Comments Add Comment

प्रेस रिभ्यूः राष्ट्रियसभा उम्मेदवार बन्न दौडधुप, यस्ता छन् मुख्य तीन पार्टीका आकांक्षी

सीटीईभीटीमा नातावादः ३१ जोडी श्रीमान्–श्रीमती जागिरे !

१ माघ, काठमाडौं । राजधानीबाट आज प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक फरक समाचारलाई स्थान दिएर छापेका छन् ।

राष्ट्रियसभा सदस्य चुनाव नजिकिँदै गर्दा यसका आकांक्षीहरु खुल्न थालेका छन् । यो विषयलाई आज नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएर छापेको छ ।

वीरगन्जको सुपर ग्यास उद्योगमा ग्यास लिकपछि भएको आगलागी प्रकरणमा सरकारी अध्ययन टोलीले दोषी उद्योगको बचाउ गर्दै सामान्य कारबाहीको सिफारिस गरेको खबरलाई पनि आजका पत्रिकाहरुले समेटेका छन् ।

यसका आलावा जाजरकोटको महामारीग्रस्त क्षेत्रमा पुगेको सरकारी टोलीले रोग पत्ता लगाउन मृतकका आफन्तसँग सोधपुछ थालेको, चुनावपछि सरकारले साढे १६ करोड बाँडेको लगायत खबर पनि पत्रपत्रिकाहरुको प्राथमिकतामा परेका छन् ।

दोषी ग्यास उद्योगको पक्षमा सरकारी अध्ययन टोली, सामान्य कारबाही गर्न सिफारिस

वीरगन्जको सुपर ग्यास उद्योगमा ग्यास लिकपछि भएको आगलागी प्रकरणमा सरकारी अध्ययन टोलीले दोषी उद्योगको बचाउ गर्दै सामान्य कारबाहीको सिफारिस गरेको खबरलाई आज अन्नपूर्ण पोस्ट दैनिकले महत्त्वका साथ पहिलो पृष्ठमा छापेको छ ।

सरकारी टोलीले अध्ययनपश्चात् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा दोषी मानिएका उद्योगीलाई सामान्य कारबाहीको सिफारिस गरिएको समाचारमा उल्लेख छ ।

पुस ५ गते भएको उक्त दुर्घटनाको यथार्थ जानकारी लिन प्रधानमन्त्री कार्यालयको निर्देशनमा आपूर्ति मन्त्रालयले आपूर्ति विभागको महानिर्देशक कुमार दाहालको संयोजकत्वमा गृह, उद्योग मन्त्रालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग सदस्य रहने गरी ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिले पुस ७ देखि १२ गतेसम्म स्थलगत अध्ययन गरी अघिल्लो सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई प्रतिवेदन बुझाएको छ ।

‘सरकारी टोलीले उद्योगको हकमा कारबाहीबापत सामान्य प्रकृतिको प्रडक्ट डेलिभरी अर्डर (पीडीओ) मात्रै रोक्ने सिफारिस गरेको छ’, समाचारमा लेखिएको छ, ‘मानव बस्ती र कार्यरत कर्मचारीको ज्यानै जोखिममा राखेर असुरक्षित रूपमा उद्योग सञ्चालन गरे पनि कडा खालको कारबाहीका लागि सिफारिस गरेको छैन ।’

जाजरकोट महामारीः रोग पत्ता लगाउन मृतकका आफन्तसँग सोधपुछ !

आज अन्नपूर्ण पोस्ट दैनिकमै ज्यान गुमाएको डेढ महिनापछि जाजरकोटको जुनिचाँदे गाउँपालिकाका शिशु र वृद्धवृद्धा के कारणले मृत्यु भएको यकिन गर्न भर्बल अटोप्सी गर्न थालिएको समाचार छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.भीम आचार्यले अन्नपूर्णसँग भनेका छन्, ‘मृत्यु भएकाहरूलाई जलाइसकेकाले के रोगले मरे भन्ने पुष्टिसहित मृत्युको सम्भावित कारण पत्ता पाउन भर्बल अटोप्सी (मौखिक रूपमा नातेदारसँग सोधपुछ) गर्छौं । लक्षणसहित सबै तथ्य लिएपछि के कारणले मरेको हो पत्ता लगाउन सकिएला भन्ने आशा छ ।’

सातदिने शिशुदेखि वृद्धले ज्यान गुमाएको डेढ महिनापछि थाहा पाएको सरकारले मरेका व्यक्ति कुन रोगले मरे भन्ने पत्ता लगाउन ‘भर्बल अटोप्सी’ (आफन्त र नातेदारसँग सोधपुछ गरेर पत्ता लगाउने तरिका) अपनाएको हो ।

चिसोको सकसः किरिया गर्ने पनि बचेनन्

राजधानी दैनिकले आज शीतलहरपछि तराईमा बढेको चिसोले पुर्याएको क्षतिलाई मुख्य समाचार बनाएर छापेको छ ।

चिसोका कारण रौतहटमा मात्रै १९ जनाको मृत्यु भएको र किरिया गर्ने पनि नबचेको समाचारमा उल्लेख छ ।

राष्ट्रियसभामा को–को दाबेदार ?

५६ सिटका लागि २४ माघमा हुने निर्वाचनमा उम्मेदवार बन्न आकांक्षीहरु सिंहदरबारदेखि नेताका घरघर धाउन थालेको समाचारलाई आज नयाँ पत्रिका दैनिकले ‘राष्ट्रियसभामा को–को दाबेदार ?’ शीर्षक दिएर लेखेको छ ।

राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवारीको गृहकार्य गरिरहेको वाम गठबन्धनले कम्तीमा ३८ र बढीमा ४१ सिटसम्म जित्न सकिने प्रारम्भिक आकलन गरेको समाचारमा उल्लेख छ । एमाले र माओवादीले सातवटै प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्यको मतभारका आधारमा जित्ने सिटको प्रारम्भिक आकलन गर्दै त्यसअनुसार तालमेल गर्ने गरी छलफल अघि बढाएका छन् ।

एमालेबाट को–को ?

समाचार अनुसार एमालेबाट प्रदेश १ मा अग्नि खरेल, जगन्नाथ खतिवडा, रेवती भण्डारी, हरिशरण सिवाकोटी, कालुराम खम्बू, देवेन्द्र दाहाल, तिलकुमार मेयाङ्बो, गुरु बराल, ओम कोइराला, दीपक कार्की, उमेश डाँगी, लक्ष्मीनारायण चौधरी, मणिराज राई, कर्ण घले, अगम बान्तवा, विशेश्वरा दाहाल, टुन्जा बराइली, रामलाल शाह, गंगा डाँगी र गोपाल गुरागाईं आकांक्षी छन् ।

प्रदेश २ बाट सुमन प्याकुरेल, सुधीर साह र भोला घिमिरेले लबिङ थालेका छन् ।

प्रदीप नेपाल, बेदुराम भुसाल, रघुजी पन्त, विष्णु रिमाल, काशीनाथ अधिकारी, आनन्दप्रसाद पोखरेल, डा. गंगालाल तुलाधर, देवशंकर पौडेल, शिवप्रसाद भण्डारी र बालकृष्ण सिवाकोटी पनि राष्ट्रियसभा सदस्य हुने धुनमा छन् । देवी ज्ञवाली, शान्ति अधिकारी, सावित्रा भुसाल, सुशीला नेपाल, पार्वती रावल, जगन्नाथ आचार्य, मेघनाथ पौडेल, राजेन्द्र राजथला, प्रेम पराजुली, बाबुरत्न पोडे, सीताराम मास्के, बालकृष्ण गिरीले पनि आकांक्षा देखाएका छन् ।

माओवादीका आकांक्षी
प्रदेश १ः हेमराज भण्डारी, सावित्रीकुमार काफ्ले, बाबुराम गौतम र टंक राई
प्रदेश ३ः रामबहादुर थापा बादल, अमिक शेरचन, गंगाबहादुर कार्की, देवी खड्का, कृष्णप्रसाद सापकोटा र विमला सुवेदी
प्रदेश ४ः दीनानाथ शर्मा, रामराज रेग्मी, कोमल बराल, बलावती शर्मा
प्रदेश ५ स् कुवेर ओली, विष्णु चौधरी, मानबहादुर बुढा, दलजित श्रीपाइली, मेघबहादुर श्रेष्ठ, चन्द्रबहादुर खड्का, जोखबहादुर महरा, सुरेन्द्र घर्ती, सीता आचार्य
प्रदेश ६ः मंगल शाही, मायाप्रसाद शर्मा, उर्मिला विक, टीका बुढाथोकी, डा. केबी रोकाय
प्रदेश ७ः हरि चौधरी, रमा ढकाल, सहदेव बोगटी, विनिता नेपाली, पदम जोशी, कौशिल्य ओझा

कांग्रेसका आकांक्षी
प्रदेश १ः केबी गुरुङ, गुरु घिमिरे, सरिता प्रसाईं, केशवकुमार बुढाथोकी, सूर्यमान गुरुङ, दीपकप्रकाश बास्कोटा, बद्रीनारायण चौधरी, दिपन श्रेष्ठ, नरेश श्रेष्ठ, विनोद बस्नेत
प्रदेश २ः कल्याण गुरुङ, रामकुमार चौधरी, मोहमद महताब आलम, शोभाकर पराजुली, अजय चौरसिया, अमिय यादव
प्रदेश ३ः मनमोहन भट्टराई, कृष्णा अमात्य, तीर्थ पसखल, बालचन्द्र शर्मा, विकास लामा, दुर्लभ थापा, ओमकारप्रसाद श्रेष्ठ, विष्णुदेवी पुडासैनी, धना खतिवडा
प्रदेश ४ः तारानाथ रानाभाट, रामचन्द्र पोखरेल, कमला पन्त, धनराज गुरुङ, सुरेन्द्र पाण्डे, तुल्सीनारायण श्रेष्ठ, खगेन्द्र रेग्मी
प्रदेश ५ः बलदेव शर्मा मजगैयाँ, योगेन्द्र चौधरी, निरञ्जन श्रेष्ठ, महेन्द्र शर्मा, कृष्ण कार्की, किरण कोइराला
प्रदेश ६ः गोविन्द मल्ल, रवीन्द्र श्रेष्ठ
प्रदेश ७ः बद्री पाण्डे, प्यारेलाल राना, शिवराज भट्ट

सीटीईभीटीमा नातावादः ३१ जोडी श्रीमान्–श्रीमती कार्यरत


कान्तिपुर दैनिकले आज प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटईभीटी)मा जागिर खानेमध्ये १४ प्रतिशत नातागोता भएको समाचारलाई मुख्य समाचार नै बनाएर छापेको छ । समाचार अनुसार, ३१ जोडी श्रीमान्-श्रीमती यहाँ कार्यरत छन् ।

हाल कार्यरत ९ सय ३२ कर्मचारीमध्ये १ सय ३० भन्दा बढी पारिवारिक सदस्य त छन् नै, श्रीमान्–श्रीमतीसमेत ३१ जोडी छन् । यसमा निर्देशक तहका कर्मचारीसमेत पर्छन् ।

समाचार अनुसार, पूर्वसदस्य सचिव रामहरि लामिछानेकी श्रीमती संगीता अहिले पनि सीटीईभीटीमै जागिरे छिन् । रामहरि भने सदस्यसचिवबाट राजीनामा दिएर कोलम्बो प्लान स्टाफ कलेज (सीपीएससी) फिलिपिन्सको महानिर्देशक पदमा छन् ।

चुनावपछि सरकारले बाढ्यो साढे १६ करोड

नागरिक दैनिकका अनुसार, नेपाली कांग्रेसका सभापति शेरबहादुर् देउवा नेतृत्वको सरकारले १८ दिनमा दलका नेता तथा कार्यकर्तालाई आर्थिक सहायताका नाममा साढे १६ करोड रुपैयाँ बाँडेको छ।

नयाँ जनादेश आएपछि कामचलाउ भएको देउवा सरकारले मंसिर २५ र पुस १३ गते गरी ८ सय ७३ जनालाई राज्यको ढुकुटीबाट १६ करोड ५३ लाख ५० हजार रुपैयाँ बाँडेको समाचारमा उल्लेख छ ।

असहाय जनतालाई औषधि–उपचारका लागि सरकारले आर्थिक सहायताको नाममा उपलब्ध गराउने रकम पाउने थोरै मात्र वास्तविक बिरामी हुन्छन् । आर्थिक सहायता प्राप्त गर्ने अधिकांश दलका पहुँचवाला नेता तथा कार्यकर्ता नै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment