Comments Add Comment

‘भूकम्प पीडितले साउनअघि थपिएको अनुदान आश नगरे हुन्छ’

१७ माघ, काठमाडौं । सरकारले हालै मात्र थप गरेको एक लाख अनुदान भूकम्प पीडितलाई दिन आवश्यक रकम नभएको पुनर्निर्माण प्राधिकरणले बताएको छ ।

देउवा सरकारले हालै मात्र भूकम्प पीडितलाई एक लाख अनुदान थप गर्ने निर्णय गरेको थियो । यससँगै सरकारले दिने अनुदान चार लाख पुग्छ । तर, पछिल्लो पटक थप भएको अनुदान तत्काल पीडितले पाउने अवस्था देखिएको छैन ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले चालू आर्थिक वर्षमा थप अनुदानका लागि पर्याप्त रकम नभएको बताए । उनका अनुसार एक लाख रुपैयाँ अनुदान थप्दा त्यसले करीव एक खर्ब रुपैयाँको दायित्व थपिने देखिएको छ ।

यद्यपि अनुदान थपबारे मन्त्रिपरिषदले अझैसम्म प्राधिकरणमा आधिकारिक पत्र समेत दिएको छैन ।

पुनर्निर्माण प्राधिकरणका अनुसार हालसम्म अनुदानका लागि लाभग्राहीको संख्या सात लाख ६७ हजार छन् । गुनासो सम्बोधनका क्रममा यो बढेर करीव साढे नौ लाख पुग्ने प्राधिकरणको आँकनल छ । त्यसमा पनि करीव ५० हजार बाढी पीडित जोड्दा थप एक लाख पाउने करिव १० लाख पुग्ने अनुमान प्राधिकरणको छ ।

‘१० लाख पीडितलाई एक लाख रुपैयाँ दिन एक खर्ब रुपैयाँको आवश्यकता पर्छ,’ प्राधिकरणका सीईओ भूसाल भन्छन्, ‘यो वाषिर्क बजेटभन्दा बाहिरको बजेट हो ।’

अर्थ मन्त्रालयकै अधिकारीहरूले पनि एक खर्बको थप व्यायभार थेग्न सक्ने अवस्था नरहेको बताउँदै आएका छन् । अहिलेकै अवस्थामा चालू आवमा अनुदानका लागि अर्थ मन्त्रालयबाट थप बजेट पाउने आश प्राधिकरणलाई पनि छैन ।

अनुदानका लागि आवश्यक बजेट आगामी बजेटमा समावेश हुने अपेक्षा पुनर्निर्माण प्राधिकरणको छ । त्यही आधारमा थपिएको वितरणको योजना बनाउने तयारी छ ।

थप अनुदान वितरण गर्न वर्तमान कार्यविधिलाई पनि संशोधन गर्नुपर्ने हुन्छ । हालको कार्यविधिमा भूकम्पपीडितलाई तीन लाख रुपैयाँ अनुदान दिने व्यवस्था छ ।

‘साउन अगाडि भूकम्पपीडितले थप एक लाख रुपैयाँ अनुदान पाउने आश नगर्दा हुन्छ’ सीईओ भूसाल भन्छन् ।

पुनर्निर्माण प्राधिकरणका अनुसार साविकको अनुदान विरतणकै लागि थप रकम खाँचो परेको छ ।

सरकारले चालू आवमा पुनर्निर्माणका लागि ५३ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । तर, पुनर्निर्माणलाई गति दिन करीव ५० अर्ब रुपैयाँ आवश्यक देखिएको छ ।

‘अहिले भएको रकम फागुनमै सकिने अवस्था छ,’ प्राधिकरणका सीईओ भूसालले भने, ‘थप ५० अर्ब उपलब्ध गराउन अर्थ मन्त्रालयलाई जानकारी गराएका छौं ।’

साथै आगामी आर्थिक वर्षदेखि पुनः पुनर्निर्माणका लागि बजेट अभाव हुने भन्दै पुनर्निर्माण प्रधिकरणले पुनः दाता सम्मेलन गर्नुपर्ने आवश्यकता औल्याएको छ ।

भूकम्प गएको करीव पौने तीन वर्षमा एक लाख घर पनि बनिसकेको छैन भने पहिलो किस्ताकै अनुदान नपाउने भूकम्प पीडितहरुको संख्या ठूलो छ । प्राधिकरणका अनुसार ६ लाख ७१ हजार चार सय ९५ लाभग्राहीले मात्र पहिलो किस्ता पाएका छन् । त्यस्तै, दोस्रो किस्ता पाउनेको संख्या दुई लाख १८ हजार पाँच सय ९५ र तेस्रो किस्ता पाउने पीडितको संख्या ५३ हजार पाँच सय १८ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment