Comments Add Comment

गाउँपालिकाका अध्यक्षले कर्मचारी कुटे

१० माघ, चौतारा । काम सम्पन्न नभएको योजनाको भुक्तानी गर्न नमानेपछि गाउँपालिकाका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन् ।

सुनकोशी गाउँपालिकाको प्रमुख श्रवणकुमार जिसीले प्रशासकीय अधिकृत प्रमोद तिमिल्सिनालाई मंगलबार दिउँसो उनकै कार्यकक्षमा हातपात गरेका थिए ।

गाउँपालिकाको भिलेज प्रोफाइल निर्माणका लागि यसअघि गाउँकार्यपालिकाले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । भिलेज प्रोफाइल नै निर्माण नभइ गाउँपालिका अध्यक्ष जिसीले ७ लाखको चेक काट्नु भनेपछि अध्यक्ष र प्रशासकीय अधिकृतबीच विवाद भएको थियो ।

‘मैले नियम विपरीत काम गर्दिन भनेँ, अध्यक्षज्यूले गर्नुपर्छ भनेर भन्नुभयो, मैले नमान्दा ममाथि दुर्व्यवहार भयो’ प्रमुख प्रशासकीय अधिकृत तिमिल्सिनाले भने ।

अध्यक्ष र प्रशासकीय अधिकृतबीच विवाद भएपछि अरु कर्मचारीलाई अध्यक्षले कोठा बाहिर निस्कन भनेका थिए । कर्मचारीलाई निकालेर उनले अधिकृतमाथि कुटपिट गरेको बताइएको छ ।

घटनालगत्तै गाउँपालिकामा बस्न नसक्ने भन्दै तिमिल्सिना स्थानीय विकास मन्त्रालय गएका छन् । फोनमा उनले आफूमाथि चरम दुर्व्यवहार भएको बताए । उनले स्थानीय विकास मन्त्रालयका कर्मचारी प्रशासनमा रहेका आनन्द ढकाललाई घटनाको बारेमा सबै जानकारी गराएका छन् ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई पनि घटनाको बारेमा जानकारी गराइएको छ । प्रमुख जिल्ला अधिकारी तामाङले भने लिखित रुपमा घटना दर्ता गर्न आफूले भनेको जानकारी दिए ।

सुनकोशी गाउँपालिकाले यसअघि आफ्नो गाउँपालिका भित्रका सबै विद्यालय व्यवस्थापन समिति समेत विघटन गरेको थियो ।

यसमा समेत प्रमुख प्रशासकीय अधिकृत तिमिल्सिनाले असहमति जनाएका थिए । तिमिल्सिना पनि सोही गाउँपालिकाका स्थायी बासिन्दा हुन् । घटनाबारे गाउापालिकाका अध्यक्ष जिसीसाग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment