+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वाह ! सामुदायिक विद्यालय होस् त जीतपुर मावि जस्तो

 एस.के. शान (इलामबाट फर्किएर) एस.के. शान (इलामबाट फर्किएर)
२०७४ माघ ९ गते २१:००

दृश्य १ः सबै विद्यार्थीहरु कक्षाकोठामा पसिसकेपछि शुरु हुन्छ अघिल्लो दिनका कृयाकलापको पुनर्ताजगी । रोल नम्बर १८ भएकी नमिता आचार्य एक दिनअघि पढाईका साथसाथै कक्षाकोठामा भएका हरेक गतिविधिको प्रतिवेदन प्रस्तुत गर्न थाल्छिन् । उनले सम्पूर्ण जानकारी दिँदै राम्रो पक्ष र नराम्रो पक्षको बिषयमा समेत बोलिन् ।

कापीमा लेखेर ल्याएकी उनले दिनअघिको सम्पूर्ण गतिविधि शिक्षक तथा आफ्ना सहकर्मीहरुलाई सुनाइन् । इलामको देउमाई नगरपालिकाको जीतपुरस्थित जितपुर माविको कक्षा ५ मा अध्ययन गर्ने आचार्यले आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेपछि कक्षामा तालीको गड्गडाहट भयो । यो विद्यालयको उनी मात्र होइनन्, प्रत्येक विद्यार्थीले आ-आफ्नो कक्षामा पालो मिलाएर नियमित रुपमा प्रतिवेदन प्रस्तुत गर्दै आएका छन् ।

सामान्यतया यस्ता दृश्यहरु तालिम-सेमिनारहरुमा देखिन्छ । तर, जितपुर माविमा यो नियमित प्रक्रिया हो अघिल्लो दिन केके भयो ?, कुनकुन बिषय पढाइयो र पढियो ? अन्य केके क्रियाकलाप भए ? सबै कुराको प्रतिवेदन बनाउने जिम्मा विद्यार्थीहरुकै हुन्छ ।

प्रत्येक कक्षामा दैनिक रुपमा संयोजक र नयाँ प्रतिवेदक तोकिन्छ । यसका साथै कक्षाकोठा सफा राख्ने जिम्मेवारी पनि कक्षा शुरु हुनु अगावै तय हुन्छ । पानीको व्यवस्था गर्ने, कक्षाकोठा खोल्ने र बन्द गर्ने जिम्मेवारी बालबालिकाहरु आफैं लिने गर्छन् प्रत्येक दिन ।

यदि कुनै विद्यार्थीलाई कक्षाकोठाबाट बाहिर जानुपर्ने भए ‘बाहिर’ उल्लेख गरिएको कार्ड झुण्डाएर मात्र जान पाइन्छ । प्रत्येक कक्षामा दुई जना छात्र र दुई जना छात्राको कार्ड राखिएको छ । यो कार्ड लगाएर कोहि पनि बाहिर जाँदैनन् र गए त्यसलाई विद्यार्थीहरुले नै आफ्नो अनुकुलको गीत गाउन लगाउने काम गर्ने गरेका छन् ।

दृश्यः २

प्रतिवेदन प्रस्तुती लगत्तै कक्षा ५ मै शिक्षक बुद्धिसागर न्यौपाने विद्यार्थीको हाजिरी लिन शुरु गर्छन् । न्यौपाने ले रोल नम्बर १ भन्नेबित्तिकै विद्यार्थी माझबाट एक जनाले भन्छन्, ‘नौ एकान नौ ।’ शिक्षक न्यौपानेले ‘रोल नम्बर २’ भनेपछि ‘नौ दुनी अठार’ भनेर आवाज आउँछ । क्रमशः विद्यार्थीहरु यस्तै तरिकाले आफू उपस्थित भएको जनाउ दिन्छन् ।

कक्षा ७ मा भने पहिलो घण्टी सामाजिक बिषयको थियो । शिक्षकले आज जिल्लाको नामले हाजिरी गर्ने निर्णय सुनाए । उनले रोल नम्बर १ भन्नेबित्तिकै विद्यार्थीले भने ‘इलाम’ । रोल नम्बर २ भन्दा विद्यार्थीले उपस्थित रहेको जनाउ दिन भने ‘पाँचथर’ ।

‘विद्यालयमा हाजिरी लिने तरिका नै यही हो,’ विद्यालयका प्रधानाध्यापक षडानन्द अधिकारीले भने, ‘बिज्ञानको शिक्षकले बिज्ञानबारे, अंग्रेजी शिक्षकले त्यही विषयमा यसरी नै हाजिरी लिँदै आउनु भएको छ ।’

कक्षाको लेवल अनुसार हाजिरी लिने गरिएको रहेछ । ‘कक्षा १ मा रोल नम्बर १ भनेपछि विद्यार्थीहरुले ‘ए फर एप्पल’ भन्नुपर्छ । रोल नम्बर २ भन्दा ‘बी फर बल’ भन्ने गरेका छन् ।

दृश्यः ३

कक्षा ८ को सातौं घण्टी । नेपाली पढाउने शिक्षक ज्ञान प्रसाद फुयाँलको कक्षाकोठामा प्रवेश । नेपाली बिषयको पाठ १२ ‘मेरो घर’ शिर्षकको कविता पढाउने पालो । विद्यार्थीहरुले कविता पढ्ने दिन भन्नेबित्तिकै शिक्षक फुयाँल केहिबेर बाहिर जान्छन् र एउटा मादल तथा हार्माेनियम लिएर सहकर्मी शिक्षकसहित भित्र पस्छन् ।

‘कविता यसरी पढौं’ भन्दै उनले गीति लयमा सांगितिक माहौल बनाएर कविता पढाउन शुरु गरे । विद्यार्थीहरुले कवितालाई गीतको लयमा ढालेर पढे । कविताहरु सांगितिक तरिकाले पढाइने गरिएको सुनाउँदै शिक्षक फुयाँलले भने, ‘एक जनाले मादल घन्काउँदै र अर्कोले हार्माेनियममा लय मिलाएपछि विद्यार्थीहरु खुशी हुनुका साथै रमाइलो गरी पढ्ने गर्छन् ।’

तीन वटै दृश्यलाई हेर्ने हो भने यो विद्यालयको पढाउने तरिका अन्य विद्यालयको भन्दा निकै पृथक छ ।

हाजिरी लिने बेलामा पनि पढाईकै माध्यम प्रयोग गर्नु, कक्षाकोठाको जिम्मेवारी विद्यार्थीलाई नै दिनु र प्रत्येक दिनको पढाई तथा गतिविधिबारे पुनर्ताजगी गराउने विद्यालय जीतपुर मावि नेपालकै नमूना सामुदायिक विद्यालय हो भन्दा फरक नपर्ला ।

सबैको सामुन्ने सबै कुरा

सामुदायिक विद्यालयहरुमा जाँदा कति विद्यार्थी छन् भनेर सोध्नुपर्ने हुन्छ । तर, यहाँको कथा अर्कै छ । अरु विद्यालयहरुमा जाँदा कुल विद्यार्थीमध्ये कति जना उपस्थित भएका छन् ? त्यो हेर्नलाई रजिष्टर नै पल्टाउनुपर्छ ।

तर, यहाँ प्रत्येक कक्षा कोठाको मूल गेटमै कुल विद्यार्थी संख्या र उपस्थित भएकाहरुको विवरण हेर्न सकिन्छ । कुन शिक्षक उपस्थित भएका छन्, छैनन् ? त्यसको पनि अभिलेख दैनिक रुपमा राख्ने गरिएको छ ।

बालबालिकालाई विद्यालयमा नियमित उपस्थित गराउन अर्को उपाय पनि अपनाइएको रहेछ ।

उत्कृष्ट हाजिरी भएका बालबालिकाहरुको फोटोसहित नामावली झुण्ड्याउने गरिन्छ यहाँ । प्रत्येक ६/६ महिनामा उत्कृष्ट हाजिरी भएकाहरुको फोटो नै राख्ने काम शुरु भएपनि स्वतःस्फूर्त रुपमा नियमितता बढेको बताउँछन् विद्यालयका प्रअ अधिकारी ।

यस्ता हुन्छन् अतिरिक्त कृयाकलाप

अन्य विद्यालयहरुमा अतिरिक्त कृयाकलाप भन्नासाथ भलिबल, फुटबल वा अरु कुनै खेल खेल्ने-खेलाउने गरिन्छ । तर, यहाँ खेलमा पनि सन्देशहरु समावेश गराइन्छ । लुडो खेलमा सर्प भएको ठाउँमा पुग्दा तल झर्ने ठाउँमा सन्देश दिइएको छ । जस्तो- नंग लामो भएको कोठामा सर्पलाई राखिएको छ । र, यहाँ पुग्दा सिधै तल आउने ठाउँमा ‘झाडापखाला’ उल्लेख गरिएको छ ।

लुडोमा सिंढीको ठाउँमा पुग्दा माथि पुग्ने गरिन्छ । सिंढी भएको ठाउँमा ‘सधैं कपाल सफा राख्छु’ भन्ने सन्देश लेखेर माथि पुर्‍याइन्छ, जहाँ लेखिएको छ ‘म सभ्य देखिन्छु ।’

मौसमबारे जानकारी प्रत्येक विद्यार्थीले राख्ने गर्छन् विद्यालयमा । घाम लागेको, वर्षा भएको, कुहिरो लागेको दिन त्यसै अनुसारको सुई घुमाइन्छ, बनाइएको बोर्डमा ।

कक्षाकोठा खोल्ने, व्यवस्थापन गर्नेदेखि सरसफाई स्वयं विद्यालयका विद्यार्थीहरुले गर्छन् यस विद्यालयमा ।

आइतबारदेखि शुक्रबारसम्म कक्षागत रुपमा पालो नै लगाएका छन् बालबालिकाहरुले कक्षागत रुपमा सरसफाई गर्न । आइतबार कक्षा ९ (हरियो समूह ) र ४ कक्षाका बालबालिकाहरु सरिक हुन्छन् । यसै तरिकाले सरसफाई विद्यार्थीहरुले नै गर्छन् ।

बिभिन्न किसिमका बनस्पतीहरु छन् तर बालबालिकाले चिन्दैनन् । यसका निम्ति विद्यालय प्राङ्गणमा वनस्पतीहरुको रुख रोपेर त्यसको नाम उल्लेख गरिएको बोर्ड पनि झुण्डयाइएको छ ।

विद्यालयको अर्काे कुनामा फूलहरुको बगैंचा पनि बालबालिकाले आफैं लगाएका छन् । बिभिन्न जातका फूल लगाएको ठाउँमा ‘फूलवारीमा फुलाउँछौं, फूल झिलिमिली, विद्यालय सफा राख्छौं हामी सबै मिली’ भन्ने शब्द लेखिएको बोर्ड पनि उनीहरुले आफैं लगाएका छन् ।

विद्यार्थीको मनोबल बढाउन छात्रवृत्ति नै छात्रवृत्ति

शिक्षकहरुले गरेको मिहिनेतलाई देखेर स्थानीयबासीको विद्यालयप्रति लगाव पनि त्यत्तिकै बढेको छ । यसैले विद्यार्थीहरुलाई मिहिनेती बनाउन बिभिन्न व्यक्तिहरुले छात्रवृत्ति स्थापना गरिदिएका छन् ।

डम्बर कुमारी कट्टेल, टंक प्रसाद कट्टेल, तारा प्रसाद कट्टेल र आनन्द प्रसाद कट्टेल मिलेर पुष्पलाल स्मृति छात्रवृत्ति १७ मंसिर २०६५ मा स्थापना गरेका छन् । १५ हजार रुपैयाँ नगदको यो छात्रवृत्ति यस विद्यालयबाट नियमित एसएलसी परीक्षामा सर्वाेत्कृष्ट अंक ल्याउने एक/एक जना छात्र र छात्रालाई प्रदान गरिँदै आएको छ ।

भानुभक्त न्यौपाने र प्रेमकुमारी न्यौपानेले शशी भद्र स्मृति छात्रवृत्ति १८ फागुन २०६६ मा स्थापना गरेका छन् । एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरी त्यसको व्याजबाट एसएलसीमा नेपाली विषयमा सर्वाेत्त्कृष्ट अंक ल्याउने छात्रछात्रालाई प्रदान गरिँदै आएको छ ।

दुर्गा प्रसाद परियार र तारा परियारले १२ भदौ २०६९ सालमा एक लाख रुपैयाँको कोष खडा गरी स्थापना गरेको जैमति परियार छात्रवृत्ति कक्षा १२ को परीक्षामा सर्वाेत्कृष्ट अंक ल्याउनेलाई प्रत्त्येक वर्ष प्रदान गरिन्छ । दुर्गा परियार विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् ।

यस्तै सिनमाया कार्की र हिमाल कार्कीले स्थापना गरेको अर्काे छ, इन्द्रबहादुर कार्की छात्रवृत्ति । २१ पुस २०७० मा एक लाख २० हजार रुपैयाँको अक्षयकोषबाट स्थापना गरिएको यो छात्रवृत्ति कक्षा १२ को व्यवस्थापन संकायमा सर्वाेत्कृष्ट अंक ल्याउने छात्र र छात्रालाई प्रदान गरिँदै आएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद परियारले यो छात्रवृत्तिले विद्यार्थीहरुलाई मिहिनेती बनाएको बताउँछन् । ‘व्यवस्थापन समिति, परिवार र शिक्षक-कर्मचारी मिलेर काम गरिरहेका छौं,’ उनले भने, ‘विद्यालय अगाडि बढ्नुको एक परिणाम यो पनि हो ।’

मनोबल बढाउने अर्काे उपाय पनि

बालबालिकालाई पढन र पढाईमा जाँगर ल्याउनका निम्ति अर्काे उपाय पनि अपनाइएको छ विद्यालयमा । २०६२ सालदेखि एसएलसीमा प्रथम र विशिष्ट श्रेणी ल्याउने तथा विषयगत उत्कृष्ट अंक ल्याउनेहरुको नाम सबैले देख्ने ठाउँमा लेखेर राख्ने गरिएको छ । वार्षिक रुपमा औसत सिकाई उपलब्ध दर पनि यसरी नै राख्ने गरिन्छ ।

‘यसले विद्यार्थीहरु जागरुक भएका छन्,’ व्यवस्थापन समितिका अध्यक्ष परियारले भने, ‘बालबालिका कसरी विद्यालयमा टिकिरहने हो र पढिरहने हो, यसका निम्ति हामी सोचिरहेका हुन्छौं ।’

सहकारीको अभ्यास विद्यालयमै

विद्यालयमा बालबालिकालाई सहकारीको अभ्यास पनि गराइन्छ, जसका लागि ‘सिर्जनशील बाल सहकारी’ बनाइएको छ । कसैलाई कुनै समस्या परे यही सहकारीले ऋण दिन्छ यस विद्यालयमा अध्ययन गर्ने बालबालिकाका अभिभावकलाई । यसका लागि मानवअधिकार मञ्च इलामले २० हजार, गाउँ बाल संरक्षण सम्बर्द्धन समितिले १६ हजार र जीतपुर माविले समेत ५ हजार आर्थिक सहयोग गरेका छन् ।

सहकारी सञ्चालनका निम्ति बालबालिकाहरुको तर्फबाट ५ हजार रुपैयाँ जम्मा गरिएको छ ।

अहिले यो सहकारीमा ३१ हजार नगद मौज्दात छ भने ८ हजार ५ सय ऋण लगानी गरिएको सहकारीकी संयोजक कक्षा १० मा पढ्ने चेतना खनालले बताइन् । कुनै अभिभावकलाई ऋण चाहिएमा आफ्ना बालबालिकामार्फत लिन सक्छन्,’ उनले भनिन्, ‘हामी समितिमा निर्णय गरेर सहुलियत व्याज दरमा ऋण दिने गरेका छौं ।’

यस पटकदेखि बैंकिङ कारोबार शुरु गर्ने लक्ष्य रहेको उनले बताइन् ।

लगातार फड्को

२०१३ सालमा प्राविबाट स्थापना भएको यो विद्यालय २०२६ मा निमावि र २०३४ मा मावि बनेको थियो । मावि बनेको ३ वर्ष नबित्दै २०३७ सालबाट एसएलसीको शुरुवात गर्‍यो ।

२०४६ सालको एसएलसीमा पहिलो पटक प्रथम श्रेणी ल्याएको यो विद्यालय २०५६ को एसएलसी परीक्षामा जिल्लाकै सर्वाेत्कृष्ट बन्यो । यद्यपि विशिष्ट श्रेणी भने २०६२ को एसएलसीमा प्राप्त गर्‍यो ।

विशिष्ट श्रेणी ल्याउने यो विद्यालय नै इलामको पहिलो विद्यालय भएको बताउँछन् व्यवस्थापन समिति अध्यक्ष परियार । ‘जसरी बालबालिकालाई खुवाउने औषधिमा गुलियो मिसाइएको हुन्छ हामीले पनि पढाईमा गुलियो मिसाउने प्रयास गरेका छौं,’ विद्यालयका प्रधान अध्यापक अधिकारी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?