Comments Add Comment

आयोजक सहारा उद्घाटन खेलबाटै बाहिरियो

९ माघ, पोखरा । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा ! रारा गोल्डकपमा सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब धनगढीले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबार शुरु भएको प्रतियोगितामा आयोजक सहारा क्लबलाई ३-० ले पराजित गर्दै सुदूरपश्चिमले विजयी शुरुवात गरेको हो ।

साविक उपविजेता सहारा क्लबले आधा दर्जन गोल गर्ने अवसर खेर फालेपछि पराजय ब्यहोर्न बाध्य भयो ।सुदूरपश्चिमले भने पाएको ३ वटा अवसरलाई गोलमा परिणत गर्‍यो । सुदूरपश्चिमका लागि धनबहादुर थापा, मनिराम चौधरी र राकेश हमालले १/१ गोल गरे ।

सुदूरपश्चिमले २५ औं मिनेटमा धनबहादुर थापाको गोलबाट अग्रता लियो । पेनाल्टी एरियामा किपरबाट रिबाउण्ड भएको बललाई उनले फर्स्ट बार च्याप्दै सहजै जाली चुमाए । अग्रता जोगाउन मध्यान्तरपछि रक्षात्मक बनेको सुदूरपश्चिमले ७८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पार्‍यो । फ्रिकिक बललाई मनिराम चौधरीले हेडमार्फत गोल गरे । सुदूरपश्चिमले तेस्रो गोल भने इन्जुरी समयमा फ्रिकिकमार्फत राकेश हमालले गरे । उनले करिब ४० यार्ड टाढाबाट प्रहार गरेको बलले सिधै जाली चुमेको हो ।

पहिलो गोल खाएदेखि नै आक्रामक बनेको सहाराले त्यसपछि खेलमा सुधार गरे पनि गोल गर्न भने सकेन । २१ औं मिनेटमा विनोद गुरुङ सहाराका लागि खाता खोल्नबाट चुके । डि-एरिया बाहिरबाट एक्लै बल अगाडि बढाएका उनले विपक्षी किपरलाई छलेर पेनाल्टी एरियाबाट प्रहार गर्न खोज्दा बल फर्स्ट बार हुँदै बाहिरियो ।

४० औं मिनेटमा पेनाल्टी एरियामै सुदूरपश्चिमका कृष्ण क्षेत्री मात्र हुँदा वान टु वानको अवस्थामा पनि विनोदले बल कन्ट्रोल नगरी सिधै प्रहार गर्दा फष्र्ट बार हुँदै बाहिरियो । ५२ औं मिनेटमा सरोज योञ्जनको पासमा त्रिदेव गुरुङले किपर नभएको खाली पोष्टमा समेत बाहिर फाले ।

५८ औं मिनेटमा त्रिदेव गुरुङको पासमा विजय श्रेष्ठले पेनाल्टी एरियाबाट प्रहार गरेको बल पोष्टमाथिबाट बाहिरियो । ६३ औं मिनेटमा भीषण गुरुङको क्रसमा विजय श्रेष्ठले नै प्रहार गरेको बलपनि फष्र्ट बार हुँदै बाहिरियो । ७३ औं मिनेटमा भीषण गुरुङले सेकेण्ड बार च्यापेर प्रहार गरेको बलले पनि जाली चुम्न सकेन ।

मंगलबारको खेलमा सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब धनगढीका मनिराम चौधरी म्यान अफ दी म्याच घोषित भए । उनलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरियो ।

प्रतियोगिताको पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बेलुनमा ‘१६ औं आहा ! रारा गोल्डकप’ लेखिएको ब्यानर उडाएर उद्घाटन गरेका थिए ।

उद्घाटनको अवसरमा आयोजक सहारा क्लबले २ पश्चिमाञ्चल क्षेत्रीय फुटबल संघका अध्यक्ष तथा क्लबका सल्लाहकार खेमबहादुर गुरुङ र सहारा क्लब युकेकाका पूर्वअध्यक्ष दीलिपकुमार गुरुङलाई मानार्थ सदस्य प्रदान गरेको छ ।

प्रतियोगितामा बुधबार धरान फुटबल क्लब सुनसरी र युनाइटेड सिक्किम फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment