२७ पुस, काठमाडौं । विज्ञ समूहको अध्ययनका क्रममा रानीपोखरीका तीन शैली भेटिएको छ, जसमध्ये सबैभन्दा पुरानो ग्रन्थकुट शैलीलाई सिफारिस गर्ने सम्भावना छ ।
काठमाडौं महानगरपालिकाले बनाएको विज्ञ समूहका संयोजक विष्णुराज कार्कीका अनुसार प्रतिवेदन लेखन सकिएको छ ।
उनका अनुसार रानीपोखरीको बालगोपालेश्वर मन्दिर प्रताप मल्लकालमा ग्रन्थकुट शैलीमा बनेको पाइएको छ । पुरातत्व विभागका पूर्वनिर्देशक समेत रहेका कार्कीका अनुसार यसलाई शिखर शैली पनि भनिन्छ ।
प्रसियाका राजकुमार वाल्डेमरले सन् १८४५ को फेब्रुअरी/मार्चमा नेपालको भ्रमण गरेका थिए र उनले आफ्नो यात्रा संस्मरणमा रानीपोखरी (उनकै शक्दमा ‘रानी के ताल’) को तस्वीर पनि समावेश गरेका छन् ।
जंगबहादुर र जुद्ध शम्शेरको पालामा पनि रानीपोखरीको स्वरुपमा हेरफेर भएको पाइएको छ ।
विज्ञ समूहका सदस्य एवं सम्पदाविद् सुदर्शनराज तिवारीका अनुसार वि.सं. १८९० को भँइचालोले शिखर शैलीको मन्दिर ढल्यो । पछि जंगबहादुरले गुम्बज शैलीमा बनाए ।
१९९० सालको भूकम्पले फेरि रानीपोखरीमा क्षतिभयो । त्यसलाई जुद्ध शम्शेर बनाए तर, गुम्बज शैलीमा केही परिर्वतन गरे । उनले भने, ‘जुद्ध शम्शेरको पालामा गुम्बज शैलीमा बनाइएको देखिन्छ तर, त्यसमा केही परिर्वतनहरु भएका छन् । थप कलाकृति राखिएको छ ।’
जुन १२ बैशाख २०७२ को भूकम्प अघिसम्म कायम थियो ।
सुरुमा काठमाडौं महानगरपालिकाले पुनर्निर्माणको जिम्मा पाएको थियो । तर, कंक्रिट प्रयोग गरेको भन्दै युनेस्कोले विरोध गरेपछि अहिले पुरातत्व विभाग आफैंले बनाइरहेको छ ।
विज्ञ समूहका सदस्य सचिव एवं महानगरका कार्यकारी अधिकृत धनिराम शर्माका अनुसार समूहको आगामी बैठकले कुन शैलीमा बालगोपालेश्वर मन्दिर बनाउने भन्ने तय गर्नेछ ।
तर, सम्भावना ग्रन्थकुट शैलीकै छ ।
उनले भने, यसो भएमा अहिले भइरहेको पुनर्निर्माण रोकेर त्यो संरचना भत्काउनु पर्ने हुन्छ ।’
विज्ञ समूहको म्याद थप, ३ गते सार्वजनिक सुनुवाइ
काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणबारे अध्ययन गर्न १५ दिनको समय दिएर विज्ञ समूह दिएको थियो ।
यो समय सकिएको छ । तर, सार्वजनिक सुनुवाई गर्न बाँकी रहेकाले १० दिन म्याद थप्न प्रस्ताव गरिएको छ ।
कार्यकारी अधिकृत शर्माका अनुसार माघ ३ गते राष्ट्रियसभामा सार्वजनिक सुनुवाइ कार्यक्रम राखिएको छ । त्यहाँ आएका सुझावका आधारमा रानीपोखरी कुन शैलीमा पुनर्निर्माण गर्ने विज्ञ समूहले सुझाव दिनेछ ।
प्रतिक्रिया 4