Comments Add Comment

भोजपुरमा सडक निर्माण अलपत्र छाडेपछि ठेकेदारविरूद्ध अख्तियारमा उजुरी

पक्राउ गरेर ल्याउन सिडिअाेकाे अादेश

२ माघ, भोजपुर । भोजपुर सदरमुकामबाट टेम्केमैयुङ गाउँपालिका जोड्ने सडक निर्माण अलपत्र छाडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । भोजपुर नगरपालिकाको टक्सार हुँदै टेम्केमैयुङ, रामप्रसादराई गाउँपालिका जोड्ने सडक निर्माणको जिम्मा लिएको निर्माण कम्पनी एमकेवाइपी ज्वाइन्ट भेन्चरले काम छाडेर सम्पर्कविहीन भएपछि उजुरी परेको हो ।

नेपाली कांग्रेसका जिल्ला सभापति नन्दमणि राईसहितको टोलीले सडक निर्माणको क्रममा भइरहेको अनियमितता र तत्काल निर्माण सुरु गर्नुपर्ने मागसहित अख्तियारमा उजुरी दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त सावित्री गुरुङसहितको टोली भोजपुर आएका बेला उनीहरुले उजुरी दिएका हुन् ।

८० लाख रुपैयाँ लागतमा निर्माण भएको पर्खाल भत्काएको क्षतिपूर्ति दिनुपर्ने, काममा भएको लापरवाहीको छानबिन हुनुपर्ने र निर्माण कम्पनीलाई कारवाही गर्नुपर्ने लगायतका माग राखेर उजुरी गरिएको राईले जानकारी दिए ।

सडक निर्माण रोकिएको विषयमा जिल्ला प्रशासन कार्यालयमा पनि ठेकेदारलाई चाँडै झिकाएर काम शुरु गर्न मागसहित निवेदन परेको छ । सम्झौता अनुसार काम नभएपछि ठेकेदार देवजंग शाहीलाई झिकाउन प्रहरीलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले बताए । ठेकेदारले लापरबाही गरेकोबारे आफूकहाँ पनि उजुरी परेकोले जिल्ला प्राविधिक कार्यालयलाई सोधपुछ गरेको प्रमुख जिल्ला अधिकारी दाहालले बताए । त्यसो गर्दा पनि ठेकेदार नआएकाले प्रहरी कार्यालयलाई पत्र काटेर नै जिल्ला झिकाउन निर्देशन दिएको उनले जानकारी दिए । ‘यतिका समयसम्म काम शुरु नहुनुमा ठेकेदारसंगै क-कसको कमजोरी छ, त्यसको विषयमा पनि छानबिन हुन्छ’ प्रजिअ दाहालले भने ।

गत भदौ अन्तिम साता जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाजलगायत सरोकारवाला निकायको स्थलगत संयुक्त अनुगमनको क्रममा निर्माण कम्पनीका देवजंग शाहीले कात्तिक ७ गतेदेखि सडक निर्माणको काम शुरु गर्ने भनी लिखित प्रतिवद्धता जनाएका थिए । तर ४ महिना बित्दा पनि काम शुरु भएको छैन ।

सो सडक खण्डमा १ सय २० मिटर लामो र ९ मिटर अग्लो ग्याबिन पर्खाल लगाउनुपर्नेमा भत्काएर अलपत्र अवस्थामा छाडिएकोे छ । ठेक्का सम्झौता अन्तरगत कम्पनीले ग्याबिन वाल, मेसनरी वाल, सव बेस, साइड ड्रेन ग्याबिन जाली लगाउनुपर्छ । पर्खाल भत्काएको ठाउँमा भीर बनेको छ । सम्झौता अवधि सकिएको अवस्थामा पनि हालसम्म १२ प्रतिशत मात्र काम भएको छ ।

यातायात सञ्चालन हुने सडक ठेकदारले बिगारेर उल्टै सवारी आवागमन नै बन्द बनाएपछि स्थानीय आक्रोशित छन् । सम्झौता अनुसार काम नगर्दासम्म सम्बन्धित निकायले ठेकेदारसँग मिलेमतो गरेर बेवास्ता गरेको रामप्रसाद राई गाउँपालिका १ ओख्रेका बलराम राई बताउँछन् ।

ग्रामीण पहुँच कार्यक्रम ‘र्‍याप’ परियोजना अन्तरगत निर्माण भएको सडकमा बनाइएको अधिकांश संरचना पनि ठेकेदारले निर्माणका क्रममा भत्काएका छन् । ती ठाउँमा वैकल्पिक मार्गसमेत नहुँदा सडक सञ्चालन गर्न सकिने अवस्था छैन । सडक अवरुद्ध भएपछि रामप्रसाद राई र ट्याम्के मैयुङ गाउँपालिकाको दर्जनजति वडाका वासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् ।

निर्माण कम्पनी एमकेवाइपी ज्वाइन्ट भेन्चरले १२ करोड ५५ लाख ५६ हजार ७ सय मा ठेक्का सम्झौता गरेको थियो । कम्पनीले हालसम्म काम गरेवापत दुई पटक गरेर १ करोड २९ लाख २३ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ । सम्झौता अनुसार कम्पनीले २०७४ असोज १६ गते सम्ममा काम सक्नुपर्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment