Comments Add Comment

झापालाई हराउँदै पुलिस आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

१२ माघ, पोखरा । विभागीय टिम नेपाल पुलिस क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा झापा ११ लाई १-० ले हराउँदै अन्तिम ८ मा स्थान बनाएको हो ।

पुलिसको जितमा सुमन लामाले गरे । उनले खेलको १३ औं मिनेटमै मैदानको मध्य भाग नजिकबाट बल एक्लै अगाडि बढाउँदै विपक्षी रक्षापंक्तिका २ जनालाई छलेर उत्कृष्ट गोल गरे ।

झापा ११ का डिफेन्डर दिलेन लोक्तान र विक्रम लिम्वुलाई छलाएर किपरसँग वान भर्सेज वानको अवस्थामा पेनाल्टी एरियाबाट दायाँ च्यापेर प्रहार गर्दै उनले जाली चुमाए । क्वाटरफाइनल प्रवेश गरेको पुलिसले अब माघ १६ गते डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

झापा ११ ले गोल गर्ने अवसर पाए पनि सदुपयोग नगर्दा पराजित हुनुपर्‍यो । नयाँ र युवा खेलाडी उतारेको पुलिसले पोखराबाट उत्कृष्ट प्रदर्शन गरेर लय समात्दै पुरानो विरासत जोगाउने सन्देश दिएको छ । पुलिसले रक्षापंक्ति बलियो बनाउँदै काउण्टर अट्याकलाई प्राथमिकता दियो ।

खेलको २८ औं मिनेटमा पुलिस गोल अन्तर दोब्बर पार्नबाट चुक्यो । पुलिसका रवि पासवानले ६ यार्डबाट प्रहार गरेको बल विपक्षी गोलकिपर किशोर गिरीले विफल पारे । ५६ औं मिनेटमा निरकुमार राईले गरेको हेडर गोल पनि खेर गयो । ६५ औं मिनेटमा निरकुमारको पासमा पेनाल्टी एरियामा बिपक्षी गोलकिपर एक्लै हुँदा पनि सन्तोष लामाले गोल गर्न सकेनन् ।

झापा ११ ले पाएका कयौं अवसर खेर फाल्दा क्वार्टरफाइनल खेल्ने उसको सपनामा धक्का पुग्यो । युवा खेलाडीले भरिएको झापाका खेलाडी केही अत्तालिएको जस्तो देखिएका थिए । यद्यपी झापाले गोल गर्ने आधा दर्जन बढी अवसर खेर फाल्यो ।
नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले नयाँलाई अवसर दिदा गोल अन्तर कम भएको प्रतिक्रिया दिए । पुलिस क्लबले लय समाती नसके पनि रणनीति अनुसार नै खेलाडीले खेल खेलेको भन्दै परिणामप्रति सन्तुष्टी जनाए ।

झापा ११ का प्रशिक्षक प्रवेश कटुवालले टिम सेट नहुँदा पराजित हुनुपरेको बताए । देवेन्द्र तामाङ, विशाल राईलगायतका खेलाडी नहुनु र ६/७ जना नयाँ खेलाडीलाई एकैपटक मैदानमा उतारेपछि खेलको तालमेल नमिल्दा पराजित हुनुपरेको उनको भनाइ थियो ।

शुक्रबारको खेलमा नेपाल पुलिस क्लबका रवि पासवान म्यान अफ दी म्याच घोषित भए । उनलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरियो ।

प्रतियोगिता अन्तर्गत शनिबार उत्तर बरिन्धरा क्लब बंगलादेश र सुदूरपश्चिम स्पोर्टिङ क्लब धनगढीबीच खेल हुनेछ ।

तस्वीरहरू : युनिस गुरूङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment