२८ पुस, काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्यास सिलिण्डरमा जडान गरिने पाइप र कपडामा गुणस्तर निर्धारण गरेको छ ।
शुक्रवार बसेको गुणस्तर परिषद्को बैठकले यी दुई वस्तुको गुणस्तर स्वीकृत गरेको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनीले जानकारी दिए ।
उक्त बैठकले टेक्स्टाइलको परिक्षण विधि एनएस/आइएसओ १८३३/२००६ टेक्स्टाइल परिमाणात्मक रसायन विश्लेषण भाग १, २, ३, ४, ५, ७, ८, ११, १२, १५, १८, १९, २०, २१, २५ स्वीकृत गरेको हो । यो गुणस्तरले नाइलन, फाइवर, उनी, कटन लगायतका टेक्स्टाइलहरूमा प्रयोग भएको सिन्थेटिक तथा प्राकृतिक फाइवरहरूको मिश्रणको विश्लेषण गर्नेछ ।
बैठकले खाना पकाउने एलपीजी ग्यासको सिलिण्डरमा जडान गरिने रबर होज पाइपको पनि गुणस्तर स्वीकृत गरेको छ । एलपीजी पाइपको यो गुणस्तरले जोखिम र दूर्घटना न्यूनीकरणमा सहयोग मिल्ने विभागको विश्वास छ । ‘नयाँ गुणस्तरले उपभोक्तालाई गुणस्तरीय पाइप प्रयोग गर्न र दूर्घटना न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ ।’ विभागका महानिर्देशक पुडासैनीले भने ।
‘वस्तुको गुणस्तर निर्धारण हुँदा उत्पादनकर्तालाई शुद्धता कायम गर्न र उपभोक्तालाई पनि गुणस्तरीय वस्तु खरिद गर्न सहयोग मिल्छ ।’ पुडासैनी भन्छन् ।
सरकारले अन्तर्राष्ट्रिय गुणस्तर संस्था (आइएसओ) ले तयार गरेको मापदण्डलाई अनुसरण गरेर लागू गर्न लागेको हो ।
परिषद्बाट स्वीकृत भएसँगै यो गुणस्तर मापदण्डको रुपमामात्रै लागू हुनेछ । मन्त्रिपरिषद्बाट स्वीकृत भएर राजपत्रमा सूचना प्रकाशित भएपछिमात्रै अनिवार्य गरिने विभागले जनाएको छ ।
सरकारले हाल १२ वस्तुमामात्रै गुणस्तर (आइएसओ) अनिवार्य गरेको छ । सबै गरेर हाल ६१ प्रकारका वस्तुमा गुणस्तर मापदण्ड कायम गरिएको छ ।
प्रतिक्रिया 4