Comments Add Comment

प्रहरी नेतृत्वबाट ज्यान लिने प्रयास भएको नवराज सिलवालको आरोप

‘नयाँ सरकार आउनासाथ अनुसन्धान प्रक्रियामा सहभागी हुन्छु’


११ माघ, काठमाडौं । ललितपुर १ बाट निर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडीआइजी नवराज सिलवालले वर्तमान सरकार र अहिलेको प्रहरी नेतृत्वबाट आफू असुरक्षित भएको भन्दै जीवनरक्षाको माग गरेका छन् ।

सिलवालले प्रेस विज्ञप्ति जारी गरी कामचलाउ सरकारको इशारामा वर्तमान प्रहरी नेतृत्वले आफ्नो जिउज्यानमाथि पटक–पटक धावा बोल्न खोजेको आरोप लगाएका छन् ।

सिलवालले आइजीपी नियुक्ति प्रकरणमा अदालतमा पेश भएका कागजातहरुको सन्दर्भमा अहिलेको सरकार तथा प्रहरी नेतृत्वबाट निष्पक्ष छानविन हुन नसक्ने जिकिरसमेत गरेका छन् ।

उनले अहिलेको प्रहरी नेतृत्व र सरकारसँगै आफूले लडेका कारण उनीहरुबाट निष्पक्ष छानविन नहुने बताएका हुन् ।

सिलवालले विज्ञप्तिमा भनेका छन्– जुन मान्छे यो सम्पूर्ण घटनाक्रममा मेरो विपक्षी रहेको छ, उसैले अनुसन्धान गर्ने र यसमा संलग्नहरुलाई निर्दोष सावित गरी मलाई प्रहार गर्ने जुन खेल भैरहेको छ, त्यसको अन्त्य हुनुपर्दछ र निश्पक्ष निकायवाट भोलि हुने अनुसन्धानलाई एउटा निस्कर्षमा पुर्‍याउन सबै प्रकारले सहयोग गर्न म तयार छु ।

उनले यो वीचमा आइजीपी नियुक्ति प्रकरणका महत्वपूर्ण सरकारी कागजातहरु फेरबदल भएको भन्दै त्यसका दोषीहरुमाथि छानविन र कारवाही हुनुपर्ने बताएका छन् । किर्ते गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई शेरबहादुर देउवा सरकारले पुरस्कृत गरिरहेको आरोप समेत उनले लगाएका छन् ।

सिलवालको विज्ञप्तिमा भनिएको छ– नेपाल प्रहरीको कर्मचारी प्रशासनसम्वद्ध गोप्य दस्तावेजहरुमा मेरो पहुँच पुग्ने र त्यसलाई मैले सच्च्याउने सम्भावना एउटा काल्पनिक कथ्य मात्र हो । त्यसमाथि, यसअघिको प्रहरी नेतृत्व शुरुदेखि नै मलाई प्रहरी महानिरीक्षक हुन नदिने प्रपञ्चका साथ योजनावद्ध ढंगले क्रियाशील रहेको यथार्थ अब आम जानकारीको विषय भइसकेको छ । यस्तो अवस्थामा, प्रहरी मुख्यालयमा सुरक्षित, सोही अवधिको गोप्य फाइलमा मैले किर्ते गर्नसक्ने कुरा कसरी सम्भव होला ?

सिलवालले आफूविरुद्ध संलग्न गृहमन्त्रालय र प्रहरी संगठनका सबैलाई वर्तमान सरकार र खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले अनेकौं प्रपञ्च र तिकडम गरेर पुरस्कृत गरेको आरोप लगाएका छन् । ‘यो फेहरिस्तले पनि यस्तो गैरकानुनी कार्यमा को–को संलग्न थिए भन्ने अनुमान लगाउन गाह्रो छैन’ उनले भनेका छन् ।

निर्वाचनमा जनमत गुमाएको कामचलाउ सरकारले जसरी पनि आफू सत्ताबाट बाहिरनुअघि नै आफ्नो करिअर समाप्त पार्ने र बदनाम गर्ने अधैर्य व्यवहार देखाएको आरोप उनले लगाएका छन् ।

सांसद सिलवालले भनेका छन्– प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा गरेको अनावश्यक अस्वस्थ चलखेलकै कारण वर्तमान सरकार बदनाम भएको र चुनाव हार्नुको एउटा मुख्य कारण यही भएकाले प्रतिशोधवस ममाथि आक्रमण भएको अनुभव पनि मलाई भएको छ ।

पूर्वडीआइजी सिलवालले आफू जुनसुकै बेला अनुसन्धानमा सघाउन तयार भए पनि अहिलेको सरकारबाट आफू असुरक्षित भएकाले नयाँ सरकार आउनासाथ अनुसन्धान प्रक्रियामा सहभागी हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment