+
+
Shares
एक्सप्लेनर :

पहिला उद्योगीसँग लड्थे, अब सरकारसँग लड्दै उखु किसान

सरकारले स्रोतको अभाव भएको भन्दै किसानलाई दिने भनेर विनियोजन गरेको रकम पनि घटाइदिएको हो । किसानहरूले भने प्रतिक्विन्टल ७० रुपैयाँका दरले १ अर्ब ५१ करोड रुपैयाँ भुक्तानी हुनुपर्ने माग गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते २०:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले चालू आर्थिक वर्षको बजेटमा उखु किसानलाई अनुदान उपलब्ध गराउने बजेट विनियोजन नगरेको छ।
  • सरकारले गत आर्थिक वर्षका लागि प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान मात्र दिने निर्णय गरेको छ।
  • किसानहरूले अनुदान कटौतीको विरोधमा काठमाडौंमा आन्दोलन गरिरहेका छन् र उद्योगीहरू पनि उखु उत्पादन घट्ने चिन्तामा छन्।

१० भदौ, काठमाडौं । पाँच वर्षअघिसम्म हरेक वर्ष विभिन्न जिल्लाका किसान काठमाडौं आउँथे र चिनी उद्योगले उखु किनेबापतको भुक्तानी नदिएको विषयमा आन्दोलन गर्थे ।

२०७७ सालसम्म विभिन्न चिनी उद्योगले किसानको ९० करोड भुक्तानी गर्न बाँकी थियो । त्यसमध्ये अझै पनि केही उद्योगबाट किसानले भुक्तानी पाएका छैनन् । तर, अहिले सञ्चालनमा रहेका १३ वटा चिनी उद्योगले भने किसानलाई भुक्तानी गरिरहेको उद्योगीहरु बताउँछन् ।

विगतमा उखु बेचेको पैसा नपाएको विषयमा काठमाडौंका सडकमा आएर आन्दोलन गर्न बाध्य किसानहरू अहिले सरकारले किसानलाई दिएको अनुदान रकम घटाइदिएपछि आन्दोलनमा छन् ।

सरकारले विगतमा उद्योगीहरुमार्फत किसानलाई राहत उपलब्ध गराउने गरेको थियो । सरकारले चिनीको लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट)को ९० प्रतिशत उद्योगलाई फिर्ता दिन्थ्यो । त्यसरी भ्याट फिर्ताबापत प्राप्त रकम उद्योगीहरुले किसानलाई दिने गर्थे ।

तर, केही उद्योगले सरकारबाट भ्याट फिर्ताबापतको रकम लिने तर किसानलाई भने नदिएपछि सरकारले त्यस्तो प्रबन्ध खारेज गर्‍यो । आर्थिक वर्ष ०७१/७२ मा पहिलोपटक सरकारले प्रतिक्विन्टल २५ रुपैयाँ दिने निर्णय गरेको थियो । त्यो रकम बढ्दै गएर गत वर्षसम्म प्रतिक्विन्टल ७० रुपैयाँ पुगेको थियो ।

सरकारले कार्यविधि नै निर्माण गरेर २०७५ सालदेखि उत्पादनका आधारमा किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान रकम दिँदै आएको थियो ।

यसरी उखु किसानले उद्योगलाई उखु बेचेबापतको रकम उद्योगीहरूबाट पाउँछन् भने त्यसबापत सरकारबाट अनुदान पनि पाउँदै आएका थिए । गत आर्थिक वर्षका लागि सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ८५ रुपैयाँ तोकेको छ ।

सरकारले विगतदेखि नै प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदानसमेत दिँदै आएको सन्दर्भमा किसानले एक क्विन्टल उखुबापत उद्योगबाट ५ सय ८५ रुपैयाँ र सरकारबाट ७० रुपैयाँ अनुदानसमेत गरी जम्मा ६ सय ५५ रुपैयाँ पाउनुपर्ने हो ।

किसानले उद्योगीलाई उखु बेच्दा अनिवार्य रुपमा बैंकमार्फत उद्योगीहरूले भुक्तानी गर्नुपर्छ । त्यसरी कुन किसानले कति परिमाण उखु बिक्री गरेको हो, त्यसको रिसिट उद्योगले किसानलाई प्रदान गर्छ । त्यसका आधारमा सरकारले जिल्ला प्रशासन कार्यालयले किसानको खातामा अनुदानबापतको रकम हालिदिने गरेको थियो ।

गत आर्थिक वर्ष २०८१/८२ को बजेटमा उखु खेती प्रवर्द्धनका लागि किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।  त्यो रकम ७० रुपैयाँ प्रतिक्विन्टलका दरले अनुदान उपलब्ध गराउनकै लागि विनियोजन भएको हो । तर, कृषि मन्त्रालयले २२ असारमा प्रतिक्विन्टल ३५ रुपैयाँका दरले मात्रै अनुदान उपलब्ध गराउने गरी निर्णय गर्‍यो, जुन कुरा मन्त्रिपरिषद्ले पनि पारित गर्‍यो ।

अर्कातर्फ चालू आर्थिक वर्षको बजेटमा किसानलाई अनुदान उपलब्ध गराउने गरी बजेट नै विनियोजन गरिएको छैन । यसको अर्थ अघिल्लो आर्थिक वर्षका लागि ७० रुपैयाँ अनुदान पाउनुपर्नेमा त्यसको आधा मात्रै पाइने र यो वर्षदेखि अनुदान नै नपाइने अवस्था सृजना भएको छ ।

सरकारको यो निर्णयको विरोधमा देशभरका किसानहरू अहिले काठमाडौं केन्द्रित आन्दोलनमा आएका हुन् ।

चालू आर्थिक वर्षको बजेटमा उखु किसानलाई दिने अनुदानका लागि बजेट नै विनियोजन नभएको थाहा पाएपछि २८ जेठमा उखु उत्पादक संघसम्बद्ध जिल्लाका एक दर्जन प्रतिनिधिले अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी र उद्योगमन्त्री दामोदर भण्डारीलाई भेटेर ध्यानकर्षण गराएका थिए ।

तर, मन्त्रीहरूले भने ‘पैसा दिन नसकिने’ भनेर जवाफ फर्काएका थिए । ‘उखु खेतीमा अनुदान दिन नसकिने भएकाले बरु धान, मकै, गहुँ लगायत अन्य खेतीतिर लाग्नू’ भनेर मन्त्रीहरूले गैरजिम्मेवार जवाफ दिएका थिए ।

तर, किसान आन्दोलनका संयोजक श्यामबाबु राय उखु उत्पादनमा कुनै नाफा नहुने, सरकारले दिने त्यही ७० रुपैयाँ अनुदानका कारण किसान टिकिरहेको बताउँछन् । सरकारले त्यो रकम पनि काटिदिएपछि किसानहरू विस्थापित हुने उनी बताउँछन् ।

उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्र अनुदान रकम कटौती हुनासाथ उत्पादन ह्वात्तै घट्ने र परनिर्भरता चुलिँदै जाने बताउँछन् ।

विगतमा उद्योगका र अहिले सरकारको रवैयाका कारण पछिल्ला वर्षहरूमा उखु किसान संख्या र उत्पादन क्षेत्र घट्दै गएको सरकारी तथ्यांकले पनि देखाउँछ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार हरेक वर्ष उखु उत्पादन क्षेत्रफल घट्दै गएको छ ।

आव २०७७/७८ मा ६४ हजार ३ सय ५४ हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएकोमा २०८०/८१ मा जम्मा ६२ हजार २ सय २५ हेक्टरमा खेती सीमित भएको छ ।

किसानको अनुदान सरकारले घटाइदिएपछि चिनी उद्योगीहरू पनि उखु उत्पादक घट्ने कुराले भयभीत छन् । सरकारले अनुदान नदिने हो भने उखु किसान विस्थापित हुने चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए ।

‘भारतले किसानलाई ठूलो अनुदान दिएको छ । त्यसो हुँदा भारतमा सस्तोमा उखु पाइन्छ । नेपालमा सरकारले किसानलाई दिएको त्यही ७० रुपैयाँ अनुदान थियो । त्यो पनि हटाउने हो भने नेपालमा उखु खेती बन्द हुन्छ । भारतबाट उखु तस्करी भएर आएर नेपालको बजार लिन्छ,’ उनले भने ।

हाल नेपालमा १३ वटा चिनी मिल सञ्चालनमा रहेका छन् । नेपालमा १ लाख ८० हजार टन चिनी वार्षिक रुपमा उत्पादन हुन्छ । एक लाख किसानले उखु खेती गरिरहेका छन् ।

प्रतिक्विन्टल ३५ रुपैयाँका दरले अनुदान निकासा

यसैबीच, उखु किसानले गत आर्थिक वर्षमा उखु बिक्री गरेबापत पाउनुपर्ने अनुदान भुक्तानी गर्न सरकारले ७५ करोड ४९ लाख रुपैयाँ निकासा गरेको छ ।

कृषि मन्त्रालयले गरेको प्रस्तावबमोजिम यो रकम विभिन्न ८ जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानलाई भुक्तानी गर्ने गरी निकासा गरेको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले अनलाइनखबरलाई बताए ।

उखु किसानले यसअघि पाउँदै आएबमोजिम प्रतिक्विन्टल ७० रुपैयाँ नै अनुदान पाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन् । तर, सरकारले प्रतिक्विन्टल ३५ रुपैयाँका दरले अनुदान हिसाब गरेर रकम निकासा गरेको हो ।

‘अहिले यो रकम निकासा भएको छ । किसानहरूसँग वार्ता भइरहेको छ । त्यसमा केही सहमति भयो भने त्यसै अनुसार हुनेछ,’ प्रवक्ता पाण्डेले भने ।

गत आव २०८१/८२ को बजेटमा उखु खेती प्रवर्द्धनका लागि किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर, सरकारले स्रोतको अभाव भएको भन्दै किसानलाई दिने भनेर विनियोजन गरेको रकम पनि घटाइदिएको हो । किसानहरूले भने प्रतिक्विन्टल ७० रुपैयाँका दरले १ अर्ब ५१ करोड रुपैयाँ भुक्तानी हुनुपर्ने माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?