१ माघ, पोखरा । एसियन सेभेन ए साइड फुटबल महासंघले साउथ एसियन फुटबल प्रतियोगितामा सहभागी देशले तीन जना खेलाडी विदेशी राख्नसक्ने प्रावधान रहेको दाबी गरेको छ ।
१२ औं साउथ एसियन सेभेन ए साइड फुटबल प्रतियोगितामा माल्दिभ्सले तीन जना खेलाडी भारतको राखेको विषयमा विवाद सुरु भएपछि महासंघले स्पष्ट पार्दै एउटा देशले तीनजना विदेशी खेलाडी राख्न पाउने बताएको हो ।
यद्यपि त्यसरी खेलाडी राख्दा सम्बन्धित देशको नो अब्जेक्सन लेटर चाहिने एसियन सेभेन ए साइड फुटबल प्रतियोगिताका महासचिव डी रवि कोण्डियाले बताए । तर, पोखरामा जारी १२ औं साउथ एसियन सेभेन ए साइड फुटबल प्रतियोगितामा माल्दिभ्सबाट खेल्ने सबै खेलाडी भारतीय रहेको आशंका गरिएको छ ।
गोल नेपाल डटकमका विक्रम थापाका अनुसार माल्दिभ्स र भुटानका ओलम्पिक कमिटीले आफ्नो देशमा सेभेन ए साइड फुटबल महासंघ नरहेको र सेभेन ए साइड फुटवल टिम पनि नरहेको जनाएका छन् ।
त्यस्तै खेल्न आएका खेलाडीको पासपोर्ट पनि नरहेको बताइएपछि ती देशबाट खेलेका सबै खेलाडी भारतको भएको हुनसक्ने आशंका गरिएको हो ।
महासचिव कोण्डियाले क्रिकेटमा टी-ट्वान्टी प्रतियोगितामा पनि एक देशले अर्को देशको खेलाडी प्रयोग गर्न पाउने नियम रहेको दाबी गर्दै सोही आधारमा टेकेर एसियन सेभेन ए साइड फुटबल महासंघले पनि यो नियम बनाएको जिकिर गरे ।
उनले हुँदै नभएको समस्या देखाएर खेल प्रभावित पार्न खोजेको बताउँदै प्रतियोगिताबारे कहिंकतै समस्या नभएको दाबी गरे । उनले माल्दिभ्सबाट खेलेका खेलाडी माल्दिभ्सको बोर्डर क्षेत्रको रहेको र भारतले नो अब्जेक्सन लेटर दिएकाले उनीहरुले खेल्न पाउने दाबी गरे ।
महासंघका महासचिव कोण्डियाले सेभेन ए साइड फुटबल प्रतियोगिता नेपालबाटै सुरु गरेर १२ औं संस्करणमा आउँदो तेश्रोपटक नेपालमा भइरहेको भन्दै यसको विरोध गरेर खेल क्षेत्र नधिमिल्याउन आग्रह गरे ।
उनले २०२० मा नेपालमै सेभेन ए साइड वर्ल्ड च्याम्पियनसीप गर्न लागेको पनि बताए ।
प्रतियोगिता संयोजक तथा नेपाल सेभेन ए साइड फुटवल महासंघका अध्यक्ष नवीन पुनले पनि संस्थाको नियम अनुसार नै माल्दिभ्सले सीमा क्षेत्रका ३ खेलाडी खेलाएको बताए ।
उनले काम गर्ने क्रममा गल्ती भए सच्याउन सकिने भएपनि हुँदै नभएको गल्ती देखाएर प्रतियोगितामा अवरोध सिर्जना गर्ने प्रयास भएको बताए । उनले भने,’गल्ती छ भने सच्याउन सकिन्छ, तर हुँदै नभएको गल्ती देखाएर प्रतियोगिता प्रभावित पार्न खोजिदैछ ।’
उनले सेभेन ए साइड फुटवल खेल भयो भने खेलाडी सधै अध्यस्त भइरहने र त्यसले समग्र फुटवल खेलकै विकासमा योगदान दिने बताए ।
छानविन गर्न एन्फाको माग
यसैबीच, अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका पूर्व सचिव सुदर्शन रञ्जितले विज्ञप्ति जारी गर्दै प्रतियोगितामा माल्दिभ्सका खेलाडीमाथि उठेको प्रश्नको छानविन गर्न माग गरेका छन् ।
उनले नेपालमा खेल भइरहेको खेलमा खेलाडी विवाद हुँदा नेपालको अन्तर्राष्ट्रिय छवि बिग्रने भन्दै विवादको सत्यतथ्य पत्ता लगाउन छानविन गर्न माग गरेका हुन् ।
उनले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समितिलगायतलाई प्रतियोगितामा उठेको विवादबारे छानविन गर्न माग गरेका हुन् ।
तर, नेपाल सेभेन ए साइड फुटवल महासंघ फुटबलको सर्वोच्च निकाय फिफा, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषदलगायत कुनैपनि संस्थासँग आबद्ध नभएको देखिएको छ ।
यसैलाई आधार मान्दै एसियन सेभेन ए साइड फुटवल महासंघका महासचिव डी रवि कोण्डियाले छुट्टै संस्था भएकाले कसैले पनि आफूहरुलाई कार्वाही गर्न नसक्ने दाबी गरे ।
कुनैपनि खेलकुद संस्था स्पोर्टस काउन्सिलमा दर्ता हुनुपर्ने भएपनि नेपाल सेभेन ए साइड फुटबल महासंघ दर्ता नभएको देखिएको छ ।
प्रतिक्रिया 4