Comments Add Comment

प्रेस काउन्सिलको मञ्चमा ‘प्रेसबाटै पीडित’ प्रधानन्यायाधीश पराजुली

लाइक र शेयर बढाउन हैन, सत्यका लागि लेख्नुस्

७ माघ, काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुली आइतवार नेपाल प्रेस काउन्सिलको एक कार्यक्रममा मिडियाबाट पीडित पात्रका रुपमा प्रस्तुत गरिए ।

कार्यक्रमको स्वागत भाषण गर्ने काउन्सिल सदस्य सुदर्शन आचार्यदेखि पराजुलीभन्दा ठीक अगाडि बोल्ने पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसम्मको अभिव्यक्तिले प्रधानन्यायाधीश पराजुलीलाई ढाडस दियो ।

डा.गोविन्द केसीले पराजुलीविरुद्ध थालेको अभियानका क्रममा ‘केही मिडिया’ले नियोजितरुपमा खेदेको र देशको न्याय प्रणालीप्रति नै जनतामा घृणा पैदा गराउन खोजेको टिप्पणी उनको उपस्थितिमा पत्रकारिता क्षेत्रका व्यक्तिले नै गरेपछि प्रधानन्ययाधीशलाई राहत मिल्यो ।

आफूलाई मिडिया पीडितका रुपमा प्रस्तुत गरिएपछि प्रधानन्ययाधीश पराजुलीलाई पनि बोल्न सजिलो भयो ।

सूचना विभागको हलमा अनलाइनबाटै मिडिया र पत्रकारविरुद्ध उजुरी गर्न मिल्ने प्रणालीको उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा निम्त्याइएका पराजुलीले पनि यो मौका गुमाउन चाहेनन् ।

उनले राम्रो काम गर्ने पत्रकारको प्रशंसा गर्दै नियतवश चरित्र हत्या गर्ने र न्यायालयप्रति अनास्था फैलाउन ‘प्रयोग हुनेहरु’ प्रति कटाक्ष गरे ।

प्रधानन्यायाधीश पराजुलीले पछिल्लो समय अदालतका काम कारवाहीमा प्रेसबाट अनावश्यक हस्तक्षेप हुने गरेको र न्यायाधीशहरुले न्याय सम्पादन गर्नै डराउनुपर्ने परिस्थिति सिर्जना भएको बताए । उनले अदालतमा बिचाराधीन विषयमा मिडियाहरु पक्ष विपक्षमा खडा हुँदा न्याय प्रणाली प्रभावित हुने गरेको बताए ।

प्रधानन्यायाधीश पराजुलीले अनलाइन मिडियाहरुलाई लाइक र शेयर बढाउनका लागि होइन, सत्यको पक्षमा लेख्न आग्रह गरे । उनले प्रेस स्वतन्त्रता असीमित नहुने भन्दै स्वतन्त्रताको उपयोग गर्दा अरुको मर्यादा ख्याल गर्नुपर्ने बताए ।

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानन्ययाधीश पराजुलीले मिडियाबाट पीडित भएकाहरुले जहाँ भए पनि काउन्सिलमा उजुरी गर्न सक्ने गरी अनलाइन उजुरी प्रणालीको शुरुवात गरे । उनले काउन्सिलबाट प्रेसको नियमन र कारवाही राम्रोसँग होस् भन्ने कामना समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment