Comments Add Comment

आर्मीले जित्यो खप्तड गोल्डकपको उपाधि

माघ १, कैलाली । दोस्रो संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ । सोमबार भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ट्राइब्रेकरमा ५-४ ले हराउँदै आर्मीले ११ लाख ११ हजार ११ रुपैयाँ हात पारेको छ । उपविजेता एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको छ ।

निर्धारित समयमा दुबै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो । ट्राइब्रेकरमा नेपाल एपिएफ क्लबका सुदीप सिंख्राकारको प्रहार गोलपोष्टको बायाँ बारमा लागेर बाहिरिएको थियो ।

प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि सोमबार पुरस्कार प्रदान गरिएको छ । प्रतियागितामा नेपाल एपीएप क्लबका खेलाडी अञ्जन श्रेष्ठ सर्वाधिक गोलकर्ता घोषित भए । एपीएफकै तोप विष्ट उत्कृष्ट रक्षपंक्तिका खेलाडी, आर्मीका विकेश कुथु उत्कृष्ट गोलरक्षक, आर्मीकै सन्तोष तामाङ उत्कृष्ट अग्रपंक्तिका खेलाडी घोषित भएका छन् । राइजिङ प्लेयरको पुरस्कार सुदूरपश्चिम ११ क्लबका अमानक शेषले पाए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका त्रिभुवन आर्मी क्लबका खेलाडी भरत खवास सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले यामाहा कम्पनीको मोटरसाइकल पुरस्कार पाए । विजेता टिम र खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पुरस्कार वितरण गरे ।

प्रतियोगिताको समापन गर्दै सुदूरपश्चिम ११ स्पोर्टस् क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको तेस्रो संस्करणको पुरस्कार राशीको घोषणा गरेका छन् । उनले प्रतियोगितामा प्रथम हुनेले २१ लाख रुपैयाँ र दोस्रो हुनेले १० लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment