बेलुका दुध, मही घ्यु अनिवार्य खाइन्थ्यो । माछा-मासु पनि हप्तामा दुई दिन जति खान पाइन्थ्यो ।

घरमा गाई भएकाले घाँस काट्ने, गाईलाई खोले बनाउने काम मज्जाले गरेको छु । बिहान साइकलमा दुध पुर्‍याउन पनि जान्थेँ । हलो जोत्न चाँही ट्राई गरेर पनि सकिनँ ।

म सानैदेखि फुटबल र क्रिकेटमा सौखिन थिएँ । स्कुलबाट आएपछि फुत्त खेल्न गइहाल्थेँ । बासँग चाहीँ खुब डर लाग्थ्यो । ढिला आएको दिन एक लौरो खानै पथ्र्यो । दाई, म र बहिनी पढ्न भनेर बस्दा कहिलेकाहीँ हल्ला गथ्र्यौ । त्यो वेला पनि बाले पिट्नु हुन्थ्यो । हामीलाई ठिक पार्नकै लागि भनेर घरमा एउटा लौरो राख्नु भएको थियो ।

झापामा नयाँ फिल्म लागिरहन्थ्यो । हामी हेर्न जान्थ्यौं । पहिलो पटक मैले कलाकारको रुपमा मनोज गजुरेललाई देखेको हो । एमालेले गरेको एउटा कार्यक्रममा उहाँ जानु भएको थियो, हामी मनोज गजुरेललाई हेर्न गएका थियौ । त्यसपछि मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र बसुन्धरा भुषाललाई पनि देखेँ ।

क्षितिजा शाक्य भन्ने नायिकाको झापामा आफन्त रहेछन् । उहाँ आफन्तको घर आएको वेला हामी हिरोइन आएकी छिन् रे भनेर हेर्न गएका थियौं । क्षितिजा घरभित्र बसेकी रहिछन्, हामीले घर बाहिर धेरैबेर ढुक्यौं । अन्तिममा उनको दर्शन गरेर फर्कियौं । कलाकारलाई सबैले घेरेको देख्दा कताकती कलाकार हुन पाए हुन्थ्यो जस्तो लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment