Comments Add Comment

प्रदेशको नतिजा दिन निर्वाचन आयोगलाई बाटो खुल्यो

समानुपातिकतर्फ सांसद निर्वाचित भएको घोषणा

३ माघ, काठमाडौं । सरकारले प्रदेश प्रमुखको नियुक्ति गरेसँगै निर्वाचन आयोगले सातवटै प्रदेशसभाको समानुपातिक प्रणालीतर्फ सांसद निर्वाचित भएको घोषणा गरेको छ । बुधबार बसेको आयोगको बैठकले प्रदेशसभाको समानुपातिक पद्धतितर्फ दलहरुले नाम बुझाएका उम्मेदवारलाई सांसद निर्वाचित भएको घोषणा गरेको हो ।

निर्वाचन परिणाम सार्वजनिक भएको सात दिनभित्र प्रदेश प्रमुखलाई बुझाउनुपर्ने संवैधानकि व्यवस्था भएकाले आयोगले मत परिणाम सार्वजनिक गर्न सकेको थिएन ।

मंसिर १० र २१ गते भएको निर्वाचनबाट प्रदेशसभामा समानुपातिक तर्फ प्राप्त सिटमा दलहरुले यसअघि नै सांसदका लागि निर्वाचन आयोगमा नाम सिफारिस गरिसकेका थिए । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको बैठकले सातवटै प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने उम्मेदवारहरूको नामावलीलाई टुङ्गो लगाएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालको संविधानको धारा १७६ अनुसार प्रदेशसभा सदस्य निर्वाचनमा सातवटा प्रदेशमा गरी समानुपातिक निर्वाचन प्रणालीबाट जम्मा २२० जना उम्मेदवार निर्वाचित हुने व्यवस्था छ ।
निर्वाचित उम्मेदवारहरूको नामावली प्रदेश प्रमुखसमक्ष पठाउन, निर्वाचित उम्मेदवारहरूलाई प्रमाणपत्र प्रदान गर्न, सम्बन्धित राजनीतिक दललाई जानकारी गराउन र निर्वाचित उम्मेदवारको नामावली नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि आयोगले गरेको छ ।

प्रदेशसभामा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरुको नामावली बिहीबार आयोगको वेवसाइटमा प्रकाशित गर्ने र उनीहरुलाई प्रमाणपत्र शुक्रबार दिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment