१० माघ, बुटवल । नेटवर्किङ कम्पनीमार्फत् पैसा असुली ठगी गर्ने पाँच जना रुपन्देहीमा पक्राउ परेका छन् ।
भैरहवामा बुधबार पत्रकार सम्मेलन गरी प्रहरीले भारतको गोरखपुरमा कार्यालय रहेको डि्रम डेभलोपर्स टे्रडमार्ट प्रा.लि.मा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने लम्जुङ दोर्दी गाउँपालिका- ५ का दर्पण लामा, दाङ लमही नगरपालिका-४ का कुशलराम चौधरीलाई सार्बजनिक गरेको हो ।
उनीहरुलाई प्रहरीले ३७ लाख ८५ हजार विगोसहित अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुको समूहले लामो समयदेखि ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।
चौधरी र लामाविरुद्ध रुपन्देही प्रहरीमा ३९ जना पीडितहरुले कारबाहीको माग गर्दै जाहेरी दर्ता गरेका छन् ।
भारतकै बनारसमा रहेको विनविन टे्रडमार्ट प्रा.लि.मा नेपालीहरुलाई पुर्याई ठगी गर्ने धादिङ रोराङ गाउँपालिका-३ का ज्ञानेन्द्र मगर छन् ।
उनीसँग ७६ लाख ८३ हजार को विगो दावी गरिएको छ । मगरविरुद्ध २३ जनाले जाहेरी दर्ता गरेको रुपन्देहीका निमित्त प्रहरी प्रमुख डीएसपी डिल्लीनारायण पाण्डेले बताए ।
यस्तै भारतकै खुशीनगरमा रहेको फुलटन टे्रडमार्ट प्रा.लि.मा जागिर लगाइदिने निहुमा ठगी गर्ने काभ्रेपलाञ्चोक गाउँपालिका-३ का चन्दितसिंह मोक्तान र बारा निजगढ नगरपालिका १२ का दावा लामा छन् ।
उनीहरुसँग प्रहरीले ३७ लाख ५८ हजार विगो दावी गरेको पाण्डेले बताए । मोक्तान र लामाविरुद्ध रुपन्देही प्रहरीमा १८ जनाले जाहेरी दिएका थिए ।
प्रहरीले आर्थिक वर्ष ०७३/०७४ मा यसरी एजेन्टमार्फत् भारत प्रवेश गर्न लागेका ५ सय १६ र ०७४/०७५ को पुससम्म ३२७ जना पुरुष तथा महिलाहरुलाई सीमा क्षेत्रबाट फर्काई परिवारको जिम्मा लगाएको छ ।
प्रहरी तथ्यांक अनुसार ती कम्पनीमा काम लगाइदिने भन्दै ठगी गर्ने २९ जना अभियुक्त अझै फरार छन् ।
प्रतिक्रिया 4