Comments Add Comment

माओवादीमा श्रीमतीमोह ! शहीदकी आमाको नाम चट्

आफू सांसद हुन नपाएपछि श्रीमतीलाई टिकट

 

१० माघ, काठमाडौं । झापाकी चन्द्रकुमारी बस्नेत माओवादी कार्यकर्ता हुन् । उनका दुई छोरालाई संकटकालमा सेनाले भैरवनाथ गणमा सामूहिक हत्या गरेपछि चन्द्रकुमारी माओवादी कार्यकर्तामात्रै नभएर शहीदकी आमासमेत हुन् ।

उनलाई माओवादीले राष्ट्रियसभाका लागि सिफारिस गरेको थियो, तर नेतापत्नीका कारण उनको नाम काटियो ।

माओवादी नेताले राष्ट्रियसभामा आफ्नी श्रीमतीका लागि शहीदकी आमाको नाम काटेका हुन् । शहीदकी आमाको नाम हटाएर आफ्नी श्रीमतीलाई राष्ट्रियसभाको उम्मदेवार बनाउने माओवादी नेता हुन्- शावित्रीकुमार काफ्ले ।

मोरङका पूर्वसभासद समेत रहेका काफ्ले आफैं प्रदेश एकमा माओवादी उम्मेदवार बनाउने जिम्मेवार नेता हुन् । अर्थात उनी माओवादीका एक नम्बर प्रदेशका मुखिया हुन् ।

काफ्लेले पेरिसडाडाँमा प्रचण्डलाई प्रभाव र दबावमा पारेर आफ्नी श्रीमती काफ्लेको नाम राष्ट्रियसभाका लागि पत्र हात पारेका छन् । काफ्लेको श्रीमतीमोहका कारण प्रदेश नम्बर १ मा माओवादीभित्र अन्तरविरोध चर्किएको छ ।

चन्द्रकुमारी बस्नेत ०७० सालमा संविधानसभाका लागि समानुपातिकको सूचीमा थिइन् । यसपालि उनको नाम स्थानीय कमिटीले केन्द्रमा सिफारिस गरेको थियो । तर, केन्द्रले उनको नाम काटेर काफ्लेपत्नी विना पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

गत प्रतिनिधिसभामा शावित्रीकुमार काफ्लेले मोरङ ३ बाट वाम गठबन्धनको उम्मदेवार बन्न चाहेका थिए । तर, एमाले नेता भानुभक्त ढकाल उठेपछि उनी मोरङ ३ मा उठ्न पाएनन् । आफू सांसद हुन नपाएपछि काफ्लेले शहीदकी आमाको नाम हटाएर आफ्नी श्रीमतीलाई उम्मेदवार बनाएका हुन् ।

माओवादी नेता सावित्रीकुमार काफ्ले र उनकी श्रीमती ।

वैद्य समूहबाट माओवादी केन्द्रमा फर्किएका काफ्ले यतिबेला गोपाल किरातीनिकट मानिन्छन् । किरातीसँग मिलेर माओवादीमा विद्रोह गर्ने आन्तरिक तयारी गरिरहेकै बेला उनी पत्नीलाई राष्ट्रियसभाको उम्मदेवार बनाउन सफल भएका हुन् ।

काफ्लेकी पत्नीले पहिले मोरङमा किराना दोकान चलाउँथिन् । अहिले पसल छैन । पेशा व्यवसाय नभएकाले बाँच्नै गाह्रो भन्दै उनले नेताहरुसँग पत्नीको पक्षमा लविङ गरेको माओवादी नेताले बताए ।

माओवादी स्रोतले भन्यो, माओवादीको कोटामा परेको महिलाको सिटमा माओवादी नेताले पत्नीलाई सिफारिस गराएपछि शहीद र बेपत्ता एवं जनयुद्धका घाइतेहरुमा आक्रोश उत्पन्न भएको छ ।

यसैबीच राष्ट्रियसभामा एकजना अपाङ्गको प्रतिनिधित्व हुनुपर्ने माग गर्दै आएका प्रदेश १ का अपाङ्गहरु पनि हिस्रिक्क परेका छन् । प्रदेश १ बाट राष्ट्रियसभा अपाङ्गविहीन हुने भएको छ ।

जनयुद्धका घाइते रामबहादुर कार्कीलाई पार्टीका नेताहरुले राष्ट्रियसभामा ल्याउने आश्वासन दिएर पनि पूरा नगरेपछि माओवादीको प्रदेश एकभित्र हल्लीखल्ली मच्चिएको छ ।

फेसबुकमा असन्तुष्टि

माओवादी नेता काफ्लेले आफ्नी श्रीमतीलाई राष्ट्रियसभाको उम्मेदवार बनाएपछि समाजिक सञ्जालमा माओवादी कार्यकर्ताहरुका असन्तुष्टि यसरी पोखिएका छन्ः

अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले लेखेका छन्-

‘एक नं. प्रदेशका एकजना माओवादी नेता -शावित्रीकुमार काफ्ले) अस्ति मोरङमा प्रत्यक्षमा टिकट दिँदा डरले चारकोश भागे, राष्ट्रिय सभामा पुरुषको सम्भावना हुञ्जेल आफ्ना लागि न्वारानदेखिको वल लगाएर लागे ।

तर, भागमा महिला परेपछि फेरि कन्दनीदेखिको बल लगाएर हाल राजनीतिमा सक्रिय नरहेकी आफ्नी श्रीमतीलाई पार्न लागे र पारी छाडे । शहीद र वेपत्ता वा राजनीतिमा क्रियाशीलको सिफारिस मिल्काएर पदको दुरुपयोग गरी नाङ्गोरुपमा आˆनी गृहिणीको टिकट खाममा बोकेर जाने यी दया गर्न लायक वीर पुरुषलाई हार्दिक हार्दिक बधाइ ।’

बस्नेतले अगाडि लेखेका छन्- मैले गणतन्त्रका लागि दुईवटा छोरा वलिदान गरें तपाईहरुले माओवादीलाई केवल दुई भोट दिए पुग्छ’ भनेर संविधानसभाको चुनावमा सवर्त्र भाषण गरेर हिँड्दा पुगेको आमा -चन्द्रकुमारी) को योग्यता अहिले पुगेन रे ! कारण श्रीमती । त्यही भएर श्रीमती ल्याएको रे ! कठै ! वधाइ छ महोदय !’

त्यसैगरी माओवादी मोरङका नेतासमेत रहेका जनयुद्धका घाइते राम कार्कीले लेखेका छन्- ‘माओवादी केन्ऽको भागमा परेको १ नम्बर प्रदेशको राष्ट्रियसभाको उम्मेदवारको मुख्य योग्यता नेताको श्रीमती ? नातावाद परिवारवादको पराकाष्टा । सायद यो देखेर शहिदको आत्मा कति तडि्ँपदो हो ?’

जनयुद्धका घाइते राम कार्की ।

कार्कीले अगाडि लेखेका छन्- ‘प्रतिनिधिसभा, प्रदेससभामा लगभग शुन्यजस्तै भएको सबैभन्दा पछाडि पारिएको अपाङ्गता वर्गलाई बेवास्ता गर्दै राष्ट्रियसभामा एउटा प्रदेशबाट एकजना अपाङ्गको प्रतिनिधित्व जान पाउने ब्यवस्थालाई पनि बञ्चित गर्दै प्रदेश नम्बर १ बाट बाम गठबन्धनले राष्ट्रिय सभाका लागि अपाङ्गता भएको व्यक्तिलाई उम्मेदवार नबनाउनु अत्यन्तै दुःखद र खेदजनक कुरा हो ।

तसर्थ उमेदवार चयनमा अपाङ्गता क्षेत्रलाई समावेश गर्न वामगठबन्धनका जिम्मेवार नेतृत्व वर्गलाई अनुरोध छ । विशेष गरेर नेकपा एमाले पार्टीको कोटामा परेको हुनाले एमाले पार्टीलाई निर्णय सच्याउन अनुरोध छ ।’

माओवादीका पूर्वसभासद एवं मोरङका नेता गोपी अछामीले पनि असन्तुष्टि व्यक्त गर्दै भनेका छन्- ‘अब स्वतन्त्रता हुने सोचिरा’छु दलाल हुने छैन सामन्ती संस्कारको ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment