+
+

गुण्डा नाइके मनोज पुनको भारतीय अन्डरवर्ल्डसँग ‘कनेक्सन’

पुनको भारतीय कनेक्सन केलाउँदै प्रहरी

गौरव पोखरेल गौरव पोखरेल
२०७४ माघ १२ गते १०:५०

१२ माघ, काठमाडौं । रुपन्देहीका गुण्डा नाइके मनोजबहादुर बूढामगर उर्फ मनोज पुनको भारतीय आपराधिक सञ्जालसँग ‘कनेक्सन’ रहेको खुलेको छ ।

२३ असोज ०७४ मा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र २१ पुसमा रुपन्देहीका व्यवसायी बलु पौडेलको हत्याकाण्डमा संलग्न छन्, पुन । ४ पुस ०७३ मा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा पनि उनको संलग्नता खुलेको छ ।

तिवारी हत्यापछि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका पुनले त्यसयता नै भारतीय आपराधिक सञ्जालसँग सम्बन्ध विस्तार गरेको प्रहरी स्रोतको भनाइ छ । र, भारतमा लुकीछिपी बस्ने क्रममा बनेको सम्बन्ध हो त्यो ।

त्यसक्रममा दिल्लीको सुल्तानपुरीका गुण्डा नाइके जोगा भनिने जोगिन्दर सिंहसँग उनले सम्बन्ध मजबुत बनाएको स्रोत बताउँछ । जोगाले निश्चित रकम लिएर नेपालमा हतियार बिक्री गर्दै आएको स्रोतको भनाइ छ ।

‘जोगासँग पुनको निकटको सम्बन्ध हो । त्यो समूहले उसलाई ‘हाई-प्रोटेक्सन’ दिएर राखेकोचाहीं होइन,’ अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘तर, ऊ जोगा समूहसँग ‘किप इन टच’मा छ ।’

जोगा मुम्बई अन्डरवर्ल्डका डन सन्तोष सेट्टी समूहका विश्वास पात्र हुन् । र, सेट्टी कहिले दाउद इब्राहिम (डी-कम्पनी) त कहिले छोटा राजन समूहसँग निकट रहँदै अहिले आफ्नै ग्याङ तयार पारेर आपराधिक क्रियाकलापमा संलग्न छन् ।

पुन अहिले डी-कम्पनीसँग नजिक पुगेको शंका प्रहरीको छ । तथापि, उक्त सम्बन्धको जरो खोतल्न प्रहरी असफल देखिन्छ ।

दिल्लीबाट हतियार ओसारपसारमा संलग्न जोगा भनिने जोगिन्दर सिंह र सन्तोष सेट्टी समूहमार्फत् मनोज पुनले मुम्बई अन्डरवर्ल्डसाग सम्बन्ध बनाएको प्रहरी अधिकारीहरू बताउँछन्

केही प्रहरी अधिकारी भन्छन्, ‘पुनले राम्रो सम्बन्ध बनाएको जोगिन्दर सिंह मुम्बईका डन सन्तोष सेट्टीबाट परिचालित छन् । र, सेट्टीको डी-कम्पनीसँग सम्बन्ध छ । उनी दाउद इब्राहिमसँग निकट छन् । त्यसैले पुनको पनि डी-कम्पनीसँग सम्बन्ध हुन सक्छ ।’

स्रोतका अनुसार नेपाल प्रहरीले अहिले पुनको भारतीय कनेक्सन केलाउन अनुसन्धान थालेको छ । पछिल्लो समय दिल्लीका गुण्डा जोगाले नेपालतर्फ आफ्नो गतिविधि बढाएको स्रोतको भनाइ छ ।

‘पैसा लिएर हतियार उपलब्ध गराउने काममा उसको मुख्य सक्रियता छ,’ एक प्रहरी अधिकारी भन्छन्, ‘मनोजलगायतलाई हातमा लिएर यहाँबाट फिरौती असुलीमा समेत जोगिन्दर संलग्न छ ।’

ती अधिकारी पुनलाई नेपाल प्रहरीले समयमै नियन्त्रणमा लिन नसके उनीहरुको आपराधिक गतिविधि अझ बढ्न सक्ने अनुमान गर्छन् ।

कहाँ छन् पुन ?

यस प्रश्नको जवाफ प्रहरी अधिकारीहरुसँग पनि छैन । उनी बसिरहेको ‘लोकेसन’ ट्रेस गर्न नसकेकै कारण प्रहरी हैरान देखिन्छ ।

तिवारीको हत्या भएको करिब २२ दिनपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पुनलाई खोज्दै भारतको गोवा पुग्यो । भारतीय प्रहरीको सहयोगमा पुनको मोबाइल लोकेसन ट्रेस गर्दै टोली त्यहाँसम्म पुगेको थियो ।

गोवाको मर्दिम भन्ने स्थानमा उनी भाडामा बस्दै आएका थिए । प्रहरी स्रोतका अनुसार तिवारीको हत्या हुनु दुई वर्ष अघिदेखि पुन त्यहीँ बस्थे । र, दुई पटक डेरा सरेर तेस्रोमा पुगेका थिए ।

जब प्रहरी गोवा पुगेर पुनको डेरामा ‘रेड’ हान्यो, तब पत्ता लाग्यो उनी दिल्ली पुगिसकेका रहेछन् । भारतीय प्रहरीले ट्रेस गरेको कल डिटेलअनुसार पुनको मोबाइल ४/५ दिनसम्म दिल्लीमा ‘अन’ देखिएको थियो । त्यसपछि उनी ‘आउट अफ रिच’ भए । र, प्रहरी टोली खाली हात फर्किनु पर्‍यो ।

तिवारीको हत्या भएलगत्तै टोली गोवा पुगेको भए उनी भेटिने सम्भावना थियो । तर, हामीले यता घटनामा संलग्नहरुको लेयरबारे अनुसन्धान गर्न थाल्यौं, उता पुन भाग्न सफल भए – प्रहरी अधिकारी

नेपालबाट गोवातर्फ जान ढिलो गरिँदा पुन भाग्न सफल भएको एक प्रहरी अधिकारी बताउँछन् ।

‘तिवारीको हत्या भएलगत्तै टोली गोवा पुगेको भए उनी भेटिने सम्भावना थियो,’ ती अधिकारी भन्छन्, ‘तर, हामीले यता घटनामा संलग्नहरुको लेयरबारे अनुसन्धान गर्न थाल्यौं, उता पुन भाग्न सफल भए ।’

उनका अनुसार घटनामा प्रयोग भएका नेपालीहरुको अनुसन्धानमा प्रहरी व्यस्त रहँदा पुन भने सजिलै उम्किएका हुन् ।

गोवाबाट दिल्ली पुगेका पुनले २१ पुस ०७४ मा तिवारीका साथी एवं फर्निचर व्यवसायी बलु पौडेलको हत्या गरे ।

भारतबाटै बसेर रुपन्देहीका दुई जनाको हत्या योजना बनाएका उनले पौडेलको ज्यान मात्र लिएनन्, घटनालगत्तै स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरेर खुलेआम आफूले बलुको हत्या गरेको दाबीसमेत गरे । र, आफूले मलेसियाबाट सम्पर्क गरेको उनको दाबी थियो ।

गौचन हत्यामा पुनको संलग्नताबारे प्रहरीले स्पष्ट नखुलाए पनि दुई वटा हत्याकाण्ड भने पुनकै योजनामा भएको खुलिसकेको छ । र, अहिलेसम्म उनले प्रहरीलाई छक्याउँदै आएका छन् ।

उनी व्यक्ति हत्या गर्छन् । र, फोन गरेर आफूले हत्या गराएको खुलेआम दाबी गर्छन्, जसका कारण व्यवसायीहरु त्रसित छन् ।

को हुन् पुन ?

रुपन्देही देवदहका पुनको आपराधिक यात्रा ०६२/६३ को परिवर्तनपछि शुरु भएको जानकारहरु बताउँछन् ।

रुपन्देहीमा काम गरिसकेका एक प्रहरी नायब उपरीक्षक (डीएसपी)का अुनसार पुनले ०६४ सालपछि जिल्लामा हुने ठेक्कापट्टा क्षेत्रमा हस्तक्षेप गर्न थाले । आफूले भनेअनुसार कमिसन नपाए अपहरण र गोली आतंक मच्चाउन थाले ।

युवाको समूह लिएर उनी जिल्लामा हुने ढुंगा, गिटी, बालुवालगायत ठेक्कापट्टामा आफ्नो भाग खोज्न थाले । र, विस्तारै ठेक्कापट्टामा व्यवसायीहरुसँग साझेदारीसमेत गर्न थाले ।

माओवादीको भातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)को बिगबिगी रहेका बेला उनी राजनीतिक शरण लिन त्यतै प्रवेश गरे । वाईसीएलको आवरणमा उनले गुण्डागर्दीलाई झनै बढाए ।

पछि उनी एमालेनिकट युथ फोर्सतिर लागे । त्यसबेला पुन रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को कोषाध्यक्षसमेत बने । युथ फोर्सको आडमा उनको गुण्डाराज अझ झांगियो ।

तर, उनलाई पार्टीले निष्कासन गरिदियो । र, त्यसका लागि दुर्गा तिवारीले मुख्य भूमिका निर्वाह गरेको प्रतिशोध उनकै हत्या गरेर लिए ।

तिवारी र पौडेलको हत्यापछि उनले ठूलै आपराधिक सञ्जालको नाइकेका रुपमा आफूलाई प्रस्तुत गर्न थालेका छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?