Comments Add Comment

नेपाली विद्यार्थीको अस्ट्रेलिया मोह: कस्ता कलेज छान्ने ?

५ माघ, पोखरा । पोखराका लोकेश छन्त्यालको मन चंगा भएको छ । खुसीले सीमा नाघेको छ । कंगारुको देश पुग्न उनका खुट्टाहरु आजै उचालिएका छन् । साथीभाइ आफन्तलाई लड्डु बाँड्दै भनिरहेका छन्, ‘म त अस्ट्रेलिया जाने भएँ नि ।’

पोखराको एक्स्पट एजुकेशन कन्सल्टेन्सीको परामर्शमा अस्ट्रेलियाको यात्रा तय गर्दैछन् उनी, नर्सिङ अध्ययनका लागि । ‘आफन्तहरु उतै छन्, साथीभाइ पनि उतै अध्ययन गर्दैछन्,’ लाकेशले भने, ‘म पनि ३ वर्षे नर्सिङ कोर्ष गर्न जान लागेको हुँ ।’

लोकेशजस्ता सयौं विद्यार्थीको मन यतिबेला कंगारुको देशतिर छ भने नजर परामर्श दिने कन्सल्टेन्सीतिर । विमानस्थलबाट सुटकेस गुडाउँदै आइपुगेका युवा, छुट्टिका लागि नेपाल आएर अस्ट्रेलियातिरको अवस्था र व्यवस्थाको बखानले पनि प्लस टु पास गरेपछि मध्यम र उच्च परिवारका विद्यार्थीका ध्यान वैदेशिक अध्ययनतिर मोडिएको छ ।

विद्यार्थीको च्वाइस फेरिइरहन्छन् । अहिले सर्वाधिक रोजाइमा अस्ट्रेलिया परेको छ । ‘विश्वविद्यालय, पढाइ र पढाइपछिको भविष्य, पिआर लिन चाहनेहरुका लागि पनि सहज वातावरण हरेक हिसाबले विद्यार्थीको च्वाइसमा अस्ट्रेलिया पर्न थालेको छ,’ वैदेशिक अध्ययनको गन्तब्य अस्ट्रेलिया बनाएका विद्यार्थीलाई परामर्श दिने कन्सल्टेन्सीहरुको छाता संगठन नेपाल अस्ट्रेलियन परामर्श संघ (नायर)का अध्यक्ष नारायण पहारी भन्छन्, ‘ अस्ट्रेलियामा विद्यार्थीले भविष्य, परिवार र आफूलाई सुरक्षित महसुससमेत गर्न पाउँछन् ।’ अस्ट्रेलिया स्वप्नलोकका रुपमा खडा भएको छ नेपाली विद्यार्थीका लागि आफ्ना सपना र करिअरको स्तम्भ गाड्न सकिन्छ ।

पढ्न गएका विद्यार्थीले गरेका प्रगति, परिवार र भविष्य सरक्षित तथा नेपाल फर्केर पनि उनीहरुले गरेको प्रोफेसनल लाइफ देखेर पनि विद्यार्थी अष्ट्रेलिया जान लालयित भएको परामर्शदाता बताउँछन् । देशका विभिन्न सहरमा अस्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श दिँदै आएका कन्सल्टेन्सीलाई एउटै छाता संगठन आवद्ध गराएर विद्यार्थीको भविष्यलाई अझ सुरक्षित र व्यवस्थित गराउने काम गरिएको नायरका अध्यक्ष पहारीले बताए ।

अस्ट्रेलिया जान चाहाने विद्यार्थीको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । तथ्याङ्कअनुसार गएको वर्षमात्रै नेपालबाट १४ हजारको हाराहारीमा विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया उडेका थिए । एक प्रदेश एक महादेशको रुपमा नेपाली पाठ्यक्रममै पढेका विद्यार्थीले अस्ट्रेलिया जाँदा भने अनेक कुरामा ध्यान पुर्‍याउनु पर्छ । नेपालभन्दा ५३ गुणा ठूलो भएर पनि जम्मा दुई करोड ४० लाखको आसपासमा जनसंख्या छ, अस्ट्रेलियाको । जम्मा ६ वटा राज्य र दुईवटा टेरिटोरीमा बाँडिएको अष्ट्रेलियाले आवश्यक मानव जनशक्ति आप्रवासीहरुबाट पूरा गर्ने गरेको छ ।

यहाँबाट बुझेको र सपनाको अस्ट्रेलियाजस्तो त्यहाँ पुगेपछि हुँदैन । परामर्शदाता रमेश थापा भन्छन्, ‘हामीले पहिल्यै गतिलो परामर्श लिएर गएनौं भने अनेक दुख पाउन सक्छौं, कलेज, फी, सेवासुविधा, करिअर सबै कुरा नेपालमै स्पष्ट भएर जानुपर्छ ।’

कुन सहर जाने ? कुन विश्वविद्यालयमा कुन कोर्ष गर्नका लागि जाने ? त्यहाँको नियम कानुनदेखि सुविधासम्म केके छन् ? कलेज फी र जाँदा लाग्ने खर्च कति हो ? लगायतका जिज्ञासा लिएर विद्यार्थीको पाइलाले यतिबेला कन्सल्टेन्सी चाहारिरहेका छन् ।

कस्ता विद्यार्थी जान पाउँछन् अस्ट्रेलिया ?

अस्ट्रेलिया धेरैका लागि मात्र सपनाको सहर हो । समान्य परिवार र पढाइमा कमजोर विद्यार्थीले अस्ट्रेलिया जाने अवसर कमैमात्र पाउँछन् । अस्ट्रेलियाले विद्यार्थीको पारिवारीक अवस्था, शुल्क तिर्न सक्छन् कि सक्दैनन् ? बैंक ब्यालेन्स कति छ ? सबै कुराको अध्ययन गरेरमात्र भिसा दिने गरेको छ ।

अस्ट्रेलियाका प्राय विश्वविद्यालयले नेपालका नबिल र एसविआई बैंकलाई मान्यता दिएका छन् । बैंक ब्यालेन्स, शैक्षिक कर्जा र अभिभावको आम्दानीको स्रोत करिब वाषिर्क १५ लाख तथा सम्पत्ति मूल्यांकन एक करोड रुपैयाँको देखाउन नसक्ने विद्यार्थी अस्ट्रेलियाको रोजाइमा नपर्न सक्छन् ।

अष्ट्रेलिया अंग्रेजी भाषी देश भएकाले अनिवार्य रुपमा अंग्रेजीमा दख्खल राखेकै हुनुपर्ने परामर्शदाता बताउँछन् । आइइएलटिएस अथवा भाषा परीक्षणमा कम्तिमा स्नातकका लागि ६ र स्नातकोत्तर तहका लागि ६.५ स्कोर प्राप्त गरेको हुनुपर्छ । आइइएलटिएसबाहेक विश्वविद्यालय, कलेज अथवा भिसा अफिसले टोफल, पिटिई, सिएइ लगायतका भाषा परीक्षा पनि मान्यता दिएका छन् । कुनै फोजदारी मुद्धा लागेका, अन्य देशमा भिसा रिजेक्ट भएका विद्यार्थी पनि अस्ट्रेलिजा जान पाउने अवसरबाट बञ्चित हुन सक्ने परामर्शदाता बताउँछन् । सबै योग्यता पुगेका, डाकुमेन्ट तयार भएका विद्यार्थीले अप्लाई गरेको ३ महिनाभित्र भिसा पाउन सक्ने परामर्शदाता बताउँछन् ।

सबै कुरामा योग्य भएर पनि अस्ट्रेलिया पुग्नुअघि विद्यार्थीले धेरै कुरामा विचार पुर्‍याएनन् भने फेरि दुख पाउन सक्छन् । कतिपय विद्यार्थी आˆनै असाबधानीका कारण फस्ने गरेको परामर्शदाता बताउँछन् । त्यस कारण पनि विद्यार्थीले अस्ट्रेलिया जानुअघि प्रोसेसदेखि हरेक विषयमा दख्खल राख्नैपर्ने पहारी बताउँछन् ।

कस्ता कलेज छान्ने ?

अस्ट्रेलियामा कलेज थुप्रै छन् । ४०/४२ वटा युनिभर्सिटिी छन् । तिमध्ये जिएट भन्ने ग्रेड एटका युनिभर्सिटी ठूला र महंगा छन् । ती नेपालीले अफोर्ड गर्न नसक्ने छन् । ती कलेजको तार्गेट नै विकसित मुलुकका विद्यार्थी हुन् । ती बाहेकका युनिभर्सिटी नेपाली विद्यार्थीले रुचाएका छन् ।

‘कतिपय कलेज पनि युनिभर्सिटी लेबलकै छन् । फी र सेवा सुविधा पनि ठूला युनिभर्सिटीका जस्तै छन्,’ अस्टे्रलिया जाने विद्यार्थीका लागि परामर्श दिँदै आएका रमेश थापा भन्छन्, ‘कतिपय कलेजले डिप्लोमासम्म र केहीले मास्टर्ससम्म पढाउने अनुमति लिएका हुन्छन् । जानुपहिले नै हामीले अफोर्ड गर्न सक्ने कलेज कुन हो ? पढाइको स्तर र फी स्टक्चरदेखि सुविधासम्म केके चाहिने हो यहींबाट रोज्नुपर्छ नत्र दुख पाइन्छ ।’ वाषिर्क १८ हजार डलरदेखि ३० हजार डलरसम्म फी तिर्ने गरी नेपाली विद्यार्थी जाने गरेका छन् ।

आफू जान लागेको कलेजको सम्पूर्ण डिटेल, त्यहाँको सेवा सुविधा, फी, पढाइको स्तर, त्यो सहरको हावापानी सबै कुरा नेपालमै डिक्लिएर गरेर जाँदा अस्ट्रेलिया पुगेर कलेजकै कारण दुख व्यहोर्न नपर्ने अस्ट्रेलिया जाने विद्यार्थीलाई परामर्श दिँदै आएको नेप्लिज इनकाउन्टर्सका नारायण पहारीले जानकारी दिए ।

कस्ता विषय छन् रोजाइमा ?

विद्यार्थीको अध्ययनको रोजाइ त धेरै हुन सक्छन् तर, विद्यार्थीले जीवनोपयोगी र पढाइपछि पनि तुरुन्तै काम पाइने खालका विषय रोजेर अस्ट्रेलिया जाने गरेका छन् । हाम्रो देशमा नर्सिङ विषयमा अध्ययन गर्ने अधिकांश युवति छन् । तर अस्ट्रेलिया अध्ययन गर्न जाने धेरै युवायुवतिको रोजाइ नर्सिङ हो । नर्सिङ अन्तर्गत पनि चाइल्ड हेल्थ, एज्ड कियर, डिसेबल कियर लगायतका कोर्ष पनि छन् ।

नर्सिङसँगै आइटी र व्यबस्थापन विद्यार्थीको दोस्रो रोजाइ बनेको छ । यीलगायत अन्य विषयको स्कोप पनि राम्रो छ । खास गरी सिड्नी, मेलबर्न, बि्रसबेन, पर्थ जस्ता सहर विद्यार्थीको रोजाइका सहर हुन् ।

पढ्दै कमाउँदै होइन, पढाइपछि कमाई

अस्ट्रेलिया जानुअघि धेरैको सोच पढ्दै कमाउँदै गर्ने भन्ने हुन्छ । पढ्दै गर्दा हप्ताको २८ घन्टासम्म विद्यार्थीले काम गर्न पाउँछन् तर त्यो कमाएर घर पठाउँला, फी तिरौंला भन्नुभन्दा पनि पकेट खर्चका लागिमात्र हुन्छ । पढाइ सकिएपछि प्राक्टिकल्ली काम गर्नका लागि २ वर्षको पिएसडब्लु विद्यार्थी पाउँछन् ।

कोर्ष सुकिएपछि विद्यार्थीले फुल टाइम काम गर्न पाउँछन् । त्यही बेला हो कमाइ गर्ने, पैसा जम्मा पर्ने । अब हामी अस्ट्रेलियातिरै बस्छौं भनेर विद्यार्थीले चाहे पिआर एप्लाईका लागि पनि सहज हुने पढाइपछि नै हो । प्वइन्ट बेसमा नम्बर जोडिएर उनीहरुले पिआर पाउँछन् ।

‘विद्यार्थीले साताको २८ घन्टा काम गर्न पाउने नियम छ । यसकारण पनि सुरुवातमा सेटल हुन केही गाह्रो भए पनि क्रमिक रुपमा विश्व बजारमा बिक्ने गरी क्षमता विकास गर्न सक्षम भएका छन्,’ परामर्शदाता अर्जुन गुरुङ बताउँछन् ।

फर्केर देशमै लगानी

अहिले अस्ट्रेलिया लगायतका देश जाने विद्यार्थीको ओइरो देख्दा लाग्न सक्छ, दक्ष जनशक्ति पलायन भए देश रित्तिँदैछ । तर, ती जनशक्ति निश्चित समयपछि देशमै फर्केर लगानी गरिरहेको नाएर अध्यक्ष पहारी बताउँछन् ।

‘अस्ट्रेलिया पुगेका धेरै युवा दक्ष बनेर देशमै फर्केर लगानी गरेका छन् । गाउँगाउँसम्म लगानी पुर्‍याउने, होटल खोल्नेदेखि नयाँ व्यावसायिक काम थाल्ने व्यक्तिहरुको रिसर्च गर्‍यो भने अस्ट्रेलिया लगायत विकसिट मुलुकबाटै फर्केका छन्,’ पहारीले भने ।

पछिल्ला विकसित देशको उदाहरण हेर्ने हो भने पनि विदेशमै गएर अध्ययनपछि देश फर्केर उद्यम गरेका युवाका कारण विकास भएको एक्स्पट एजुकेशनका रमेश बताउँछन् । ‘७/८ वर्ष अस्ट्रेलिया बसेर आएका थुप्रै

युवाले अहिले पोखरामा व्यवसाय गरेका छन्,’ थापाले भने, ‘हिजो जापानमा पनि त्यही भएको हो, कोरिया पनि त्यही भएको हो । पोलिसी मेकर त्यस्ता आए जसले विदेश रहेका दक्ष युवा देश फर्काएर काममा लगाउन सके । हाम्रो देशमा पनि त्यो अवस्था आउन सक्छ ।’ वैदेशिक अध्ययनले व्यक्तिको करिअरमात्रै नभएर देशमै थुप्रै लगानी भइरहेको परामर्शदाता बताउँछन् ।

‘हाम्रो मुख्य चाहना पनि नेपाली विद्यार्थी उतै पलायन हुनुभन्दा त्यहाँ कमाएको ज्ञान र सीपलाई नेपालमै उत्पादनमूलक बनाए हुन्थ्यो भन्ने हुन्छ,’ परामर्शदाता किशोर परियार भन्छना्, ‘त्यही अनुरुप अहिले विद्यार्थीहरु क्रमिक रुपमा मोटिभेटेड हुँदैै गएका पनि छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment