Comments Add Comment

सिमानामा पुगे अनेरास्ववियु र अखिल क्रान्तिकारी

७ माघ, वीरगञ्ज । सीमा क्षेत्रमा देखिएको समस्याको बारेमा अध्ययन गर्न अनेरास्ववियु र अखिल क्रान्तिकारीको टोली वीरगञ्ज आइपुगेको छ ।

अनेरास्ववीयुको अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोली वीरगञ्ज आईपुगेको हो ।

उनीहरुले वीरगञ्ज महानगरपालिका वडा नं १ को सीमा क्षेत्रको स्थलगत अवलोकन गर्नेछन् । नेपालको सीमा भारततर्फ मिचिएकोबारे जानकारी पाएपछि स्थलगत अध्ययनका लागि टोली वीरगञ्ज आएको अखिल क्रान्तिकारीका नेता प्रभाकर गुप्ताले बताए ।

नेपालको धनी पूर्जा लिएर, नेपाल सरकारलाई तिरो तिरेको जमिन भारतमा पर्न गएको, नेपालतर्फ परेको जमिनपनि भोगचलन गर्न नपाएको भन्ने बारे बुझ्न सीमा क्षेत्रमा आएको अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले बताए ।’

हामीलाई पनि उनीहरुको एक वित्ता जमिन चाहिदैन, हाम्रो पनि जानुभएन,’ उनले भने ‘ हाम्रो सरोकार भनेको नेपालको धनी पूर्जा भएको जमिन कसरी भारतमा पर्‍यो ? भन्ने नै हो, केही हामीले विज्ञसँग बुझेर आएका छौं । अब हामी स्थानीयसँग र प्राविधिक टोलीसँग पनि कुरा गर्छौ, र सत्य तथ्य बुझ्छौं ।’

दशगजामा नेपाली पक्षले भन्दा बढी भारतीय पक्षले बस्ती बसाएको र खेतिपाती गर्न लगाएको बताउँदै अध्यक्ष तामाङले त्यसको अन्त्यका लागि पनि दुवै संगठनले दवाव दिने बताए ।

अनेरास्ववियुको अध्यक्ष नविना लामाले सीमा क्षेत्रमा देखिएको समस्याको दिगो समाधानका खोज्नुपर्नेमा जोड दिइन् ।

‘कहिले सुस्ता, कहिले लिपुलेक, कहिले कालापानीमा यस्तो समस्या किन देखिन्छ । किन सीमाको विषयलाई लिएर हामीले विवाद गर्नुपर्ने हुन्छ ?’ उनले भनिन् ‘ किन भारतीयहरु विभिन्न नामबाट नेपालको जमिन मिच्छन् ।

यसको अब दीर्घकालीन समाधन खोजिनुपर्छ ।’ उनले सीमा क्षेत्रमा स्थलगत अध्ययन गरेर फर्केपछि नेपाल सरकार र भारतीय सरकार दुवैको ध्यानाकार्षण गराउने पनि बताइन् । ‘नेपाल सरकारको कमजोर प्रस्तुती नेपाली अधिकारीहरुको लाचारीका कारण ठाउँ ठाउँमा नेपालको भूमी भारतले अतिक्रमण गरिरहेको छ ।’ उनले भनिन्, ‘ अब त्यसको दीर्घकालीन समस्या समाधान हुनुपर्छ, त्यसका लागि हामी दुवैतर्फ दवाव दिन्छौं ।’

नेपाल र भारतबीच सन २००७ मा भएको पछिल्लो सम्झौता अनुसार अहिले ‘स्ट्रिप म्याप’का आधारमा सीमा क्षेत्रमा हराएका वा जीर्ण बनेको पिल्लर मर्मत र निर्माणको काम भइरहेको छ ।

सो क्रममा वीरगञ्ज उपमहानगरपालि वडा नं १ छपकैया क्षेत्रमा मात्रै झण्डै नम्बरी, पर्ति र ऐलानी गरी ५० विगाहा जमिन भारततर्फ गर्न गएको स्थानीयको दावी छ । त्यसबारे नापी विभागका निर्देशकसहितकोे टोलीले शनिबारदेखि प्राविधिक अध्ययन गरिरहेको छ ।

नेपाल अंग्रेज युद्धको विधिवत समाप्तिका लागि नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सन्धी ‘सुगौली सन्धि’ हो । यो सन्धिमा नेपालले आफ्नो अधिनस्थ भूमिको २ तिहाई भू-भाग गुमाउनु परेको थियो ।

ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपालबीच २ डिसेम्बर १८१५ मा यो सन्धिमा हस्ताक्षर भएकोे पुष्टि ४ मार्च १८१६ गरिएको थियो । सन्धिमा सीमा रेखा स्पष्ट नभएकोले सीमांकन गर्न समस्या परिरहेछ । लगभग ६० हजार हेक्टर जमीनमा विवाद रहेको बताईन्छ । यी जमीनहरूमा दाबी प्रतिदाबी, बहस चलिरहेका छन् ।

कालापानी, लिम्पियाधुरा, सुस्ता, मेचीक्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, हिले लगायत ५४ वटा क्षेत्रमा पनि सीमा विवाद देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment